Hetauda Online - आम्दानीको राम्रो स्रोत बन्दै बोयर बाख्रा
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

आम्दानीको राम्रो स्रोत बन्दै बोयर बाख्रा


स्थानीय समाचार 12 पटक पढिएको हेटौंडा अनलाइन २०७४ असोज १९ बिहीवार


आम्दानीको राम्रो स्रोत बन्दै बोयर बाख्रा


असोज १९ बिहीवार, मकवानपुर युवाको निम्ति उदाहरण बन्दै व्यवसायको नयाँ बाटोको खोजीमा हिडेका हेटौंडाका दुई जना युवाले दुई करोड रुपैयाँ भन्दा बढी लगानी गरेर साउथ अफ्रिकन बाख्रापालन सुरु गरेका छन् ।

हेटौंडा ५ चिसापानीका गोबिन्द सुबेदी र सीताराम अधिकारीले हेटौंडा–३ बसामाडीको सिमलथलीमा बाख्रा फर्म सञ्चालन गरेका हुन् । बाख्राको बर्गमा अत्यन्तै महँगो मानिने बोयर जातका १५ वटा बाख्रा भारतबाट ल्याएर पाल्न सुरु गरेका युवाले मकवानपुरका सबै किसानको घरमा उन्नत जातको बाख्रा पु¥याउने लक्ष लिएका छन् । 

६ वटा बोका र ९ वटा पाठीबाट २०७० मा सुरु गरेको फर्ममा अहिले एक सय २५ वटा भन्दा बढी बाख्रा छन् । बोयर जातको खसीमा बोसो न्यून हुने र फ्याट नहुने भएका कारण बढी मूल्य आउने भएकोले यसमा लगानी गरेको सुबेदीले बताए । मासु बिक्री गर्नु भन्दा पनि पाठापाठी बिक्रीको उद्देश्यले फर्म संचालन गरिएको अधिकारीले बताए । नेपालका ३५ जिल्लाका किसानले आफ्नो फर्मबाट बोयर पाठापाठी खरिद गरेर लगेको सुबेदीले बताए ।

बोयर बाख्राको बृद्धिदर राम्रो रहेको र बाख्रा शान्त स्वभाव देखेर थप उत्साह मिलेको उनीहरुले बताए । स्थानीय जातको बाख्रा भन्दा धेरै छिटो बढ्ने गर्दछ । कृषिमा क्रान्ति ल्याउने भाषण गर्ने नेता र अनुदानका नाममा भएको दुरुपयोग देखेर अधिकांश किसान दिक्क भएका छन् । सुबेदीले भने– सरकारले अनुदानमा दिएको जमरा उत्पादन गर्ने मेशिन भोल्टेज अपुग भएका कारण सञ्चालनमा ल्याउन सकिएको छैन । बाख्रा फर्मसम्म पुग्ने सडक पनि स्तरीकरण नभएका कारण बिभिन्न जिल्लाबाट आएका किसानको टोलीलाई समस्या परेको छ ।

सरकारले कृषिउत्पादनमा सुधार ल्याउनका लागि जस्तो कार्यक्रम ल्याएपनि किसानलाई राहत पुग्न नसकेकोमा उनीहरु चिन्तित छन् । नेपाल विद्युत प्राधिकरणका कारण मेशिन सञ्चालनमा ल्याउन सकिएको छैन । विद्युत उपलब्ध नभएकै कारण समस्या भोग्न बाध्य भएको उनीहरुले बताएका छन् । नेपाल लिभर लि. नजिकै रहेको प्राधिकरणको ट्रान्समिटरबाट सिमलथलीसम्म ३ किमि दुरी पर्छ । सो दुरीमा विद्युतको भोल्टेज नपुगेकै कारण फर्ममा भएका सबै मेशिन अलपत्र परेका छन् । बोयर बाख्रासँगै उनीहरुले खरी र जमुनापारी पनि पालेका छन् । बोयर बाख्राको बोका र पाठी बुक गर्नेहरु दिनदिनै बढ्दै गएको उनीहरुले बताएका छन् । सुरुमा साउथ अफ्रिकामा विकास गरिएको बोयर बाख्रा पछि अष्टे«लिया, भारतमा पनि पाल्न थालिएको र यसको मासु बढी मूल्यमा बिक्री हुने उनीहरुले बताए ।

करिब तीन बिगाहा जग्गामा आफ्नै घाँसखेती गरिएकोले अहिले घाँसको समस्या छैन । यो बर्षदेखि घाँसको बिरुवा पनि बिक्री गर्न थालेपछि आम्दानीको अर्को स्रोत थपिएको सुबेदीले जानकारी दिए । स्थानीय जातको बाख्रापालनबाट खासै आम्दानी नभएका कारण किसानहरु आकर्षित नभएको तर, उन्नत जातको बाख्राको बारेमा जानकारी दिन सकेको खण्डमा किसानको आम्दानी बढ्ने उनीहरुको अनुभव छ ।






कमेन्टसहरु



लोकप्रिय



12811752 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top