The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

असम्भवलाई सम्भव बनाउने झमक


विचार/दृष्टिकोण 11 पटक पढिएको शरु जोशी श्रेष्ठ


असम्भवलाई सम्भव बनाउने झमक


हेटौंडा अनलाईन संवाददाता ओइलाएका नेपालीलाई ऊर्जा दिन र आफ्नो लडाइँ आफैं लड्न झमकसँगको साक्षात्कार सञ्जीवनी हुन सक्छ। कान्तिपुरमा फोटोको साटो स्केच राखेर लेख लेख्ने झमक घिमिरे पुरुष होइनन्, महिला र शारीरिक रूपले विशेष परिस्थितिको भन्ने थाहा पाएदेखि नै उनीप्रति एक प्रकारको जिज्ञासा थियो।

पछि उनको कृति ‘जीवन काँडा कि फूल’ पढेँ। उनको परिस्थिति, संघर्ष र विचारले कसलाई पो आश्चर्यचकित बनाएन होला, म पनि मन्त्रमुग्धै भएँ। लुला हातगोडा, चल्न नसक्ने शरीर र मस्तिष्क रोगका साथ अझ थप कुसंस्कार र भेदभावको भारीसँग उनले गरेको संघर्ष पढ्दा अत्यासै लाग्छ, मनै दुख्छ। तर पुस्तकको पाना पल्टाउँदै जाँंदा असम्भव शब्दले धर्म छाड्दै गएको भान हुन्छ।

उनका सबैभन्दा प्रिय वस्तु ढुङ्गा र माटो रहेछ, जसले उनी एक्लो हुँदा खेल्न मनग्ये साथ दिएको रहेछ। भात खाने थालमा गोडाले क, ख लेख्दै, सिन्काले धुलोमा कोर्दै उनले अक्षर छिचोलेकी रहिछन्। उनले पुस्तकमा अपांगताप्रति सम्वेदनशील नभएकाहरूलाई यान्त्रिक मानव भनेकी छन्। लाज पनि लाग्यो, किनकि त्यस्ता यान्त्रिकताको तत्त्व सबैमा थोरबहुत छ। नेपालमा समावेशिताको अभियान जातजाति, भूगोलसँगै अकासिँदा अपांगताको समावेशिता भने ओझेलमा परेको महसुस भयो। किनकि उनले अपांगताको जात, अपहेलितको जात, लाटोको जात, बेकम्मा आइमाई जातको कुरा गरेकी छन्।

खैर, अपांगताप्रति विभेदकारी संसारसँग हेपिँदै उनले लड्नुपरेको युद्ध जति पढ्यो, उति रोचक लाग्छ। तर गुप्तांगमा कसैले छेडखानी गर्दा झटारो हान्दै उनी ‘रेजिलियन्ट’ बनेको अनुभव पढ्दा मानवीय प्रवृत्तिदेखि ठिट लाग्छ। पाठशाला नै नटेकेकी झमकले कसरी यसरी जीवन र जगत बुझिन्, कसरी साहित्य सिर्जना गर्न सकिन्, कौतुहलताले मनमस्तिष्क नै खलबलिन्छ। निष्कर्षमा, उनले औपचारिक अध्ययन प्रणाली र स्वयं असम्भव शब्दलाई ठाडो चुनौती दिएकी छन्।

२०७१ चैत २२ गते सासुआमाको स्वर्गारोहणको वर्षदिनको काममा धरानबाट ताप्लेजुङ जाँदा अचानक लिम्बुवानले पूर्वाञ्चल बन्द गर्‍यो। गरिबको हातमुखबाट एकछाक भए पनि गाँस खोस्ने कुनै पनि बन्दको समर्थन म गर्दिन। तर त्यो बन्दको सदुपयोग गर्न झमकलाई भेट्न म हिडेँ धनकुटा। आफूलाई अत्यन्त इच्छा लागेको मान्छे भेट्न म अत्यन्तै रोमाञ्चित थिएँ। झन्डै घरनेरै गाडी पुग्यो, करेसाबारी, बगैंचा हुँदै हामी झमकको घर प्रवेश गर्‍यौं। दुईतल्ले काठको घर, भुइँतल्लाभित्र पस्दा झमक खाटमा हुनुहुन्थ्यो। मैले नमस्कार गरें, उहाँ झुकिरहनुभयो, फेरि नमस्कार भने मानौं उहाँले मेरै शैलीमा नमस्कार फर्काउनुहुन्छ।

झमकको आमाले तपाईलाई नमस्कार गरिरहेको छ नानीले भन्नुहुँदा, नमन शैलीमा झमकको जोडिएको गोडा देखेँ। झमक आफैं हात उठाउन सक्तिनन् भन्ने थाहा हुँदाहुँदै पनि अचेतन मनले नमस्कारको प्रत्युत्तर हातमै खोजेछु, लज्जानुभूति भयो। मैले सँगै जानुभएको बुबा, दाइ र श्रीमानको सँगै आफ्नो परिचय दिएँ। उनले गोडाका औंलाले छेवैको कपी र पेन तानिन्। अनि गोडाको औंलाले नै चस्मा झिकेर सिसा सफा गरिन् र लेखिन्– शरु जोशी नाम त पढेँ-पढेँ जस्तो लाग्छ, पक्कै यो नाम देखेकै हो। त्यत्रो ठूलो स्रष्टाले आफ्नो नाम सुनेको भन्दा ठूलो पुरस्कार पाएझंै एकछिन मन ढक्क फुल्यो। फेरि अलि अप्ठ्यारो मान्दै म पनि कहिलेकाहीं लेख्छु भन्दै आफूले लेखेको ‘एउटा सिन्को भाँचिहेर्दा’ पुस्तक उनलाई दिएँ। आफू साउदी अरबमा अध्ययन भ्रमण जाँदा नेपालीको अवस्था देखेपछि कसरी सानुतिनु लेखक बने भन्दै ‘साउदी लरीमा नेपाली झण्डा फरर’ र ‘बुर्का भित्रको सत्य’ भन्ने लेख र त्यसको प्रतिक्रिया सुनाएँ।

कुरा गर्दा (लेखेर) उनी गललल्ल हाँस्थिन्, हाँस्दा उनी अबोघ बालिकाजस्तो देखिन्थिन्, अनि प्रतिक्रिया लेख्थिन्। मैले महिलाको प्रसङ्ग उठाउँदै भनेँ– विश्वका कुनै देशले पनि लंैगिक समानता प्राप्त गर्न सकेनन्, अब त महिलाका विषयमा पुरुषहरूसँग पनि काम गर्नुपर्छ कि?’ उनले लेखिन्, ‘८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस, अनि ३६४ दिन पुरुष दिवस मनाएर कहाँ समानता प्राप्त हुन्छ? समानताका कुरा त सधैंभरि, वर्षैभरि गरिरहनुपर्छ। तर पुरुषलाई दोषमात्र दिएर वा घृणा गरेर महिला अघि बढ्न सक्तैनन्, हामीले पुरुषसँग हात मिलाएर काम गर्नुपर्छ। यद्यपि पुरुषलाई यत्तिचाहिँ भन्नुपर्छ कि आधा जनसंख्या साथमा नलिई हिँड्दा उनीहरूमात्रै कहीं पुग्दैनन्, यति चेतनाचाहिँ जगाउनैपर्छ।’ उनका कुराले मलाई बौद्धिक खुराक पाएझैं सन्तुष्टि मिल्यो।

धनकुटामा यत्रो अभूतपूर्व बौद्धिक स्रष्टा रहेकोमा मलाई सुनको खानी नै भेटेको जस्तो भयो। हरेक कुरामा उनको ‘प्रेसेन्स अफ माइन्ड’ देख्दा आश्चर्य लाग्थ्यो। मैले मनको कुरा राखेँ, म त देश-विदेशमा पढेको छु, सयौं तालिम र ‘एक्सपोजर’ पाएको छु र थोरबहुत बुझेको छु, तर तपाई न कुनै स्कुल, कलेज जानुभा’ छ न तालिम न विदेश नै। यस्तो सानु ठाउँमा बसेर कसरी यति धेरै कुरा जान्नुभएको? झमकले लेखिन्, ‘पढाइ, स्कुल र कलेजमा मात्र हुँदैन, संसार नै एउटा खुला विश्वविद्यालय हो, यहाँका प्रत्यक चिज पाठ्यपुस्तक हुन्।’ उनको विचार पढेर मैले उनको ज्ञानको असीमितता सोच्न थालेँ।

वास्तवमा झमक मानव सभ्यताकै लागि एक अमूल्य उपहार हुन्, तर उनको बारेमा कति नेपालीलाई थाहा होला? यदि नेपालले झमकका लागि एक चुस्त साधनस्रोत सम्पन्न संयन्त्र स्थापना गरेर विद्यार्थीहरूसँग साक्षात्कार गराए, झमकका सफलताका कथा पाठ्यक्रममा राखे, झमकलाई ‘गेष्ट लेक्चरर’ बनाएर कलेज, विश्वविद्यालय, सञ्चार र संसदमा बोलाउने व्यवस्था मिलाए, प्रत्यक्ष छलफल गराउने हाइटेक स्टुडियो बनाउनसके, कति नेपालीलाई सकारात्मक बनाउन र ब्युँताउन सकिन्थ्यो होला? झमकसँग भेट्न कति स्वदेशी-विदेशी पर्यटक आउँथे होलान्। गैरआवासीय नेपाली संस्थाले ७३ मुलुकका नेपालीसँग साक्षात्कार गराउन सक्थ्यो होला। उनको सफलताको कथाले ओइलाएको नेपालीलाई ऊर्जाशील बनाउन, संघर्ष गर्न, सकारात्मक बन्न धेरै मद्दत पुग्थ्यो होला।

राजनीतिक अकर्मण्यता, महँंगी, भ्रष्टाचार, नक्कली सर्टिफिकेट, युवा पलायन आदिले नेपालीमा निराशा छाएको छ। झमकै शब्दमा जीवन चाहेजस्तो सर्लक्क र समतल हुँदैन। तर लाटी, साँपे, २ दिनको पाहुना र पृथ्वीको भारका विशेषण बोक्दै झमक जीवनमा अघि बढिन्। उनले बिना हतियार सामाजिक र धार्मिक, शैक्षिक के-के युद्ध लडिन् के-के? शारीरिक दुर्बलता शक्तिमा परिणत गर्ने यी स्रष्टालाई जुन-जुन नेता, विद्यार्थी, शिक्षकले भेट्छन्, तिनमा सकारात्मक परिवर्तन आउँछ। ओइलाएका नेपालीलाई ऊर्जा दिन, गरे के हुँदैन भन्ने देखाउन, संघर्ष गर्न प्रेरित गर्न, आफूमा विश्वास गर्ने बनाउन र आफ्नो लडाइँ आफैं लड्न झमकसँगको साक्षात्कार संजीवनी हुनसक्छ। युवालाई वर्षभरिको पढाइभन्दा झमकसँगको दुई घन्टाको भेट बढी प्रभावकारी हुनसक्छ। तर सम्भावनाको दिशानिर्देश गर्न यी विदुषी स्रष्टाको दिगो संरक्षण आवश्यक छ। पछिल्लो समय झमकका लागि सहयोग गर्न सरकारले पहल गरेको छ। उनलाई पुरस्कार, सम्मान र विद्यावारिधि प्रदान गरिएका छन्, तर ती सबै न्युन छन्। साँपेदेखि शक्तिशाली स्रष्टा बन्दै असम्भवलाई सम्भव बनाएर झमकले त देखाइन्, अब उनबाट मुलुकले शक्ति र सम्भावनाको नवीन अभियान चलाउन सक्छ, आवश्यकता छ त केवल दृष्टिकोण र नेतृत्वको। स्रोत: कान्तिपुर 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864320 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top