Hetauda Online - शासन र सत्तामा महिलाको अवस्था
The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

शासन र सत्तामा महिलाको अवस्था


विचार/दृष्टिकोण 8 पटक पढिएको नानीमैया विष्ट २०७४ बैशाख २३ शनिवार


शासन र सत्तामा महिलाको अवस्था


हेटौंडा अनलाईन महिलामाथि विभेद र अन्याय हुने क्षेत्रको रूपमा परिचित दक्षिण एशियामा राजनीति, सत्ता र शक्तिमा महिलाहरुको पहुँच बढ्दै गएको देखिएको छ ।

विश्वका निकै विकसित र सभ्य मुलुकहरु जो समानता र अधिकारका बारेमा आफूहरुलाई निकै अगाडी रहेको दावी गर्छन्, उनीहरुलाई नै विश्वकै प्रथम महिला प्रधानमन्त्री दक्षिण एसियाले जन्माएर देखाइदियो । सरसरती  हेर्दा शासन र सत्तामा महिलाको अवस्था दक्षिण एसियामै एउटा नमूनाको रुपमा विकास भइरहेको छ, यो विश्वका समानतावादी महिला र पुरुष दुबैको निम्ति खुसीको कुरा हो । 

जानकारीमा भएसम्म विश्वमा विभिन्न कालखण्डमा सत्ता र शक्तिको नेतृत्व गर्न सफल महिलाहरुलाई यहाँ उदाहरणको निम्ति प्रस्तुत गर्दा उपयुक्त होला 

-दक्षिण एसियाको मात्र होइन विश्वकै प्रथम महिला प्रधानमन्त्री २१ जुलाई सन् १९६० मा श्रीलंकाकी सिरिमाभो बन्दरनायके भइन् जसले विश्वकै महिलाहरुले शिखरमा डटेर अगाडी बढ्न हौसला दियो ।

-भारतको प्रधानमन्त्री भएर इन्दिरा गान्धीले आफ्नो देशको मात्र होइन संसारभरमा नै आफ्नो बलियो छाप छाडिन् । त्यतिमात्र होइन आफ्नो पिता जवाहरलाल नेहरुले भारतको शिक्षा, स्वाथ्य र विज्ञानको क्षेत्रमा देखेको सपनाहरु पूरा गरिन् । जसको बदलामा उनले ज्यानको बलिदानी दिनुप¥यो । 

-मुसलमानको बाहुल्य रहेको पाकिस्तानले बेनजीर भुट्टो प्रधानमन्त्रीको रुपमा जन्मायो । जसले आक्रमणमा परी ज्यान गुमाउनुप¥यो ।

-त्यस्तै दक्षिण एसियाकै बङ्गलादेशले शेख हसिना वाजेद प्रधानमन्त्रीको रुपमा जन्मायो । जहाँ अहिलेसम्म प्रधानमन्त्रीकै रुपमा काम गरिरहेकी छन् । त्यसो त उनको प्रमुख विपक्षमा समेत महिलाकै नेतृत्व चलिरहेको छ ।

-दक्षिण एसिया भन्दा बाहिर जाने हो भने बेलायतमा आइरनलेडी मार्गरेट थ्याचर्ड सन् १९७९ मा प्रधानमन्त्री बनिन् । उनले एक दशक भन्दा लामो समय कुशल शासकको रुपमा काम गरिन् । त्यसपछि बेलायतले महिलाको नेतृत्व पाउन सकेको रेकर्ड छैन ।

-बिसौ शताब्दीतिर स्वीजरल्याण्डले महिला राष्ट्रपति पायो । 

-दक्षिण कोरियामा २०१२ मा हान मियोङ्ग सुक प्रथम प्रधानमन्त्री बनिन् । 

-२०१३ मा  पार्क गेयुन ही कोरियाकी पहिलो महिला राष्ट्रपति निर्वाचित भइन् ।

-थाइल्याण्डले २०१२ मा प्रथम महिला प्रधानमन्त्रीका रूपमा इङ्गलुक सिनावात्रालाई पायो ।

-भारतमा सोनिया गान्धीले पनि विश्व राजनीतिक मञ्चमा आफ्नो छाप छाडिन् । 

-सन् २०१५ मा नेपालले प्रथम महिला राष्ट्रपतिका रूपमा विद्या भण्डारीलाई पाएको छ  भने पहिलो महिला सभामुखमा ओनसरी घर्तीमगरलाई पायो । 

यसरी दक्षिण एशियाको नीतिनिर्माणको उच्च तहमा धमाधम महिलाहरू पुग्नथालेबाट संसारभर यस क्षेत्रतर्फ सकारात्मक सन्देश पुगेको छ । दक्षिण एशियाको राजनीतिमा महिलाहरूको प्रभावशाली उपस्थिति संसारकै लागि उदाहरणीय हो भन्दा फरक पर्दैन । विश्वको शक्तिशाली देशहरुले महिला नेतृत्वहरु जन्माउन सकेका छैनन् । संसारका विकसित र शक्तिशाली देशहरूको तुलनामा दक्षिण एशियामा सत्ताको उच्च पदमा महिलाहरू पुग्न सक्नु निकै खुसीको कुरा मात्र होइन उदाहरणीय काम र प्रेरणाको स्रोत पनि हो ।

त्यसो त मकवानपुरको सन्दर्भमा पनि आशालाग्दो अवस्था छ । देशकै ठूला दलहरु मध्ये नेपाली कांग्रेसबाट राजनीति गर्नेले मन्त्री बन्ने अवसर पाएका छन् । नेकपा एमाले मकवानपुरको मुल नेतृत्व र सहिसचिव महिलाले सम्महालिरहेका छन् । त्यसैगरी एनेकपा (माओवादी) को कोषाध्यक्ष, नेकपा माओवादी (क्रान्तिकारी)को सेक्रेटरी, संघीय समाजवादी फोरमको उपाध्यक्ष, राप्रपाको पनि कोषाध्यक्ष महिला रहेका छन् । यी राजनीतिक दलनिकट विभिन्न पेशागत तथा जातीय संगठनहरुको पनि कतिपय महिलाले नै नेतृत्व गरिरहेका छन् । यसैगरी महिला संगठनहरु पनि सशक्त नै देखिएका छन् । महिलासँग सम्बन्धित मात्र होइन अन्य संघ संस्थालाई समेत कतिपय महिलाहरुले आफ्नो नेतृत्वमा सफलतापूर्वक संचालन गरिरहेका छन् । ग्रामीण महिलाको आर्थिक आधार बन्दै गएको सहकारीहरु पनि महिलाहरुले नै नेतृत्व गरिरहेका छन् । यो मकवानपुरको निम्ति राम्रो मात्र होइन आशालाग्दो स्थिति हो । लामो समयदेखि स्थानीय निर्वाचन नहुँदा तल्लो तहबाट महिलाहरुको नेतृत्व विकासमा बाधा पुगेको छ । आगामी दिनहरुमा सबै क्षेत्र, तहमा महिलाहरुको सशक्त उपस्थिति रहने कुरामा शंका छैन ।     

घरको चुलो, चौका, बालबच्चा, रोजगारीको जिम्मेवारी मात्र होइन गर्भदेखि नै छोरी हो भन्ने थाहापाएदेखि विभेदको शिकार हुनुपर्ने स्थितिको बाबजुत पनि नेपाली महिलाहरु गणतन्त्रपछि राष्ट्रकै उच्च तहको जिम्मेवारी अनि सामाजिक र आर्थिक क्षेत्रमा दायित्वबोधका साथ आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । यो पूर्ण उपलब्धी नभएपनि सफलताको बाटोतर्फ लम्किएको संकेत हो । गणतन्त्रपछिको उपलब्धीले मेहनत, लगाव र तपस्या गरे कुनैपनि महिलालाई सामाजिक विभेद र रूढीवादीहरूको अवरोधले राज्यको उच्च तहसम्म पुग्नबाट छेक्ने रहेनछ भन्ने सकरात्मक सन्देश महिलामाझ पु¥याएको छ । नीतिनिर्माण तहमा महिलालाई पुग्न धेरै छेकबार छन् । घर, समाज र राज्यको तहबाटै निरूत्साहित गर्ने पितृसत्तात्मक शैली व्याप्त छ । राजनीति र प्रशासनिक क्षेत्र महिलामैत्री नरहेपनि कुनै महिला ती क्षेत्रको शिखरमा पुग्छिन् भने सामान्य उपलब्धि होइन । घरपरिवारमा अझै पनि महिलालाई राजनीतिमा लाग्न प्रेरित गर्नेहरु ज्यादै न्युन होलान् । चुलोचौकाभन्दा माथि उठ्ने महिलालाई समाजमा पाइलैपिच्छे औंला ठड्याउनेहरुको कमी छैन । पुरूषहरूको बहुमत रहेको राजनीतिक वृत्तमा तिनीहरूबाटै विभेदको शिकार हुनुपर्छ । नेतृत्वमा महिला भएपनि नीतिनिर्माणका अन्य तहमा पुरूषबाहुल्य छ । सबैभन्दा ठूलो समस्या भनेको पितृसत्तात्मक सोच र संस्कारले परिवर्तन र विकासको गतिमाथि पारेको अवरोध नै हो । त्यतिमात्र होइन महिलाहरु आर्थिक रुपमा सक्षम र सवल नहुनुले पनि अहिलेको परिस्थितिमा अघि बढ्न नसक्नु अर्को मुख्य कारण हो । अबको दिनमा महिलाले आर्थिक र राजनीतिक पक्षलाई विकास गर्दै राजनीतिमा सहभागिता निरन्तरता र परिवर्तनमा आधारित हुनुपर्छ । महिलाहरूको राजनीतिलगायत नीतिनिर्माणका अन्य तहमा संख्यात्मक र गुणात्मक रूपमा बढ्दो वेगलाई कसैले छेकबार हाल्न सक्दैन भन्ने कुरा प्रष्ट भइसकेको छ । 





कमेन्टसहरु





12747723 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top