The first website dedicated to the people of clean and green city Hetauda.
logo
विचार/दृष्टिकोण

माटो संरक्षणको अपरिहार्यता



विचार/दृष्टिकोण   527 पटक पढिएको   हेम चन्द्र महतो    २०७४ श्रावन २७ शुक्रवार  

श्रावन २७ शुक्रवार, हेटौंडा । माटो हाम्रो जीवन पद्धति र जीविकासंग जोडिएको प्राकृतिक स्रोत हो । प्रकृतिमा एक अंगुल माटो बन्न चार सय वर्ष भन्दा बढी समय लाग्दछ । यस्तो दुर्लभ र पुनर्नवीकरण गर्न धेरै समय लाग्ने माटो प्राकृतिक कारण वा मानव सिर्जित कारणबाट बगेर खेर गइरहेको छ ।

माटो संरक्षणको अपरिहार्यता

माटोविज्ञका अनुसार पृथ्वीमा ढुंगामाटोको निश्चित आयु हुने त्यसपछि आफै कुहिएर, छुट्टिएर पानी तथा हावा जस्ता माध्यमले स्वत: बगाएर लैजाने तथ्य सुझाएका छन् । यी विभिन्न कारणले नेपालमा करिव ६००० नदीनालाहरु मलिलो माटो बोकेर बग्न बाध्य छन् । बर्षेनि करिब ५६ टन प्रतिहेक्टरका दरले माटो बगेर बंगालको खाडिमा पुग्ने गरेको तथ्यांक विभिन्न लेखमा पढन पाइन्छ । यद्यपि उक्त माटो बग्ने दरमा नियन्त्रण हुन नसकेको अवस्था छ ।  

नेपालको सन्दर्भमा ७५ प्रतिशत भन्दा बढी वर्षा मनसुनको समयमा हुने गरेको छ । यो समयावधि जुनदेखि सेप्टेम्बर महिना सम्मको पर्छ । नेपालमा मनसुनको समयमा मात्र बढी पानी पर्ने, भिरालोपन भएको भू बनोट, अग्ला पहाड, कमलो चट्टानले बनेको भौगोलिक अवस्था, गहिरो र सांघुरो नदी प्रणली जस्ता कारणले गर्दा नेपालका प्राकृतिक रुपमा पनि भूक्षय तथा भूस्खलनको समस्या हुने र जसबाट बर्सेनि हजारौ जनता विपत्तिमा पर्ने अनि जनधनको अपुरणीय क्षति भोग्नु पर्ने अवस्था छ ।

खासगरी पहाडी क्षेत्रमा भइरहेको अव्यवस्थित बसोबास, भिरालो जमिनमा समेत जथाभावि गरिएका जग्गा प्लटिङ्ग, वातावरणिय अध्ययनविनै डोजरले खनिएका ग्रामिण सडक, वन विनाश, वन डढेलो, अव्यवस्थित चरिचरण प्रणालि, अवैज्ञानिक कृषिप्रणालि तथा एकीकृत भूउपयोग नीतिको अभाव जस्ता कारणले सतही माटो बगेर खोलानालामा मिसिदै बगिरहेको छ ।

फलस्वरुप खेतीयोग्य जमीन नाश हुनुको साथै मलिलो माटो बगेर जाँदा भू-उत्पादकत्वमा कमी भई खाद्यान्न उत्पादनमा समेत ह्रास आउनुको साथै जनताको सामाजिक अवस्थामा समेत नकारात्मक प्रभाव पारेको छ  । 

मुलुकको कुल जनसंख्याको करिब दुई तिहाई जनसंख्या कृषि पेशामा निर्भर रहेकोले आम नेपालीको जिउने आधार माटो हो, जसको दिगो संरक्षण भएन भने कृषि क्षेत्रबाट जनताको जीवनस्तर माथि उठाउन सकिदैन । जनताको जीवनस्तर उठाउन र वातावरणिय सन्तुलन कायम राख्न भू संरक्षण तथा जलाधार व्यवस्थापनको प्रयासद्वारा भूक्षय रोकथाम गरी जमीनको उर्वराशक्ति बढाउन आवश्यक छ । जलाधारीय स्रोतहरुको उचित संरक्षण एवम् दिगो उपयोगबाट जलाधार क्षेत्रका जनताका खाद्यान्नका साथै घास, दाउरा रका जस्ता आधारभूत आवश्यक्ताहरु दिगो रुपमा परिपूर्ति गर्दे जनताको जीविकोपार्जनमा ठोस मद्दत पुर्रयाउन जरुरी छ । भूक्षयबाट हुने माटो उर्वराशक्ति ह्रासलाई रोकी जल, जंगल, जनता र जीवजन्तुवीचको अन्तर सम्बन्ध सन्तुलित राख्न र प्राकृतिक स्रोतहरुको बुद्धिमतापूर्ण उपयोग गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउनु आजको आवश्यक्ता हो । जल जमीनको संरक्षणद्वारा स्थानिय आवश्यक्ता परिपूर्ति गर्दै सन्तुलित वातावरण कायम राख्न र जनताको आवश्यक्ता पूर्तिका लागि स्थानिय समुदायहरुको सहभागिता अपरिहार्य हुन्छ । 

भिरालो जमिनका कारण माटोको जगेर्ना र संरक्षण गर्न हाम्रा पुर्खाहरुले गह्रा बनाएर खेतीपाती गर्ने, माटो बग्न नदिन खोल्सा खोल्सीमा बाँस, विरुवा लागाउने, भलपानी तर्काउन परम्परागत कुलोहरु बनाउने जस्ता कम खर्चिलो विधिहरु प्रयोग गरेका थिए । तर त्यसरी जोगाएको माटो आजकल जथाभावी डोजरले खनेर खोलामा बगाइरहेका छन् ।

यसले गर्दा एकातिर उर्वर माटो कम हुन गई कृषिको उत्पादकत्वमा ह्रास भइरहेको छ भने अर्कोतिर खोलाहरुमा पानीसंगै ढुंगा, माटो, लेदो बग्दा माथिल्लो तटीय क्षेत्रमा नदी/खोलाको कटानी बढ्ने र तल्लो तटीय क्षेत्रमा गेग्रान थुप्रिने र बाढीले पुर्ने समस्याहरु विकराल रुपमा बढेको छ । यसैले जमिनको संरक्षण महत्वपुर्ण चासोको विषय सावित भएको छ ।

विश्वव्यापी तापमान वृद्धिले जलवायु परिवर्तनमा परेको असरबाट अत्यन्त बढी प्रभावित मुलुकको सुचीमा नेपाल चौथो स्थानमा परेको एक अध्ययनले देखाएको छ । जलवायु परिवर्तनले पारेका नकारात्मक असरसँग जुध्न भूसंरक्षण कार्यालयहरुले गर्दै आएका संरक्षणमूलक कार्यहरु जस्तै: पानी मुहान संरक्षण, सिमसार र ताल तलैया संरक्षण, सिंचाइकुलो संरक्षण, भलपानी तथा आकेसेपानी व्यवस्थापन, बाढी, पहिरो र गल्छी नियन्त्रण, नदी खोलाको कटानी नियन्त्रण, वृक्षारोपण, कृषिवन मैत्री खेतबारी संरक्षण  आदी कामहरु प्रभावकारी सावित भएका छन् ।

भूमिका उपयोगिता अनुसार त्यसको प्राकृतिक स्वरुपलाई उचित रुपमा परिवर्तन गरी त्यसको सतह संरक्षणका लागि अर्थात माटोमा भएका प्राङ्गारिक पदार्थका कम्तिमा पनि १% भन्दा कम हुन नदिन आवश्यक वैज्ञानिक प्रविधि अपनाई गरिने व्यवस्थापन प्रणाली नै भू–व्यवस्थापन हो । चर्को हावा÷वतास र वर्षातका कारण भू–क्षय हुने हुनाले एक ईञ्च मात्र माटा वन्न हजारौ वर्ष लाग्ने, कयौ इञ्च माटो क्षणभरमा नै वगेर जान सक्न भएकोले भू–क्षय नियन्त्रणका उपायहरु अपनाउनुपर्ने हुन्छ । यसमा कम खनजोतका प्रविधिहरु अवलम्वन गर्ने (जस्तैः गह्रा/कान्ला वनाउने, सम्याउने, समुचित जोताइ गर्ने, माटोलाइ कम चलाउने, वाली जमिनवाट नकाटी कमसेकम कहि वालीका अवशेष भएपनि खेतवारीमा छोड्ने, आदि) वाट माटो अस्थिर हुन पाउदैन र ठीक अवस्था वा ठाउँमा जगेर्ना भइरहन्छ ।

भूक्षयबाट हुने समस्याहरुलाई न्यूनीकरण गर्न सहभागितात्मक जलाधार व्यवस्थापनका कार्यक्रमहरु मार्फत जमीनको उत्पाकत्व वृद्धि गरी स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गरी गरीवी न्यूनीकरणमा योगदान पुर्रयाउन दीर्घकालिन योजना तथा सोको प्रभावकारी कार्यान्वयनको टड्कारो आवश्यक्ता रहेको देखिन्छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224234   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top