Hetauda Online - ५० प्रतिशतभन्दा बढी मतदान, एउटा केन्द्रमा स्थगित
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

५० प्रतिशतभन्दा बढी मतदान, एउटा केन्द्रमा स्थगित


राष्ट्रिय समाचार 4 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख ३१ आइतवार


५० प्रतिशतभन्दा बढी मतदान, एउटा केन्द्रमा स्थगित


हेटौंडा अनलाईन स्थानीय तहको पहिलो चरणको चुनावअन्तर्गत आज तीन प्रदेशका ३४ जिल्लामा मतदान भइरहेको छ । २८३ स्थानीय तहमा भइरहेको मतदानअन्तर्गत दिउँसो दुई बजेसम्ममा ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार सबैभन्दा बढी तनहुँमा ६० प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम मकवानपुरमा ४५ प्रतिशत मतदान भएको छ । गोरखामा ५५ प्रतिशत, जाजरकोटमा ४७ प्रतिशत, कास्कीमा ५५ प्रतिशत, रुकुममा ५५ प्रतिशत मतदान सम्पन्न भएको छ । काभ्रेको नमोबुद्धको एउटा मतदान केन्द्रमा मतदान कार्यक्रम स्थगित भएको र अर्को कार्यक्रम तय गरिने शर्माले जानकारी दिए ।

कहाँ कति प्रतिशत मतदान भयो ?

स्थानीय तहको निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरुले पनि मतदान गरिसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन, एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ, नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं र राप्रपाका अध्यक्ष कमल थापाले हेटौंडाबाट मतदान गरेका छन् ।प्रधानमन्त्री दाहालले चितवनको भरतपुर महानगरपालिकामा मतदान गरेका हुन् । भरतपुर महानगरपालिका ४ नम्बर वडाको लक्ष्मी माध्यमिक विद्यालयमा रहेको केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । भरतपुर महानगरमा दाहाल पुत्री रेणु दाहाल मेयरकी उमेदवार छन्, जहाँ नेपाली कांग्रेसले पनि उनलाई समर्थन गरेको छ । मतदान सकेर बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले जनताको सहभागिता अपेक्षा गरेको भन्दा बढी पाइएको बताए । उनले जनतामा व्यापक उत्साह बढेको भन्दै कांग्रेससँगको तालमेल पनि स्वभाविक भएको बताए ।नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले तनहुँको सत्यवती माविबाट मतदान गरेका छन् । उनले मतदानपछि पत्रकारसँग कुरा गर्दै स्थानीय सरकारको सपना साकार हुन लागेको बताए । उनले यो निर्वाचनको ऐतिहासिक क्षण भएको पनि बताए । राप्रपा अध्यक्ष थापाले हेटौंडाको बालज्योति मावीबाट मतदान गरेका छन् । एमाले नेता भट्टराईले काठमाडौंको डिल्लीबजार कन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

शान्तिपूर्ण र उत्साहजनक तवरले मतदान जारी 

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य जारी छ ।  २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान भइरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी), निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत, आयोगबाट खटिएका अनुगमनकर्ताले आयोगलाई दिएको जानकारीअनुसार मतदान कार्य उत्साहजनकरुपमा जारी छ । ज्येष्ठ नागरिक, महिला, अशक्तहरुसमेत बिहानैबाट मतदान कार्यमा उत्साहपूर्वक सहभागी भएका छन् । आयोगलाई प्राप्त जानकारीअनुसार, गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १० चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेका छन् ।

मतदान सकिएलगत्तै मतगणना निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना सुरु हुने जनाएको छ । 

“राजनीतिक दलहरुको अनुकुलतामा मतगणना गरिनेछ,” निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले बाह्रखरीसँग कुरा गर्दै भने, “मतदानस्थलबाट मतगणनास्थलसम्म मतपत्र लैजान सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।”




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु





12746738 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top