The first website dedicated to the people of clean and green city Hetauda.
logo
विचार/दृष्टिकोण

गिद्ध संरक्षणः अबको बाटो



विचार/दृष्टिकोण   92 पटक पढिएको   हेम चन्द्र महतो   २०७४ भाद्र १९ सोमबार  

२०७४ भाद्र १९ सोमबार, हेटौडा । संकटमा रहेको गिद्धलाई प्रकृतिको कुचिकार पनि भन्ने चलन छ । यो पक्षि मरेका गाईबस्तु, जानावरको सिनो खाई बाँच्ने गर्दछ । गिद्ध फोहर, दुर्गन्धित बस्तुहरुलाई आफ्नो आहार बनाई वातावरणलाई स्वच्छ एवं सन्तुलन गर्नुको साथै गिद्धले महामारी हैजा, प्लेग, झाडापखाला, रेबिज, एन्थ्राकस आदी जस्ता महामारी फैलन रोक्ने भुमिका खेल्दछ ।

गिद्ध संरक्षणः अबको बाटो

त्यतिमात्रै नभई यसले धार्मिक तथा सांस्कृतिक महत्व पनि बोकेका एउटा पंक्षि हो । विश्वमा गिद्ध २३ प्रजातिका छन् । नेपालमा ९ प्रजातिका गिद्धहरु पाइन्छन् । सो मध्ये ६ प्रजातिका गिद्धहरु नेपालमै गुँड बनाइ बस्छन, बच्चा कोरल्छन् । बाकि प्रजातिहरु आगन्तुक हुन । 

प्रत्येक वर्ष गिद्ध संरक्षणका लागि अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाइन्छ । यो दिवस हरेक वर्ष सेप्टेम्बरको पहिलो शनिवार मनाउदै आइरहेको छ । गिद्ध संरक्षण कार्यलाई थप प्रभावकारी र आम सरोकारको विषय बनाउने उद्देश्यले यस वर्ष भाद्र १७ अर्थात सेप्टेम्वर २ शनिवारका दिन नेपालमा पनि नवौं अन्र्तराष्ट्रिय गिद्ध सचेतना दिवस मनाईयो । यस दिवसको मुख्य उद्देश्य गिद्धको महत्व, लोप हुनुको कारण र गिद्धको संरक्षण सहभागितावारे जनमानसमा जनचेतना जगाउनु नै हो । दक्षिण अफ्रिकामा सन् २००५ देखी नै मनाइदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्र्तराष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।

यस दिवसका दिन सरोकारवाला संघ सस्था, सरकारी, गैह्रसरकारी निकायहरु विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु जस्तै सचेतनामुलक ¥यालि, सडक नाटक, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण प्रतियोगिताहरु। गिद्ध तस्विर तथा चित्रकला प्रदर्शनी, अन्तक्र्रिया गोष्ठि आदी गरी मनाउने गर्दछ ।

गिद्ध विनाशको मुख्य कारण हो, वासस्थानको विनास र पशु चौपायाहरुलाई औषधि उपचारको लागि प्रयोग गरिने औषधि डाइक्लोफेनेक युक्त सिनो खानु, स्वच्छ आहारमा कमि, सिनोमा विषको प्रयोग, पर्याप्त संरक्षण शिक्षाको अभाव आदी । दास एट अल ले सन् २०१० अनुसार डाइक्लोफेनेक युक्त सिनो खादा गिद्धको किडनि विग्रिने र गिद्ध मर्ने प्रमुख कारण भनेर पुष्टि गरेका छन् । 

गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेष्ठ २३ गते देखी पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रिवितरणमा प्रतिबन्ध लगाएको छ । डाइक्लोफेनेक नामक पशुमा लगाइने औषधि नेपालमा निषेध भएको ११ वर्ष पछि  श्रावण २३ गते महोत्तरी जिल्ला डाइक्लोफेनेक मुक्त जिल्ला घोषण भएको छ । हाल नेपालमा करीब ५८ जिल्ला डाइक्लोफेनेक मुक्त जिल्ला रहेको छ । गिद्ध संरक्षणका लागि दशकौं देखी निरन्तर रुपमा पशु उपचारका लागि डाइक्लोफेनेक को प्रयोग नगर्न सरकारी तथा गैह्रसरकारी निकायहरुले स्थानिय समुदायलाई समेत परिचालन गरिरहेको अवस्था छ । त्यति मात्र होइन, नेपालको सम्पूर्ण भूभागको करिब आधा हिस्सा सैधान्तिक रुपमा गिद्धका लागि सुरक्षित रहेको विभिन्न समयमा घोषणा भएको स्थिति छ । फलस्वरुप गिद्धका संख्यामा विस्तारै वृद्धि भइरहेको अध्ययन प्रतिवेदनहरुले देखिन्छ । यसरी गिद्धको संख्यामा भइरहेका वृद्धिलाई मध्यनजर गर्दै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग (सन् २०१५) अनुसार नेपाल सरकारले गिद्ध प्रजनन् केन्द्र, कसरा चितवनबाट केही गिद्धहरुलाइ प्रोभिजनल भल्चर सेफ जोनमा छाड्ने योजना समेत रहको देखिन्छ । अहिले गिद्धको संख्या करिव २० हजार रहेको अनुमान गरिएको छ । जे भए पनि गिद्धको संख्या ज्यादै थोरै रहेकोले यो पंक्षि अस्तित्व जोखिममै रहेको छ । 

गिद्धको संरक्षणको लागि अबको बाटो

त्यसकारण डाइक्लोफेनेक को प्रयोग भए नभएको निरन्तर अनुगमनको जरुरी देखिन्छ । विभिन्न अध्ययन प्रतिवेदन अनुसार गिद्धलाई विनास गर्ने अरु पनि एनएसएड औषधिहरु छन् । ति हुन नेमुसलाइड (कुथवर्ट एट अल, २०१५) , केटोप्रोफेन (नाइडो एड अल, २००९), एसिक्लोफेनेक (ग्यालिगन एट अल, २०१६) । तसर्थ गिद्धको विनाश हुनुबाट रोक्न वा नियन्त्रण गर्न गिद्धका लागि हानिकारक माथिका सबै औषधिहरु पशु उपचारको प्रयोगमा प्रतिबन्ध लगाउन सरकारले ठोस नीति ल्याउनु पर्ने देखिन्छ ।  

गिद्ध संरक्षण कार्ययोजनालाई नेपालको पूर्वका जिल्लाहरुमा समेत विस्तार गर्दै लागु गर्नु पर्ने नितान्त आवश्यक देखिएको छ । तब मात्र हाम्रो देश नेपालको सम्पूर्ण भूभाग गिद्ध सुरक्षित क्षेत्रको रुपमा रहेको भनी हामी विश्वमा शिर ठाडो पारी उभिन सक्छौ ।

पछिल्लो दिनमा गिद्धको संख्या घटदोक्रम स्थिर भएको देखिन्छ । गिद्धको गुँडहरुको संख्या रुखहरुमा बढिरहेको पाइन्छ । यद्यपि गिद्ध अझै पनि पूर्ण संकटमुक्त र सुरक्षित भइसकेका छैनन् । हामी सानो हुदा यत्रतत्र सर्वत्र देखिने गिद्ध अहिले दुर्लभ भएको र यसको अस्तित्व नै खतरामा परेको कुरामा शायद हामी सबै सहमत छौं । अतः गिद्ध संरक्षणका प्रयासहरु अझै निरन्तर अगाडि बढाइनै राख्नु पर्ने देखिन्छ । 

डाइक्लोफेनेकको अवैधानिक प्रयोग, सिनोमा विषको प्रयोग, वासस्थान तथा आहारको अभाव, पर्याप्त संरक्षण चेतनाको कमीका साथै पर्यावरण संरक्षण गर्ने आदी अझै पनि हामी माझ चुनौतिको पहाड झै खडा छ । अतः लोप हुन लागेका धार्मिक, साँस्कृतिक र पर्यावरणिय महत्व बोकेका प्रकृतिका अभिन्न प्रजाति गिद्ध र त्यसको वासस्थानको वैज्ञानिक व्यवस्थापन गर्नु, गिद्ध लाई हानी पु¥याउने एन एस एड औषधिहरुको प्रयोगमा प्रतिबन्ध लगाउनुका साथ साथै गिद्ध संरक्षण वारे सचेतना अभिवृद्धि गर्न प्रभावकारी कार्यक्रमहरु कार्यान्वयन गर्न सम्बन्धित सबै सरोकारवालाहरु सक्रिय रुपले लाग्न आजको प्रमुख आवश्यक्ता हो । 

हेम चन्द्र महतो

स.वन अधिकृत, वन विभाग, बबरमहल, काडमाण्डौ

हाल : स्नात्तकोत्तर (वन विज्ञान) स्कलर, 

कृषि तथा वन विश्वविद्यालय., हेटौडा 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217312   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top