Hetauda Online - जिम्मेवारी सम्हाल्न सक्षम महिला
The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

जिम्मेवारी सम्हाल्न सक्षम महिला


विचार/दृष्टिकोण 15 पटक पढिएको विजया थापा कटवाल


जिम्मेवारी सम्हाल्न सक्षम महिला


हेटौंडा अनलाईन स्थानीय निर्वाचनलाई ध्यान दिँदै नेपाली कांग्रेस प्रादेशिक आमसभामा जुटेको छ । पश्चिमदेखि पूर्व प्रदेशतर्फ लम्कँदै गरेको आमसभा पूर्वी तराई/मधेसको झापामा पुगेर टुंगिनेछ ।

इतिहासदेखि नै मधेसलाई कांग्रेसले कहिल्यै पराई ठानेको छैन । चुनावी आमसभामा जुटिरहेको कांग्रेसले दलित, महिला, मधेसी र जनजातिलाई स्थानीय तहको प्रतिस्पर्धामा कसरी सदुपयोग गर्छ, त्यसैमा पार्टीको भविष्य निर्भर गर्नेछ । स्थानीय तहको ७४४ स्थानमध्ये महिलालाई प्रमुख र उपप्रमुखमा कसरी व्यवस्थापन गर्छ, त्यसले पनि पार्टीको समावेशी नीतिलाई प्रस्ट पार्नेछ । 

लोकतन्त्रको मेरुदण्ड हो– निर्वाचन । जनताको अभिमतको मूल्य लोकतन्त्रमा हुन अनिवार्य छ । चुनाव मार्फत नै प्रत्येक नागरिकको हक—अधिकार स्थापित हुन्छ । १९ वर्षपछि हुनलागेको स्थानीय निर्वाचनले धेरैलाई खुसी तुल्याएको छ भने नयाँ संरचना र अधिकारको प्रत्याभूतिले अझै उत्साह र उमंग जगाएको छ । महिलाको सन्दर्भमा २०४७ सालको संविधानले संसद्को चुनावमा दलले ५ प्रतिशत महिला उम्मेदवारको प्रावधान गरेको थियो भने अहिले संविधानले प्रत्येक तह र तप्कामा महिलाको उम्मेदवारी जनसंख्याको अनुपातमा सुनिश्चित गरेको छ । महानगर, नगर वा गाउँपालिकाको प्रमुख वा उपप्रमुख एकजना महिला अनिवार्य भने पनि महिला दिदीबहिनीले मेयरको टिकट पाउने सम्भावना ज्यादै न्युन देखिन्छ । वडामा दुई महिला (एक दलित) अनिवार्य भए पनि दलित महिला नभएमा के गर्ने भन्ने स्पष्ट छैन । अर्थात खाली राख्ने प्रावधानबाट महिला नै पछि पर्नेछन् । हिजोको समाजमा सतीप्रथा, मतदानबाट बञ्चित महिला आज पुरुषसँगै प्रतिस्पर्धी बनेर निर्वाचनमा सहभागी हुने अवस्थामा पुग्नु खुसीको कुरा हो । निर्वाचन आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४८२ मतदातामध्ये ६९ लाख ८४ हजार ६२५ महिला मतदाता छन् ।

राजनीतिलाई फर्केर हेर्ने हो भने महिलाले साहसिक भूमिका खेलेका छन् । तत्कालीन राजा महेन्द्रले प्रजातान्त्रिक परिपाटी ‘कू’ गर्दा राजालाई कालो झण्डा देखाउने निडर महिला शैलजा आचार्य थिइन् । २०४६ साल हुँदै २०६२/६३ सालको दोस्रो जनआन्दोलन अर्थात संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा महिलाको भूमिका अतुलनीय र प्रशंसनीय पाइन्छ । दोस्रो जनआन्दोलनपछि राज्यका सबै निकायमा समावेशी नीति लागु भयो र त्यही समानुपातिक समावेशी प्रतिनिधित्वमार्फत कम्तीमा ३३ प्रतिशत महिला अधिकारको वकालत गरेको पाइन्छ । अझै हाम्रो समाजमा बालविवाह गरिन्छ, बोक्सीको नाममा महिलालाई दिसापिसाब खुवाइन्छ, दाइजोको नाममा छोरीहरू जलिरहेछन्, चेलीबेटी बेचबिखन मौलाउँदै गएको छ । हाम्रो समाजवाद अब यिनै सामाजिक कुरीति र समस्या निराकरणमा केन्द्रित हुनुपर्छ । 

तीनजना महिला आज राष्ट्रकै उच्च ओहदामा आसिन हुनु हाम्रालागि गौरवको साथै प्रेरणाको विषय हो । तर दु:खको कुरा माया, प्रेम र मातृत्वको भाव राखी समाजलाई हेर्ने नारी हिजोदेखि नै सधैं पछाडि परेको देखिन्छ । हिजोको सतीप्रथा, लेखपढबाट बञ्चित त्यो समाज र आफूले जन्म दिएको सन्तानलाई नागरिकता दिनसमेत नसक्ने अवस्थामा थिए, महिला । तर आज धेरै कुरामा सुधार हुँदै समाजले महिला विकासको पक्षमा मारेको फड्कोलाई नकार्न सकिँदैन । तर पनि जनसंख्याको आधारमा ५० प्रतिशतको हकदार महिलालाई संविधानले मात्र ३३ प्रतिशत अधिकार सुनिश्चित गर्दा पनि राजनीतिक दलले यसको सम्मान गर्नसकेका छैनन्, किन ? प्रतिनिधिसभाको सभामुख तथा उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष तथा उपाध्यक्ष र गाउँपालिका तथा नगरपालिकाको प्रमुख तथा उपप्रमुख अनि गाउँ र नगरको प्रत्येक वडाबाट २ महिला (एक दलित) अनिवार्य भएको हुँदा समाजले लोकतन्त्रको मूल्य, मान्यता र भावनलाई बुझी नयाँ संरचनालाई आत्मासात् गर्दै संविधान कार्यान्वयन गर्न र समावेशी समाज निर्माण गर्न महिलाको पक्षमा मतदान गर्नु आवश्यक छ । त्यसमा पनि सक्षम महिलालाई प्रोत्साहन गर्दै धेरै संख्यामा मेयरकै टिकट दिएर कांग्रेस उदाहरणीय बन्नुपर्छ । जति धेरै महिलाले निर्वाचनमा प्रतिनिधित्व गर्ने अवसर पाउँछन्, उति लोकतन्त्र मजबुत बन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ । पदीय जिम्मेवारी सम्हाल्न महिला सक्षम देखिँदैछन् । स्रोत: कान्तिपुर 

"कटवाल नेपाल महिला संघ सुनसरीकी सभापति हुन्।" 





कमेन्टसहरु





12609988 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top