Hetauda Online - जिर्ण मकवानपुर गढीको रुप फेरिएला ?
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

जिर्ण मकवानपुर गढीको रुप फेरिएला ?


स्थानीय समाचार 13 पटक पढिएको २०७४ बैशाख ०७ बिहीवार


जिर्ण मकवानपुर गढीको रुप फेरिएला ?


-भानुभक्त आचार्य नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ ।

विसं. १२५८ सालमा सेनवंशी राजाको शासनकालमा निर्माण गरिएको मकवानपुरगढीमा तामाङ र मगरको संस्कृति झल्कने संग्रहालय समेत राखिने भएको छ । बहुबर्षीय योजना सञ्चालन गरी विकास गर्न लागिएको मकवानपुरगढी हेटौंडाको मुख्यचोकबाट १७ किलोमिटर पूर्बमा रहेको छ । राजा महेन्द्रले आफैंले जीप हाँकेर २०१६ सालमा उद्घाटन गरेको कान्तिराजपथसँग जोडिएको मकवानपुरगढीमा रहेका दर्बार तथा अन्य संरचना जीर्ण भएका छन् ।

मकवानपुरगढी पर्यटन विकास समन्वय समितिका सचिव केदारप्रसाद न्यौपानेका अनुसार मकवानपुरगढीको विकास गर्न तयार गरिएको गुरुयोजना बहुबर्षीय छ । समितिले टोपोग्राफि म्याप तयार पारेर पुरातत्व विभागलाई बुझाइसकेको सचिव न्यौपानेले बताए । पुरानै मोडेलमा परिबर्तन नआउने गरी दुईवटा दरबार, किल्ला, संग्राहलय, मन्दिर, होटेल, भ्युटावर, पिकनिक स्पट, चिल्ड्रेन पार्क, बगैंचा, मुलढोका निर्माण गरिने समितिका सचिव न्यौपानेले बताए । 

गुरुयोजनामा १२ करोड ९४ लाख रुपैयाँमा किल्ला, ८ करोड १० लाख रुपैयाँमा दरबार, ४५ लाख रुपैयाँमा संग्रहालय, ८० लाख रुपैयाँमा बगैंचा निर्माण गर्न प्रस्ताव गरिएको छ । त्यस्तै ८१ लख रुपैयाँमा ६ वटा पिकनिकस्थल, १ करोड रुपैयाँमा खानेपानी व्यवस्थापन गर्ने र १ करोड ६८ लाख रुपैयाँमा बंशीगोपाल, सिद्देश्वर महादेव र गणेशको मन्दिर निर्माण गरिने भएको छ । गढी दरवारको मुलढोका निर्माणमा २८ लाख रुपैयाँ खर्च गर्ने गुरुयोजना तयार गरिएको छ ।

समितिले तीनबर्ष अघि छलफल अघि बढाएर गुरुयोजना तयार गरेको हो । तत्कालीन नागरिक उड्डयन तथा पर्यटन विकास राज्यमन्त्री इन्द्रबहादुर बानियाँले गुरुयोजना निर्माणमा पूर्ण सहयोग गरेको सचिव न्यौपानेले बताए । मकवानपुरमा तामाङ बाहुल्यता रहेकोले तामाङ जातिको ऐतिहासिक संस्कृति झल्कने सामग्री संग्रहालयमा राखिने प्रस्ताव गरिएको छ । गढी संग्राहलयमा देशभरका गढीको इतिहास, फोटो र पुरातात्विक बस्तु राखिने गुरुयोजनामा उल्लेख छ ।

गढी दरबार, किल्ला र गेट निर्माण गर्दा ऐतिहासिक स्वरुप नमेटिने र मोडेल परिवर्तन नहुने किसिमले बैज्ञानिक तवरबाट निर्माण गरिने छ । समुद्री सतहबाट करिब १ हजार १९ मिटर उचाइमा रहेको मकवानपुरगढीमा रहेको तोपलगायतका सामग्री द्वन्द्वकालमा हराएको थियो । गढीबाट दृश्यालोकन गर्न भ्यूटावर निर्माण गरिने समितिको योजना रहेको सचिव न्यौपानेले जानकारी दिए । 

मकवानपुर राज्यको बिसं. १६१० मा राजधानी मकवानपुरगढीमा स्थापना गरिएको थियो । सेन राजाको थलोको निशाना मेट्ने कार्य भने बिसं. १८१९ भदौ ९ गते भएको थियो । ढेड फुट चौडाई दुई फुट लम्बाईको गढी दरबारमा र अढाई फुट चौडाई तीन फुट लम्बाईको शिलालेखमा मकवानपुर राज्यको बारेमा सबै कुरा समेटिएको सचिव न्यौपानेले जानकारी दिए ।

मकवानपुर राज्यको चौहद्धी पूर्वमा टिष्टा नदी–कामाक्षमाई, पश्चिम चितवनको माडी–ठोरी नाका, उत्तर महाभारत पर्वत तथा हिमालसम्म र दक्षिण पूर्णिमा–सुगौलीसम्म रहेको ईतिहासकारहरु बताउँछन् । तत्कालीन समयमा मकवानपुर राज्यमा १२ हजार घरधुरी रहेको पाइएको छ । मकवानपुर राज्यको पहिलो राजा लुहाङ सेन थिए । राघवनरेन्द्र सेन, हरिहरईन्द्र सेन, शुभ सेन, माणिक सेन हँुदै हेमकर्ण सेनको पालामा आएर गोरखाका राजा पृथ्बीनारायण शाहसँग सम्बन्ध गासिएको ईतिहासकारहरुले बताएका छन् ।

हेमकर्ण सेन, जसले आफ्नो छोरी गोर्खाका राजा पृथ्वीनारायण शाहसँग विबाह गरिदिएका थिए । मकवानपुरे सेन बंशका अन्तिम राजा दिग्बन्धन सेन थिए । लडाईमा केहरसिंह बस्नेत र बंसराज पाण्डेको नेतृत्वमा मकवानपुर राज्य माथि गोर्खालीद्वारा घमासान युद्ध हुँदा १८१९ भदौ ९ गते शनिबार गोर्खाली फौज एक सय जना र मकवानपुरे सिपाही चार सय जनाले वीरगति पाएको शिलालेखमा उल्लेख गरिएको छ । पराजित भएर मकवानपुरे राजा दिग्वन्धन सेन, उनका परिवार र उनका मन्त्री कनकसिंह बानियासमेत भाग्ने क्रममा हेटौंडाबाट ठोरी पुगेका थिए । मकवानपुरगढी किल्ला १२ औं शताब्दीतिरै भएर मकवानपुर नामाकरण भएको किम्बदन्ती पाईन्छ ।





कमेन्टसहरु





12609955 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top