Hetauda Online - संविधान संशोधनको नयाँ प्रस्तावमा मधेसी मोर्चासँग छलफल
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

संविधान संशोधनको नयाँ प्रस्तावमा मधेसी मोर्चासँग छलफल


राष्ट्रिय समाचार 17 पटक पढिएको हेटौडा अनलाईन खबर २०७३ चैत्र २८ सोमबार


संविधान संशोधनको नयाँ प्रस्तावमा मधेसी मोर्चासँग छलफल


चैत्र २८, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको परिमार्जित विधेयकमा मधेसी मोर्चाका नेताहरूसँग एक्लाएक्लै छलफल गरेका छन्। मधेसी मोर्चाले उठाउँदै आएका असन्तुष्टि सम्बोधन गर्न संयुक्त कार्यदलले तयार पारेको प्रस्ताव समेटेर परिमार्जित विधेयक मस्यौदा गरिएको हो।

कानुन मन्त्रालयले तयार पारेको उक्त परिमार्जित विधेयकमा आइतबार प्रधानमन्त्री दाहालले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमसपाका अध्यक्ष महेन्द्र राय यादव र तमलोपाका नेता सर्वेन्द्रनाथ सुक्लासँग बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका हुन्।

सद्भावना अध्यक्ष महतोले भने मस्यौदाको अन्तिम रूप हेरेपछि मात्र मोर्चाको सहमति वा असहमतिबारे स्पष्ट धारणा दिन सकिने बताएका छन्। ‘प्रधानमन्त्रीज्यूले संशोधन प्रस्ताव तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ। भोलि (सोमबार) फेरि वार्ता हुन्छ,’ प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि महतोले सेतोपाटीसँग भने।

‘सोमबार दिउँसोसम्म मस्यौदा टुंगो लगाएपछि सोमबार ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट प्रस्ताव पारित गर्ने सरकारको तयारी रहेको बुझिन्छ,’ महतोले भने।

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरीयता विवाद टुंगो लागेपछि आइतबार बस्ने भनिएको मन्त्रिपरिषद बैठकमै यो प्रस्ताव अघि बढाउने तयारी थियो। मधेसी मोर्चाका नेताहरूसँग छलफलको समय अभावले मन्त्रिपरिषद बैठक सोमबारका लागि सारिएको छ।

मोर्चाका नेताहरूसँगको छलफलमा सहमति भए सोमबारकै बैठकबाट संविधानका पाँचवटा विषयमा संशोधन प्रस्ताव पारित गर्ने सरकारको तयारी छ। त्यसपछि सरकारले यसअघि संसदमा दर्ता गरेको संविधान संशोधनको दोस्रो संशोधन विधेयक फिर्ता लिने निर्णय गर्ने छ।

प्रदेश सीमांकन, भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा परिमार्जन गर्न सरकारले गत मंसिर दोस्रो साता संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको थियो।

खासगरी पाँच नम्बर प्रदेशको सीमा फेरबदल गर्ने सरकारको प्रस्तावमाथि प्रमुख विपक्षी एमालेले चर्को विरोध गरेपछि पछिल्लो समय एमालेलाई पनि सहमतिमा लिन बीचको बाटो अपनाउँदै सीमांकनको विषय संघीय आयोगमार्फत टुंग्याउने प्रस्ताव दाहालले गरेका थिए।

त्यस अतिरिक्त सरकारले मोर्चासँगको सहमतिका आधारमा भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय संशोधनका साथै धारा ८६ को २ र धारा २७४ मा परिमार्जन गर्ने प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको छ। 
धारा ८६ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हालको व्यवस्थाअनुसार नगर र गाउँपालिका प्रमुख तथा उपप्रमुखको मताधिकार हटाउने प्रस्ताव अगाडि सारिएको छ।

प्रदेश सीमांकन हेरफेर गर्न गठित संघीय आयोगको कार्यविधि बलियो बनाउन धारा २७४ को प्रावधान संशोधन गरी प्रदेशसभा गठन नभएसम्मको अवधिमा सीमांकन हेरफेरको अधिकार संघीय संसदले नै गर्न सक्ने व्यवस्था राख्ने वा यसलाई संक्रमणकालीन व्यवस्थामा राख्ने भन्ने छलफल भइरहेको छ।

सरकारले अगाडि सारेको यो प्रस्तावअनुसार सीमांकन हेरफेरमा अहिलेको व्यवस्थामा उल्लिखित प्रदेशसभाको अनुमोदन लिने बाध्यकारी प्रावधान हट्ने छ।

सरकारसँगको वार्ताका क्रममा स्थानीय तहको निर्वाचनमा सहभागी हुन मोर्चाले संविधान संशोधनको माग गर्दै आएको छ। सरकारले तयार पारेको प्रस्तावमा एमालेको समर्थन हुने–नहुने टुंगो नलागे पनि सरकार र मोर्चाले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन छोटो प्रक्रियाबाट संशोधन प्रस्ताव टुंगो लगाउने तयारी गरिरहेको छ।

मोर्चाले यसका अतिरिक्त तराई मधेसमा जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या बढाउन माग गर्दै आएको छ। यसमा सरकारले सकरात्मक संकेत दिइसकेको छ। दुई र पाँच नम्बर प्रदेशमा यसरी स्थानीय तहको संख्या थप गर्दा वैशाख ३१ गते नै निर्वाचन गर्न कठिनाइ हुने सम्भावनालाई ध्यान दिएर सरकारले दुई चरणमा निर्वाचन गराउनेबारे पनि दल र निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ। 

स्रोत: सेतोपाटि डट कम 





कमेन्टसहरु



ताजा समाचार



12629520 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top