The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

वन डढेलो : कारण, प्रभाव र व्यवस्थापन


विचार/दृष्टिकोण 19 पटक पढिएको टंक नारायण श्रेष्ठ २०७४ चैत्र १२ सोमबार


वन डढेलो : कारण, प्रभाव र व्यवस्थापन


चैत्र १२ सोमबार, हेटौंडा । नेपाल वन डढेलो व्यवस्थापन च्याप्टरले आफ्नो फेसबुक वालमा नासाको तथ्यांकलाई आधार मानी स्टाटस पोष्ट गर्दै गत चैत्र ५ देखि ९ गतेसम्मको पाँचदिनको अवधिमा नेपालका १२५ स्थानमा विभिन्न स्तरका वन डढेलो देखा परेको बतायो । उसले गएको पुष, माघ महिनादेखि नै वन डढेलोको अनुगमन गरिरहेको छ । त्यस अनुसार गएको पुष १ गतेदेखि चैत्र ८ गतेसम्मको अवधिमा नेपालमा मात्र ७०१ वटा वन डढेलोको घटनाहरु भए । औसतमा प्रति २४ घण्टा करीव ४७ ठाउँमा अथवा पटक डढेलो लागेको देखियो ।

हरेक वर्ष विशेष गरी चैत्रदेखि जेठसम्म नेपालको वनजंगल वन डढेलोको बढी नै चपेटामा पर्ने गरेको छ । यसै बीच नेपाल सरकारले चैत्र १ देखि ७ गतेको अवधिलाई डढेलो सप्ताह घोषणा ग¥यो । यसबीच डढेलो व्यवस्थापनको विषयमा जनचेतना अभिवृद्धिको लागि सरोकारवालाहरुसँग अन्तरकृया, समूह स्तरमा डढेलो सचेतना गोष्ठी तथा तालीमहरु र कर्मचारी तहमा समेत डढेलो व्यवस्थापन सम्वन्धी कार्यक्रम आयोजना गरिएका छन् । जिल्ला वन कार्यालय मकवानपूरले यस वर्ष पनि जिल्लाका पाँच वटा सामुदायिक वन उपभोक्ता समूहहरुलाई डढेलो व्यवस्थापन औजारहरु वितरण गर्रयो । यसका साथै डढेलो व्यवस्थापन सम्वन्धी नमूना अभ्यास पनि आयोजना गरेको थियो । सदरमुकामकै चौकीटोलको सुन्दर सामुदायिक वन उपभोक्ता समूहका डढेलो नियन्त्रण दस्ताले उक्त अभ्यासको प्रदर्शन गरेको थियो । यो प्रसंग अहिलेलाई यति नै । 

आगो मानिसलाई नभई नहुने शक्तिको श्रोत हो । मानिसलाई आगो जन्मदेखि मृत्युपर्यन्त आवश्यक छ । आगोको विविध रुपहरु हुन्छन् । भान्साको चुलोमा भए अगेनो, चितामा बाले दागवत्ती, वस्तीमा लागे आगलागी र वनमा लागे वन डढेलो । वनमा वोट विरुवा, माटो, वन्यजन्तु र ढलापडा काष्ठ र गैरकाष्ठ पैदावारलाई खरानी पार्ने गरी सल्केको आगोलाई वन डढेलो भनौं । अझ वन डढेलो भनेको वनमै लाग्ने अनियन्त्रित आगोलाई मानिन्छ । 

वन डढेलो लाग्नको लागि मुख्यतया तीन तत्वहरु आगो, इन्धन र हावा आवश्यकता पर्दछ । आगो भन्नाले आगोको श्रोतहरु हुन् । उदाहरणको लागि सलाइ, लाइटर, दाउराको अगुल्टो, बिजुलीको झिल्का, चट्याङको झिल्का आदि । त्यस्तै इन्धन भनेको मट्टितेल, वनको भूइँमा रहेका सुकेका पत्कर र हाँगाबिंगा लगायतका प्रज्वलनशील बस्तुहरु हुन् । हावामा अक्सिजन २१ प्रतिशत, नाइट्रोजन ७८ र अरु ग्याँसहरु १ प्रतिशत जति हुन्छन् । आगो लाग्नलाई अक्सिजन आवश्यक पर्दछ । यी तीन चीज भएपछि जहाँ पनि जहिले पनि आगो लाग्दछ । वनमा लागे वन डढेलो र वस्तीमा लागे आगलागी । 



वन डढेलो एक प्रकारको विपत्ति हो । यो प्राकृतिक र कृत्रिम दुई प्रकारको हुन्छ । प्राकृतिक रुपमा लाग्ने डढेलो हाम्रो नियन्त्रणमा हुँदैन । हाम्रो नियन्त्रणमा हुन सक्ने र हामीले हेलचेक्यार्रइँ गर्दा लागेको वन डढेलो मानवीय कारणबाट लागेको वन डढेलो हो । नेपालमा अनुसन्धानले देखाए अनुसार ८० प्रतिशतभन्दा बढी  वन डढेलो मानवीय कारणले नै लाग्ने गरेको छ । यसरी लाग्ने डढेलो नै वनको विनाशको प्रमुख कारक बनेर अगाडि आएको छ । ग्रामीण वस्तीका मानिसहरुले वनमा घाँसको नयाँ पालुवा पलाउँछ भनेर लगाएको आगो अनियन्त्रित भई सारा जंगलमा फैलिन गई लागेको डढेलो नै वन र जैविक विविधताको शत्रु बन्न पुगेको छ । त्यस्तै खोरीया खेती गर्ने मानिसहरुले जग्गा तयारी गर्ने क्रममा लगाएको आगो वनमा फैलिन गएपछि पनि वन डढेलो बन्न पुग्दछ । यस्तो खेती मकवानपूर, चितवन, गोर्खा, तनहुँ र धादिङ जिल्लाको सीमावर्ती क्षेत्रमा बढी देख्न पाइन्छ । त्यस्तै वनमा गोल पोल्ने, वनभोज खाएर आगो ननिभाई छोड्ने, सडक किनारा सफाइ गर्ने क्रममा लगाइएको आगो पनि वन डढेलोको कारक बन्न गएको पाइन्छ ।

वर्तमान अवस्थामा जलवायु परिवर्तन वन डढेलोको उत्प्रेरक बनेर आएको छ । नेपालमा औसतमा ०.०६ डिग्री सेल्सियसको दरले पृथ्वीको सतहको तापक्रम बढ्दै गएको छ । यसले गर्दा आद्र्रता र वर्षाको कमी हुन गएको छ । यस कारणले पानीका मुहान सुकेका छन् । सतह बढी तातेको कारण प्रज्वलनशील वस्तुको प्रचुरता बढ्न गएको छ । अतः वन डढेलो र जलवायु परिवर्तन परस्पर परिपूरक कुरा हुन् । यी दुईको दुष्चक्रमा परेर वन सखाप हुने गरेको छ । वन डढेलोले हरीत गृह ग्याँसको निष्काशन बढाई बायुमण्डलको तापक्रम बढाएको छ भने तातिँदो सतहले वन डढेलोको जोखिम झनै बढाएको छ । वर्तमान परिप्रेक्षमा वन र जैविक विविधता विनाशमा वन डढेलो प्रमुख कारक बनेर अगाडि आएको तथ्य सर्वविदित छ ।

वन डढेलो लागेको स्थानमा २८ गुणा बढी भूक्षय हुन्छ भनिन्छ । यसले माटोको संरचना, वनावट र संगठनलाई बिगार्दछ । साना साना कीटदेखि भीमकाय जन्तु पनि डढेलोको लप्कामा परेर नाशिएका छन् । यसबाट उनीहरुको जनसांख्यिक गतिशीलतामा असर परेको छ । माटोको मलीलोपना र पौष्टिक गुण पनि वन डढेलोको कारण ह्रास हुनपुग्दछ । फलतः त्यहाँ कृषि मात्र होइन वनको उत्पादकत्व पनि ह्रास हुन थाल्दछ । पानीका मुहान सुक्दछ, हावा दुषित बन्दछ, श्वासप्रश्वास सम्वन्धी रोगहरु उत्पत्ति हुन्छन्, आँखाका रोग पनि फैलिन्छन् र वायुमण्डल धुमील भएर दृष्टिमा कमी भई वायुयानहरुको दुर्घटनाको जोखिम बढने गर्दछ । त्यस्तै गरी महत्वपूर्ण वोटविरुवा, वन्यजन्तुका प्रजातिहरु नाश हुन्छन् । साना साना पुनरुत्पादन, अँकुरण हुँदै गरेका वन वीऊ जल्छन् र पुनरुत्पादनको कमीको कारण वनको दीगो व्यवस्थापनमा बाधा पुग्दछ । वन डढेलोको कारण कृषिको लागि आवश्यक मल पत्कर नाश हुन पुग्दछ र जीवित हलो अर्थात् गड्यौला नाश भएर जानाले कृत्रिम गड्यौला उत्पादनमा हामीहरु लागेको त दशक भइसकेको छ । 

डढेलोबाट भएको मानवीय क्षतिको कुरा गर्ने हो भने, गएको माघ १ गतेको एक छापा समाचारका अनुसार रुकुमको पुथउत्तरगंगा गाउँपालिकाको लालपाटन जंगलमा लागेको डढेलोमा परेर सोही गाउँपालिका वडा नं. ७ का दुई स्थानीयको मृत्यु भएको छ । डढेलोका अनुसन्धाता एबम् दक्षिण एशियाली डढेलो व्यवस्थापन सञ्जालका संयोजक सुन्दर शर्माका अनुसार २०६२ देखि अहिलेसम्म डढेलोका करण ९७ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा घाइते हुनेको संख्या ८८ पुगेको छ । 



यसो त डढेलो हानिकारक मात्र पनि होइन । वन्यजन्तुको वासस्थान व्यवस्थापन गर्न र वन व्यवस्थापनमा नियन्त्रित डढेलोको आफ्नै महत्व छ । वन्यजन्तु जीवविज्ञानले वासस्थान प्रतिस्थापन, जसलाई अंग्रेजीमा “सक्सेसन” भनिन्छ, त्यसलाई वन्यजन्तु र वनस्पतीको बिकासलाई नियमन गर्ने उद्देश्यले पछाडि धकेल्ने वा अगाडि लैजाने उद्देश्यले पनि नियन्त्रित डढेलो लगाइन्छ । भरखरै डढेलो लागेको स्थानमा नयाँ घाँस पलाउँछ नै । त्यहाँ साना साना कीराहरु आउँछन् । घाँसको कारण प्रथम उपभोक्ता वन्यजन्तु जस्तै, मृग, जरायो, खरायो आदिलाई आहारा उपलब्ध हुन्छ जुन अन्तत्वगत्वा साना ठूला मांसाहारी जन्तुको लागि आहारा हो । यसरी पारिस्थितिकीय प्रणालीलाई गतिशील राख्नको लागि पनि वन डढेलो उपयोगी रहन्छ । स्मरणीय छ, यस्ता डढेलोहरु व्यवस्थित र नियन्त्रित रहन्छन् । यसैले वाञ्छनीय मानिन्छन् ।

यस कारण वन डढेलोको नियन्त्रणभन्दा व्यवस्थापन चासोको कुरा हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ जारी गरेर डढेलो व्यवस्थापनलाई नीतिगत रुपमा सम्वोधन गर्न खोजेको छ । सो रणनीतिमा डढेलोको निरोधात्मक र नियन्त्रणात्मक रणनीतिको व्यवस्था गरिएको छ । निरोधात्मक रणनीतिमा नीतिगत, कानूनी र संस्थागत सुधार, शिक्षा, जनचेतना अभिवृद्धि र प्रविधि बिकास, डढेलोसँग सम्वन्धित विषयमा जनसहभागितामा आधारित अनुसन्धान र बिकास, सहकार्य, संजाल विस्तार र पूर्वाधार बिकास रहेका छन् । त्यस्तै वन डढेलो व्यवस्थापनको लागि हरेक खालको वन श्रोत व्यवस्थापन योजनामा डढेलो व्यवस्थापन सम्वन्धी प्रावधान समावेश गर्ने, स्थानीय देखि केन्द्रसम्म प्रभावकारी समन्वय कायम गर्ने, वन क्षेत्रका संरचनाहरुमा दक्ष जनशक्तिको व्यवस्था गर्दै जाने, डढेलो हुने निश्चित अवधिका लागि डढेलो संकट अवधि घोषणा गरी राज्यका सबै अंगलाई तयार रहन तथा नियन्त्रणमा लाग्न आदेश जारी गर्ने व्यवस्था, डढेलो प्रभावित क्षेत्रहरुमा जनसहभागिता परिचालन गरी प्राकृतिक पुनरुत्पादन प्रवर्धन तथा वृक्षरोपण गरी सोको संरक्षण गर्ने कुरा उक्त रणनीतिमा लेखिएको छ ।

वन डढेलो लाग्न नदिनु नै सबैभन्दा पहिलो बुद्धिमानी हो । लागीहालेमा सबैले सबैलाई खवर गरी मिलेर गई निभाइहाल्नु दोश्रो बुद्धिमानी हो । यसो गर्दा सर्वप्रथम आफ्नो ज्यान सुरक्षित गर्दै आगोसँग होशियारी अपनाई त्यसलाई सामूहिक रुपमा नियन्त्रणमा लिनुपर्दछ । सल्लाको जंगल, गाउँवस्तीको छेउ, भीरालो भूआकृति भएको क्षेत्र डढेलोको दृष्टिले बढी संवेदनशील हुन्छन् । जिल्लाका सबै गा.वि.स. वा स्थानीय तहलाई आधार मानी जिल्लाका भूभागहरुलाई वन डढेलोको संवेदनशीलताका आधारमा वर्गीकरण गरी आवश्यक तयारीका साथ रहनुपर्दछ । हिउँदमा पानी परेको छैन वा अति कम हिउँदे वर्षा भएको छ भने उक्त सालमा वन डढेलोको अत्यधिक जोखिम रहने हुँदा सामुदायिक, कवुलियती, साझेदारी, धार्मिक तथा संरक्षित वन व्यवस्थापनका सरोकारवालाहरु र संरक्षित क्षेत्र व्यवस्थापन गर्ने निकुञ्ज र आरक्ष कार्यालयहरुले हिउँद लागेदेखि नै वन क्षेत्रमा प्रज्वलनशील पदार्थ हटाउने अभियान चलाउनुपर्दछ । अग्निरेखा नियमित सरसफाइ गर्ने कार्य र मुख्य मुख्य गौँडाहरुमा पानीको पोखरी बनाई पानीको आपूर्ति कायम गर्नुपर्दछ । मोटर पुग्ने स्थानमा स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिकासँग समन्वय गरी दमकलहरुलाई तयारी अवस्थामा राख्नुपर्दछ । डढेलो निभाउन जाँदा तालीम प्राप्त व्यक्ति सम्पूर्ण औजारको व्यवस्था गरेर मात्र जानुपर्दछ । डढेलोलाई जहिले पनि अगाडिबाट नियन्त्रणमा लिने प्रयास गर्नुपर्दछ । 

हुन त वनमा भएका कृत्रिम वा प्राकृतिक संरचनाहरुले पनि डढेलो फैलिन नदिने रक्षात्मक रेखाको काम गर्दछन् । वनपथ, खोला, अग्निरेखा, सडक आदिले अग्निरेखाको काम गर्दछन् । यसले एकातिरको आगो अर्कोतिर पुग्नबाट रोक्दछ । अतः बेलैमा त्यसलाई सरसफाइ गर्ने गर्नाले डढेलोको जोखिम न्यूनीकरण हुनजान्छ । वन डढेलो त्रिभुजको अध्ययन गर्दा हामीले हावालाई हटाउन नसक्ने देखिन्छ । तर आगोलाई नियन्त्रण र सीमामा राख्न सकिन्छ । त्यस्तै प्रज्वलनशील पदार्थ र इन्धनजन्य सामग्रीहरुलाई हिउँदमा वन व्यवस्थापन र संवर्धनका कृयाकलापहरु संचालनका क्रममा हटाइदिन सकिन्छ । यसो गरेमा वन डढेलोलाई निषेध गर्न सकिन्छ । तर लागिहालेमा सरोकारवालाहरु जस्तै वन निकाय, प्रशासन, सुरक्षा निकायहरु, वन उपभोक्ता, डढेलो नियन्त्रण संजालका तालीमप्राप्त दस्ताहरु मिलेर निभाउन जानुपर्दछ । यस्तो बेलामा आगोले टपक्क नटिप्ने विशेष खालको पोशाक, प्रशस्त औषधि, पानी आदिको व्यवस्था गरेर मात्र जानुपर्दछ । 

यसो त वन डढेलो फाइदाजनक र बेफाइदाजनक दुबै भूमिकामा देखिरहँदा बुझ्नुपर्ने कुरा के छ भने, वन डढेलोको फाइदाभन्दा बेफाइदा धेरै गुणा बढी छ । उखानै छ, घर डढाए खरानीको के दुःख ? अतः खरानीको लागि घर डढाउने कि घर जोगाउन आगोको जतन गरी वन डढेलो लाग्न नदिने भन्ने कुरामा कोही पनि कत्ति पनि दोधारमा पर्नुहुँदैन । यो धारणा भित्री मनबाट पैदा भएमा मात्र हामी हाम्रा अमूल्य वन सम्पदालाई खरानी हुनबाट बचाउन सक्छौं जुन कि हाम्रो आफ्नै जीवनको रक्षा गर्नु सरह हो । 


प्रतिकृयाको लागि : tankanarayanshrestha2000@gmail.com 



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157357 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top