The first website dedicated to the people of clean and green city Hetauda.
logo
विचार/दृष्टिकोण

आलेख: सामाजिक मनोविज्ञानमा आदर



विचार/दृष्टिकोण   268 पटक पढिएको   डा. विदुर चालिसे   २०७४ भाद्र ०९ शुक्रवार  

भाद्र ०९ शुक्रवार, हेटौंडा । नेपाली भाषामा आदरार्थीको प्रयोग निम्न, मध्यम, उच्च र अतिउच्च गरी चार प्रकारको पाइन्छ । व्याकरणले जस्तै आदरले पनि व्याकरणात्मक कोटि दर्शाउँछ । आदर विशेषतः स्रोता र अन्य सन्दर्भमा व्यक्त हुने भाषा कारोवारको विषय हो । यो मानवीय सन्दर्भमा बहुवचन वा संयुक्त क्रियाका आधारमा व्यक्त गरिन्छ ।

आलेख: सामाजिक मनोविज्ञानमा आदर

यसका लागि स्रोता सन्दर्भको एकवचनमा निम्नआदरमा ‘तँ’, मध्यम आदरमा ‘तिमी’, उच्चआदरमा ‘तपाई’ र अतिउच्चआदरमा ‘हजुर’ जस्ता आदरार्थी सर्वनामको प्रयोग गरिन्छ । अन्य सन्दर्भको एकवचनमा चाँहि ‘यो’, ‘त्यो’, ‘ऊ’, ‘यी’, ‘ती’, ‘तिनी’, ‘यिनी’, ‘उनी’, ‘यिन’, ‘तिन’, ‘उन’ र ‘उहाँ’ जस्ता सर्वनामहरुका आदर प्रयोग गरिन्छ भने ‘मौसूफ’, ‘सरकार’ र ‘ख्वामित’ जस्ता आदरसूचक चाँहि नामको रुपमा प्रयोग गरिन्छ । स्रोता एवं अन्य सन्दर्भमा बहुवचनको प्रयोगका लागि  ‘हरु’ नामयोगी बचनको रुप सर्वनाम वा नाममा जोडेर बहुबचन बनाइन्छ ।

व्याकरणगत दृष्टिले हेमांगराज अधिकारी(२०४९) ले  ‘तँ’ सर्वनामलाई आदररहित आदरार्थीका रुपमा हेरेको देखिन्छ भने स्रोता सन्दर्भका विशेष आदरका रुपमा  ‘तिमी’ सर्वनामलाई मध्यम आदरमा,  ‘तपाई’ सर्वनामलाई उच्च आदरमा, ‘यहाँ’ र  ‘आफू’ सर्वनामलाई उच्चतर आदरमा एवं ‘मौसुफ’,  ‘सरकार’,  ‘ख्वामित’ जस्ता नामलाई उच्चतर(दरवारी) आदर गरी  पाँच प्रकारले पनि आदरार्थीलाई परिभाषित गरेको पाइन्छ । 

आदरार्थी वाक्यमा प्रयोग गर्दा क्रियालाई प्रभाव पार्ने हुँदा सर्वनाम वा नामका साथसाथै क्रिया धातुमा लाग्ने व्याकरणिक रुपायकहरुले क्रियाको आदरार्थी संरचनामा पनि फरक भई प्रयोग भइदिन्छ । यस्तो अवस्थामा क्रिया धातुमा लाग्ने यस्ता व्याकरणिक स्तरहरु लिंग, वचन, पुरुष, काल, भाव, पक्ष, ध्रुवीयता जस्ता व्याकरणका कोटिहरु प्रयोग भई आदरार्थीको तह विशेषमा व्याकरणिक संगतिको पहिचान भएका हुन्छन् ।

नेपाली भाषिक समाजको प्रयोक्ताको तुलनामा अन्य भाषाहरुमा आदरार्थीको फरक फरक प्रयोग भएको पनि देखिन्छ । अग्रेजीमा प्रयोग हुने  ‘यू’ सर्वनामले नेपाली वक्ताको स्रोता सन्दर्भमा प्रगोग हुने सबैप्रकार सर्वनामलाई प्रतिनिधित्व गर्दछ भने अन्य सन्दर्भमा ‘दाउ’ सर्वनामले प्रतिनिधित्व गरेको देखिन्छ । संसारका अन्य भाषाहरुमा पनि यस्ता प्रयोगहरु पाइन्छन् । उदाहरणका लागि नेपाली भाषाका तुलनामा बाहिंग (राई) भाषाको स्रोता सन्दर्भको आदररहितमा  ‘गो’,  उच्चआदरमा  ‘गनी’  तथा विशेष आदरमा ‘दःब’ जस्ता तिनप्रकारका सर्वनामका आदरार्थीको प्रयोग भएको देखिन्छ । त्यस्तै सोही भाषाको अन्य सन्दर्भको आदररहितमा  ‘एम्’, ‘मेम्’ र  ‘आम्’, उच्चआदरमा  ‘आम्द’ तथा विशेष आदरमा  ‘आम्द’ र  ‘दःब’ आदरार्थीको प्रयोग भएको पाइन्छ ।       

त्यसैले भाषा पिच्छे सामाजिक प्रचलनमा भाषाबाट व्यक्त हुने समाज पिच्छेका मनोभावनाका फरक फरक आदरको रुपमा आदरार्थीको सार्वनामिक रुप र नामिक रुपहरुको प्रयोग हुने देखिन्छ । 

कुनै पनि भाषामा प्रयोग हुने आदरार्थीले त्यस समाजको सामाजिक संरचना, सांस्कृतिक मान्यता एवं बैशिष्ठहरुलाई परिभाषित गरेको हुन्छ भने उक्त समाजको सामाजिक चित्रलाई पनि प्रस्तुत गरेको हुन्छ । यस्तो अवस्थामा भाषिक व्यवहारहरु समाजमा देखिने वर्गमा श्रमको स्तर, आर्थिक अवस्थाको स्तर एवं सम्मान सूचकताको स्तरबाट निर्देशित भएको देखिन्छ । स्वभाविक रुपमा भाषागत आदरार्थीको प्रयोगले नेपाली समाज आदरको चार क्षेत्रमा परिभाषित भएका देखिन्छन् । नेपाली समाजको विकासको हिसाबमा आर्थिक दृष्टिले अति निर्धन एवं अति निच स्तर, स्वभाव, व्यवहार, कामको हैसियत वा सन्तति क्रममा निम्न आदरको सार्वनामिक प्रयोग गरेको देखिन्छ भने आर्थिक सामाजिक दृष्टिले मध्यम स्तरको तिनै शैली र अवस्थाका बेला वक्ताले आफ्नो भाषिक मनोविज्ञानलाई मध्यम स्तरको सार्वनामिक प्रयोग गर्दछ । उच्चमध्यम वर्गको सामान्य हुनेखाने वा उन्नत स्तरको जीवनशैली, आर्थिक अवस्था वा आफूभन्दा उच्च स्तरको मान्यवरका लागि उच्च आदर सार्वनामिकहरुको प्रयोग गरेको देखिन्छ । अति सम्मानित अवस्था वा सामन्त चरित्रको उपल्लो दर्जा, व्यवसाय, अवस्था, प्रकृति तथा राजकीय परम्परा र शैलीको परिचायक आदि प्रबृत्तिका लागि नेपाली समाजको मनोविज्ञानले अतिउच्च स्तर(दरवारी)को आदरार्थीका नामिक शब्दहरु प्रयोग गर्दछ । नेपाली भाषाले परम्परागत रुपमा अनादि कालदेखि प्रचलनमा रहेको वर्ग विभाजनको प्रतिबिम्ब यिनै आधारमा प्रकट गरेको देखिन्छ । त्यसैले जबसम्म नेपाली समाजको विकास नयाँ मोडबाट सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धका आधार एवं औजारहरु परिवर्तन गरी विकासमा अगाडि बढ्न सकिदैन तबसम्म नेपाली भाषाका वक्ताहरु चाहेर पनि आदरार्थीको भाषिक प्रयोगलाई परिवर्तन गर्न सक्दैनन् । किनभने भाषाको कारोवार कुनै एक युगको समाज, समुदाय वा क्षेत्रले मात्रैको कारोवारले अर्थ राख्दैन । नेपाली भाषाका वक्ता बृहत्तर रुपमा देश तथा विदेशमा समेत रहेकाले भाषिक आदरको विषय कुनै लहडमा परविर्तन गर्न खोजे पनि सामाजिक, सांस्कृतक भाषिक व्यवहारले त्यस्तो भाषिक प्रयोगलाई रोक्न पुग्दछ र विचलित असैद्धान्तिक भाषिक कारोवारका कारण विषयगत घटनाहरु दुर्घटित हुन पुग्दछ ।

वक्ताको मनोविज्ञानमा  स्रोताको आफ्नो आर्थिक समाजिक मनोविज्ञानको बुझाइ र स्तर नापिन्छ । उदाहरणका लागि  कुनै वक्ता पात्रले चार प्रकारको स्रोतालाई देख्यो । ती चार प्रकारका स्रोताहरुमध्ये पहिलो स्रोता राजा थियो, दोस्रो मान्यवर थियो, तेस्रो समाकालीन वा समकक्षी थियो र चौथो चाँहि वक्ताभन्दा निचस्तरको देखिन्थ्यो । यस्तो अवस्थामा वक्ताले बोल्ने भाषिक आदरार्थीको प्रयोग उनीहरुको सामाजिक अवस्था, स्रोता(दृश्य)का रुपमा रहेका ती पात्रहरुको मनोविज्ञान र वर्ग सापेक्षताका आधारमा उनीहरुको स्तर नापिन पुग्छ र सोहीअनुसार वक्ताले ती विविध खालका व्यक्तित्वको बीचमा नेपाली आदरार्थीमा प्रयोगमा आउने सार्वनामिक वा नामिक एवं तत्तत् क्रियाका भाषिक स्वरुपलाई प्रयोग गरेर काम चलाउँछ र स्रोता एवं समाजको चित्त बुझाउँछ । तर माथि भनिए झै अंगेजी भाषामा रहेको आदरार्थीको स्तर सबै हिसाबले एकै भाषिक प्रयोग देखिने हुँदा त्यो भाषाका प्रयोक्तामा समान आर्थिक, सामाजिक, मनोवैज्ञानिक दृष्टिकोणको अनुभूति वक्ता र स्रोताका बीचमा प्रकटिन्छ । त्यस्तै माथि उल्लिखित गरिएको बाहिंग भाषाको प्रयोगको स्तर पनि सोहीअनुसार नेपाली भाषाको मनोविज्ञानको तुलनामा खुम्चिएको देखिन्छ ।

श्रमका हिसाबले समाजलाई दुई प्रकारको वर्गमा छुट्याइन्छ । तर नेपाली समाजको भाषिक वर्गीयता चार प्रकारको देखिन्छ र सोहीअनुसार भाषाको कारोवार सामाजिक प्रचलनमा गरिन्छ । त्यसैले नेपाली समाजमा देखिएको श्रमका आधारले परिभााषित गरिएको वर्ग विभाजन र भाषिक कारोवारको आधारमा भएको वर्ग विभाजनका बीचमा व्यवहारिक रुपमा फरक देखिन्छ । नेपाली भाषाको वर्गीयता पुरातनकालीन सामन्तीय चरित्र बोकेको नेपाली समाजको विकासको अवशेषको रुपमा रहेकोले भाषिक व्यवहार र कारोवार पनि सोही वर्गीयतामा अडेको पाइन्छ ।

नेपाली वक्ताको मनोविज्ञान भाषिक कारोवारका सन्दर्भमा उध्र्वमुखी छ । यस समाजका भाषाका वक्ताहरु आफ्नो सामाजिक उन्नति, आर्थिक उन्नति एवं तत्काल विकसित प्रतिष्ठाका बीचमा भाषाका प्रयोक्ताहरुले सोत्रा एवं अन्य सन्दर्भका क्षेत्रमा भाषाको प्रयोग उच्च आदर वा अतिउच्च आदरका आदरार्थीहरु प्रयोग गर्ने गर्दछन् । नेपाली समाजको अतिउच्च आदरको शालिन भाषिक चरित्र बोकेको उच्च घरानियाँ प्रबृत्तिका लागि दरवारी आदरार्थीको रुपमा नामिक पदका  ‘हजुर’, ‘सरकार’ वा ‘मौसुफ’ जस्ता शब्दको प्रयोग गर्न उन्नतिशील नेपाली समाजका वक्ताहरु रुचाउँछन् भने संयुक्त  क्रियामा प्रयोग हुने ‘बक्स’ नामधातु जोडेर ‘खाइबक्सियो’ एवं ‘गइबक्सियो’ जस्ता उच्च कुलिनता तथा शालिनताको प्रतिनिधित्व गरेको महसुस गर्दछ । त्यसैले एउटा नेपाली भाषाको वक्ताकी चेलीले आफ्नो विवाहपछि कर्म घर प्रवेशको पहिलो दिन नै अति उच्च आदरार्थी(दरवारी)को प्रयोग गर्न पुग्दछे । किनभने उसलाई लाग्दछ उसको मनोविज्ञानभित्र सल्बलाएको आफ्नो जन्म घरमा जतिसुकै निचताको आर्थिक, सामाजिक वा सांस्कृतिक सामाजिक सम्बन्ध भए पनि उसका चेतनाले आफ्ना पिता परिवारको उच्च कुलिनताको प्रदर्शन गर्नु र आफू आफ्ना कर्म घरमा प्रतिष्ठित भएको सावित गर्नु एवं उसको मनोवैज्ञानिक चेतको उपजको रुपमा रहेको जन्म घरको सौम्य शालिनता प्रकट गर्ने प्रयास गर्नु उसको मनोवैज्ञानिक चाहना रहन्छ । तसर्थ जन्म घरमा जुनसुकै स्तरको आदरार्थीको प्रयोग गरे पनि कर्मको घरमा रातारात नेपाली भाषाका चेली वक्ताको मनोस्तरमा अतिउच्च(दरवारी) आदरार्थीको भाषिक व्यवहारको प्रयोग हुन पुग्दछ ।  

तसर्थ नेपाली समाजको भाषिक वर्गीयता चार प्रकारको देखिए पनि यसको प्रयोगको दिसा वक्ताले आफ्नो सामाजिक, सांस्कृतिक तथा आर्थिक हैसियतले मापन गर्दै भाषाको प्रयोग अग्रगामी उच्च स्तरियतातिर अगाडि बढाउने नेपाली भाषाका वक्ताहरुको मनोविज्ञान देखिन्छ भने स्रोताका लागि प्रयोग गरिने भाषिक आदरको स्वरुप प्रत्यक्षत अनुभव गरेका, भोगिएका र देखिएका सामाजिक, सांस्कृतिक एवं आर्थिक उन्नति र प्रगतिमा प्रतिबिम्बित भएको पाइन्छ । नेपाली समाजको वर्ग चरित्र मध्यम वर्गीय चरित्रमा अडेको भए पनि भाषिक वर्गीय चरित्र परम्परागत सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धमा जोडिएर नेपाली भाषाको व्याकरणिक आदरका रुपमा उपवर्गीय आदरार्थीहरुको प्रयोगमा परिभाषित भएको छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217359   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top