Hetauda Online - सवाल उठाउने महिलाको सतह
The first website dedicated to the people of clean and green city Hetauda.
विचार/विश्लेषण

सवाल उठाउने महिलाको सतह


विचार/विश्लेषण 1 पटक पढिएको शुभलक्ष्मी विश्वकर्मा २०७४ बैशाख २३ शनिवार


सवाल उठाउने महिलाको सतह


हेटौंडा अनलाईन समुन्नत र समृद्ध समाजको परिकल्पना गर्दा हामीले अधिकार र कर्तव्यलाई सँगै जोडेर हेर्ने गर्दछौं । लैंगिक उत्पीडनको विरोधमा लामो समयदेखि आन्दोलनमा सहभागी भएका महिलाहरुले पनि आफूलाई सशक्त रुपमा सामाजिक र आर्थिक भूमिकामा प्रस्तुत गरेर सरकार तथा राज्यप्रतिको आफ्नो दायित्वलाई विस्तार गर्दै महिला सशक्तीकरणको वकालत गरिरहेको पाईन्छ ।

यस अर्थमा केही दशकयता हाम्रो मुलुकमा पनि महिलाले समाजलाई दिने योगदान र उनीहरुप्रति समाज तथा सरकारको दृष्टीकोणमा समेत सकारात्मक परिवर्तन आएको छ भन्दा अतिशयोक्ति नहोला ।

समाजका विभिन्न संरचनाहरुमध्ये पत्रकारिता पनि एउटा यस्तो क्षेत्र हो, जहाँबाट विभिन्न सवाल र सरोकार उठान गर्न सकिन्छ । “जसको सवाल, उसैको आवाज, जसको सवाल, उसैको नेतृत्व” भन्ने विचारलाई आत्मसात गरिरहेको वर्तमान समाजमा महिलाका मुद्दा पत्रकार महिलाहरुले पनि उठान गरिरहेका छन् । यद्यपी सबैले यस सवाल र विषयमा कलम नचलाएका भने होइनन् । महिला अधिकारका विषयमा कुरा गरिहँदा पत्रकारितामा रहेका महिला स्वयम् पनि महिला हुनुको हिसाबले महिलाले समाजमा भोग्नुपर्ने समस्याबाट विमुख छैनन्, भने यस्तै समस्याका बीच पनि उनीहरु समाजप्रतिको आफ्नो दायित्व निभाइरहेका छन् ।

पत्रकारितामा महिलाले खेलेको भूमिका क्रमशः सकारात्मक परिवर्तनको क्रममा रहेपनि प्रतिस्पर्धात्मक वर्तमान बजारमा महिला पत्रकारको प्रस्तुती सन्तोषजनक भने हुन सकेको छैन । वर्तमान समाज हरेक वस्तुको गुणस्तर खोजिरहेको हुन्छ । पत्रकार महिलाले पनि आफ्ना उत्पादन, समचार÷विचार गुणस्तरीय बनाएर मात्र बजार प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न सम्भव छ । तर, उनीहरु स्वयम्को अवस्था चाहिँ कस्तो छ ? अर्थात् महिला पत्रकारको वर्तमान धरातल के हो ? भन्ने विषयमा पनि हामीले ध्यान दिन जरुरी छ ।

भौगोलिक दुरीका हिसाबले राजधानी काठमाडौंसँग नजिकै रहेको यस मकवानपुर जिल्लामा काठमाडौंको तुलनामा झण्डै ७० वर्ष पछि मात्र प्रेस भित्रिएको पाइन्छ । त्यसै कारण आधुनिक पत्रकारिताको अभ्यास पनि मकवानपुर जिल्लामा २०३० को दशकपछि मात्र सुरु भएको पाईन्छ । त्यसअघि जनजागरणका लागि निस्कने भित्ते पत्रिकाले समसामयिक विषयलाई समेट्दथे । आधुनिक पत्रकारिताको विकास, २०४६ को आन्दोलनले ल्याएको राजनीतिक÷सामाजिक परिवर्तनपछि विस्तार हुँदै गयो । साहित्यमा क्रियाशील रहेका महिलाहरु पत्रकारिताको अभ्यास विस्तार भएसँगै पत्रकारितामा पनि क्रियाशील हुन थाले । जिल्लामा व्यवसायिक रुपमै पत्रकारिताको अभ्यास हुन थालेपछि महिलाहरु पनि यस क्षेत्रमा आउने अभ्यासको सुरुवात भएको पाईन्छ । 

सुरुवाती समयमा साप्ताहिक पत्रिकाहरु पत्रकारिता अभ्यास गर्ने मुल थलो बनेका थिए । जसमा महिला पत्रकारहरुको उपस्थिति शून्यप्रायः देखिन्छ । विस्तारै एफ्.एम रेडियोको सुरुवातसँगै पत्रकारिता क्षेत्रमा महिलाको प्रवेश दर बृद्धि भएको पाईन्छ । तत्कालीन समयमा सञ्चारको प्रभावकारी माध्यम एफ.एम बनेको थियो । सँगै यस क्षेत्रमा महिलाहरु पनि आकर्षित बन्न पुगेका थिए । पालुङमा अडियो टावरको अभ्यास हुँदा स्थानीय सूचनाहरु टावरको माध्यमबाट प्रशारण गर्ने र महिलाहरुले पनि त्यसमा आफ्नो आवाज दिएका थिए । रेडियोको स्थापनासँगै महिलाको आवाज अनिवार्य जस्तै बनेपछि पत्रकारितामा महिलाहरु पनि कम्तीमा एफ्.एम. स्टेशनमा रहेर भएपनि काम गर्ने अवस्था आयो । पछि महिला पत्रकार समाचार संकलन र सम्पादन गर्ने तहमा समेत रहेर काम गर्न थालेको देखिन्छ । २०६० को दशकमा मकवानपुरमा पत्रकारिता उत्कर्षतिर पुग्दा महिलाको उपस्थिति पनि केही प्रतिशत बृद्धि भएको देखियो ।

मकवानपुरमा पत्रकार महासंघको स्थापना भएपछि महासंघले पत्रकारितामा क्रियाशील महिलाहरुलाई पनि समेट्दै लाने प्रयास गरेको देखिन्छ । स्थापना कालमा महिलाहरु पत्रकारितामा लागेका थिएनन्, भने ०६० को दशकमा सम्झना कार्की, बन्दना शर्मा, मृदुला खनाल, राधा अधिकारी लगायतका महिलाहरु पत्रकारितामा आएसँगै सो कालखण्डमा सम्झना कार्कीले महासंघको सदस्यता लिनुभएको थियो । ०६० को दशकमा नै नानीमैयाँ बिष्ट, सरिता दाहाल, अञ्जली थापा, शर्मिला लामा, ईश्वरी सुनार, पूर्णिमा गोले, श्रद्धा प्रधान लगायत यस क्षेत्रमा क्रियाशील पत्रकारहरुले महासंघको सदस्यता प्राप्त गरे । त्यससँगै स्वेता सिन्हा, सुजिता न्यौपाने, दुदुमाया सिन्तान, दुर्गा खनाल, निशा लामा, सुनिता पाख्रिन, सरला अधिकारी, रञ्जिता डंगोल, अनिता न्यौपाने, रिता विष्ट, सरस्वती अधिकारी, सविता विश्वकर्मा, बिनिता दाहाल, दुर्गा लामिछाने, सम्झना घिमिरे लगायतका महिलाहरु पत्रकारितामा क्रियाशील हुन थाले । त्यसपछि उषा थामी, ईना गौतम, शुभलक्ष्मी विश्वकर्मा, भावना रिजाल, शान्ति सुनार, रेश्मी कार्की, कुन्ती लामा, सम्झना पौडेल, आरती ढकाल, मीना लामा,  लगायत यस क्षेत्रमा क्रियाशील हुन थाले । साथै, केहीले पत्रकार महासंघको सदस्यता पनि प्राप्त गरे । उनीहरुमध्ये अधिकांश अहिले पनि कुनै न कुनै रुपमा पत्रकारितामै क्रियाशील छन्, भने केही यस क्षेत्र छाडेर अन्य पेशामा लागेका छन् । प्रतीक्षा न्यौपाने, मुना केसी, नम्रता गैरे, प्रिया पौडेल, मानवी बानियाँ, सृजना नेपाल, शिल्पा गौतम, अजिता नगरकोटी, रञ्जीता विडारी, अलिशा न्यौपाने, मिना श्रेष्ठ  लगायत यस क्षेत्रमा क्रियाशील छन् । महासंघमा आबद्ध भएर वा नभएर पनि जिल्लाका विद्युतीय तथा छापा सञ्चार माध्यममा विभिन्न भूमिकामा क्रियाशील रहेको देखिन्छ । ९९ साधारण सदस्य रहेको महासंघमा १७ जना सदस्य महिला छन् । १४ जनाको कार्यसमितिमा २ जना महिला समावेश भएका छन्, भने २६ पार्षद्मा ४ जना महिला छन् । विभिन्न कालखण्डमा महासंघमा नेतृत्वका हिसाबले कार्यसमिति सदस्य, कोषाध्यक्ष र केन्द्रीय पार्षद्को जिम्मेवारी सम्म महिला पत्रकारले अवसर पाएको देखिन्छ ।

पत्रकारिताको विषयगत अध्ययन, स्थानीय मिडियामा पत्रकारिताको अभ्यास र व्यवसायिक पत्रकारिताको थालनीले गर्दा हाल राजधानी लगायत विभिन्न स्थानका मिडियामा रही मकवानपुरका महिलाहरुले पत्रकारिता गरिरहेका छन् । हेटौंडाबाट पत्रकारिता सुरु गरेका महिलाहरुले बिबिसी, कान्तिपुर टेलिभिजन, नेपाल टेलिभिजन, न्यूज ट्वान्टी फोर, सगरमाथा टेलिभिजन लगायतका प्रतिष्ठित मिडियामा काम गर्ने अवसर पाएका छन्, भने राष्ट्रियस्तरका पत्रिका, रेडियो, अनलाईन र न्यूज नेटवर्कहरुमा पनि काम गरेका छन् । साथै, यहाँबाट केही पत्रकार चितवन, बारा लगायत छिमेकी जिल्लाका मिडियामा रहेर पनि काम गरिरहेका छन् ।

मकवानपुर जिल्लाका शैक्षिक संस्थाहरुले क्रमशः माध्यमिक, उच्च माध्यमिक र स्नातक तहमा पत्रकारिता विषयको औपचारिक अध्ययन÷अध्यापन थालेसँगै महिलाहरु पत्रकारितामा लाग्ने वातावरण बन्दै गएको थियो । हाल जिल्लाका १० वटा रेडियो, ७ वटा दैनिक पत्रिका, १३ वटा साप्ताहिक तथा अर्धसाप्ताहिक पत्रिकाहरुमा कुनै न कुनै हिसाबले महिला पत्रकारहरु क्रियाशील छन् । विशेष गरी रेडियोमा महिलाहरुको संख्या उल्लेख्य देखिन्छ, भने सबै मिडिया हाउसमा कुनै न कुनै भूमिकामा कम्तीमा १ जना महिलाको सहभागिता पाइन्छ । यद्यपी समाचार रिपोर्टिङमा भने महिला पत्रकारहरुको उपस्थिति न्यून देखिन्छ । समग्रमा महिलाहरु प्रकाशक, सम्पादक, सह–सम्पादक, समाचार प्रमुख, प्रमुख संवाददाता, सिनियर रिपोर्टर र रिपोर्टर जस्ता भूमिकामा सञ्चार क्षेत्रमा काम गरिरहेको पाईन्छ । 

पत्रकारितामा महिलाको उपस्थिति जरुरी देखिएसँगै यस क्षेत्रमा काम गर्ने संघ, संस्था पनि क्रियाशील हुन थालेको पाईन्छ । २०६२÷०६३ तिर शर्मिला लामाको नेतृत्वमा पत्रकार महिला सञ्जाल र सरिता दाहालको नेतृत्वमा क्रियाशील पत्रकार महिला समूह स्थापना भएपनि हाल त्यसले कुनैपनि गतिविधि सञ्चालन गरेको पाईंदैन । यस क्षेत्रमा हाल सरिता दाहालको नेतृत्वमा रहेको सञ्चारिका समूह, रञ्जीता डंगोलको नेतृत्वमा रहेको क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) र अञ्जली थापाको नेतृत्वमा रहेको पत्रकार महिला संघले विभिन्न गतिविधि गरिरहेका छन् । 

निस्कर्षका रुपमा भन्नुपर्दा मकवानपुरको पत्रकारितामा महिलाको उपस्थिति २०६० को दशकबाट सुरुवात भएर ०७० को दशकपछि बृद्धि हुँदै गएको देखिन्छ । विभिन्न कालकण्डमा पत्रकारिता गर्ने महिलाहरुको आंकडा नियाल्दा व्यवसायिक रेडियोहरुको स्थापना र विकाससँगै पत्रकारितामा महिलाहरुको संलग्नताले पनि व्यापकता पाउन थालेको हो । पत्रकारिता विषयको औपचारिक अध्ययनले पनि यस क्षेत्रमा महिलाको संख्या बृद्धि भएको पाईन्छ, भने मुलुकले समावेशिताको नीति अंगीकार गरेसँगै पत्रकारितामा पनि महिलाको उपस्थितिलाई महत्वका साथ लिन थालिएको छ । प्रविधिको विकास, महिला सशक्तिकरण जस्ता कारणले गर्दा काम गर्ने सहज वातावरण हुँदै गएपछि पत्रकारितामा पनि महिला संलग्नताले संख्यात्मक तथा गुणात्मक रुपमा सकारात्मक परिवर्तन देखिएको छ । विभिन्न संघ, संस्थाले आयोजना गर्ने तालिम, गोष्ठी लगायतका कार्यक्रमहरुले गर्दा पछिल्लो समय महिला पत्रकारहरुको क्षमता विकास हुनुका साथै पत्रकारितामा महिलाहरुको प्रवेश र निरन्तरताले पनि व्यापकता पाएको देखिन्छ । तथापी, अझै पनि तुलनात्मक रुपमा महिला पत्रकारको अवस्था  संलग्नता र निरन्तरताको हिसाबले संख्यात्मक तथा गुणात्मक रुपमा पर्याप्त हुन सकेको छैन ।





कमेन्टसहरु



ताजा समाचार



12423157 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top