Hetauda Online - ढुक्कसँग हिँड्नसक्ने वातावरण बनाउँछुः एसपी खनाल
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

ढुक्कसँग हिँड्नसक्ने वातावरण बनाउँछुः एसपी खनाल


स्थानीय समाचार 28 पटक पढिएको शुभलक्ष्मी विश्वकर्मा २०७४ श्रावन २८ शनिवार


ढुक्कसँग हिँड्नसक्ने वातावरण बनाउँछुः एसपी खनाल


श्रावन २७ शुक्रवार, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विकासराज खनालले यस जिल्लाबासीले बिना कुनै त्रास ढुक्क भएर हिँड्न सक्ने वातावरण बनाउने बताउनुभएको छ । यहाँका प्रहरी प्रमुखको रुपमा आजबाट सेवा सुरु गर्नुभएका उहाँले अपराध न्यूनीकरणमा जोड दिँदै जिल्लाबासीलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाउनुभएको हो ।

जिल्ला प्रहरी कार्यालयमा हिजो दिउँसो आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै प्रहरी प्रमुख खनालले अपराधमा संलग्न व्यक्तिहरुलाई कुनैपनि अवस्थामा छुट नदिइने र कसैको धम्की वा प्रलोभनमा आफू नपर्ने स्पष्ट पार्नुभयो । उहाँले हाल आफू यस जिल्लामा रहेका समस्या तथा चुनौतीबारे जानकारी, सुझाव संकलनको क्रममा रहेको र आवश्यकता अनुसार योजना बनाएर अघि बढ्ने सोचमा रहेको भन्दै सबै प्रकारका अपराध न्युनीकरण आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभयो । 

कार्यक्रममा सहभागी पत्रकारहरुले गुण्डागर्दी, यौन धन्दा, अवैध लागु औषध कारोबार जस्ता यहाँका समस्याहरु उजागर गर्दै यि क्षेत्रहरुमा विशेष ध्यान पुर्रयाउन र नागरिकमैत्री सेवा प्रवाहका लागि प्रहरी प्रमुख खनाललाई आग्रह गरेका थिए । यहाँका समस्या तथा विषयवस्तु बारे यसअघि पनि आफूले केही अध्ययन गरेको भन्दै प्रहरी प्रमुख खनालले लागु औषध नियन्त्रणमा आफुहरुले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले यस जिल्लाको अवैध यौन क्रियाकलाप, गुण्डागर्दी, राजमार्गहरुमा हुने अपराध रोक्नको लागि विशेष योजना बनाई आफ्नो टिमले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रहरी प्रमुख खनालले प्रहरी र आम जनताको सहभागितामा अपराध न्युनीकरणमा अहोरात्र खटिने, विधिको शासन स्थापनाको लागि सक्दो सहयोगीको भुमिका खेल्ने र यहाँको प्रहरीले नागरिकमैत्री सेवा प्रवाह गर्ने बताउनुभयो । मकवानपुर जिल्ला राजमार्गको केन्द्रविन्दुमा रहेको जिल्ला भएकोले राजमार्गहरुमा हुने अपराध न्युनीकरणको लागि आफू दिनरात लागिपर्ने जानकारी दिनुभयो । कसैको दबाब वा प्रभावमा नपरी काम गर्ने स्पष्ट पार्नुहुँदै प्रहरी प्रमुख खनालले राजनीतिको आडमा हुने कुनैपनि अपराधलाई छुट नदिइने प्रतिबद्धता जनाउनुभएको छ ।





कमेन्टसहरु



लोकप्रिय



12809157 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top