Hetauda Online - महिला सशक्तिकरणका कुरा
The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

पत्रकारितामा अर्थको अर्थ


विचार/दृष्टिकोण पटक पढिएको


पत्रकारितामा अर्थको अर्थ

आषाढ २३ शुक्रवार, हेटौंडा । नेपाली पत्रकारिताको आयतन अहिले निकै बढेको छ । बहुआयामिक भएको छ । गुणस्तरमा अपेक्षित स्तर कायम हुन त सकेको छैन तर समय सापेक्षरुपमा पत्रकारिताको स्पिरिटलाई कुनै न कुनै रुपमा पक्रेको छ । प्रशस्त बिकृति छन् । राजनीतिक पार्टीको लाचार छायाँ नै छ । तर, माया बैगुनी नभइ नहुने भनेर्झै यसको उपादेयतालाई इन्कार गर्न सकिन्न ।

जहाँसम्म नेपाली पत्रकारितामा आर्थिक पक्षको सवाल छ त्यो तरल छ । पत्रकारहरुको आर्थिक पक्षको वा वैतनिक अवस्थाका सन्दर्भमा अत्यन्तै थोरै पारिश्रमिकमा काम गर्नु पर्ने, सरकारी मापदण्डको हिसाबले पियनको तलवभन्दा पनि थोरैमा काम गर्नु पर्ने बाध्यता छ अधिकांश पत्रकारहरुलाई । अनौठो कुरा त पत्रकारहरुको न्यूनतम् पारिश्रमिक निर्धारण गर्ने समिति वा आयोगले पनि त्यो परिधि नाघ्न सकेको छैन । पत्रकार नै समितिको सदस्य हुँदासमेत न्युनतम् वेतन, पियनको जति पनि प्रस्ताव गरेको देखिन्न ।

पत्रकारहरुको वेतन वा उसले पाउने पारिश्रमिकलाई तलबाट हेर्दा जुन प्रकारको दयनीय जस्तो अवस्था देखिन्छ, माथिबाट तुलना गर्ने ठाउँ पनि छ । एउटा पत्रकार जहाँ वा जुन सञ्चारगृहमा नियुक्त भएको हुन्छ, उसले त्यस सञ्चारगृहको कामको जिम्मा लिएको हुन्छ । उसले समाचार संकलन गरेको हुन्छ, समाचारको सन्तुलन मिलाएको हुन्छ, टाइप गरेको हुन्छ, सम्पादन गरेको हुन्छ । त्यति काम गरेर पनि उसको समय बचेको हुन्छ । पहिलो कुरो त कुशल पत्रकार एउटैमात्र सञ्चार गृहमा भर परेको हुन्न । उसले अन्य सञ्चार गृहमा समेत समाचार सम्प्रेषण गरेको हुन्छ वा सम्वाददाता बनेको हुन्छ । त्यताबाट पनि पारिश्रमिक पाएको हुन्छ । उसले कतै स्कूल वा क्याम्पसमा आंशिक रुपमा अध्यापन गरेको हुन्छ । उसको कुशलता त्यत्ति काममा सकिन्न वा त्यति कामले पुगेको हुन्न । उसले अंग्रेजी भाषामा दख्खल राखेको भएमा भाषागत सेवा दिने पेसाका अरु काम गरेको हुन्छ, कम्प्युटरको दक्षताले भ्याएका अनेक तथ्थांक, रिपोर्ट वा अन्य काम गरेको हुन्छ । कुशल पत्रकारले उसलाई तोकिएको सञ्चारगृहको काम सकेर तमाम काम गरेको हुन्छ । ठीक यसैको उल्टो, कुनै पत्रकारको तोकिएको कामको दक्षता बाहेक अरु दक्षता हुन्न, अन्यत्र गएर गर्ने काम पनि हुन्न । एउटा काम जे उसले जानेको छ त्यही मात्र गर्छ । कति काम त यस्ता हुन्छन् जो अन्यत्र मेल खान्नन् ।

पत्रकारको अवस्था जान्न हामीले पत्रकार र पत्रकारितालाई यसरी मात्र मुलयांकन गरेर पुग्दैन । कुनै काम वा पद यस्ता हुन्छन्, अमुक सञ्चारगृहबाट फुर्सद नै मिल्दैन । उसले जानेको काम, गर्न सक्ने काम हुँदाहुँदै पनि उ त्यसै सञ्चारगृहमा ब्यस्त रहनु पर्ने हुन्छ । कुरो यसो पनि उठ्ला, त्यस्ता कुशल पत्रकारहरुको तलव पनि त राम्रै छ । त्यस्तो राम्रो तलव भएका संस्था कति होलान् ? र, कतिजना पत्रकार होलान् ? ब्यवस्थापक वा प्रशासकहरुको कुरो बेग्लै हो तर पनि उनीहहरुको वेतन सबै ठाउँमा प्रयाप्त छ भन्न सकिन्न । अथवा यस्तो पनि हुनसक्छ, त्यस्ता कुशल तथा अलराउण्डर पत्रकारहरु कति होलान् । अलराउण्डर पत्रकार जसले तोकिएको सञ्चारगृह बाहेक अन्यत्र काम गरेर कमाउन सक्छन्, पत्रकारिताको आचारसंहिताभित्र वा पत्रकारको भूमिकाभित्र कति कुरा पर्लान् वा नपर्लान् ? यतातिर पनि ध्यान दिन जरुरी हुन्छ ।

हुन त पत्रकारिताको आवरणमा अरु धेरै प्रकारका काम गरेका, खास गरेर ब्यवसायिक काम गरेका पत्रकारको संख्या पनि कम छैन । वैतनिक पत्रकारहरुको सन्दर्भमा मात्र यो कुरा आएको हो, यसलाई श्रमजीवी पत्रकार पनि भनिन्छ । अवैतनिक, आँशिक तथा स्वतन्त्र रुपले कलम चलाउनेहरुको कुरा अलि बेग्लै छ । त्यस्तो पत्रकारिता गर्नेहरुमध्ये कसैको आयस्रोत अन्य भुमिकामा पनि हुनसक्छ । त्यो भुमिका पत्रकारिताको धर्ममा परेको हुन्न । अपवादको रुपमा कसैको पत्रकारिताबाटै चञ्चलाश्री पनि भएको होला, अपवादलाई उदाहरण बनाउन हुँदैन भन्ने लाग्छ । ती सबै कुराको समीक्षा गरेर हेर्दा पनि पत्रकार वा पत्रकारिता पेसा नितान्त निर्वाहुखि देखिन्छ । एउटा पत्रकार, उसको हैसियत बमोजिम बाँच्नको निमित्त उसले पत्रकारिताको चौकिल्ला तोड्नु पर्ने अवस्था छ । यदि त्यस्तो चौकिल्ला तोड्न सकेनभने सकुशल बाँच्ने आधार नभएर निरीह बन्नु पर्छ । एउटा पान पसले पान बेचेर मात्रै गुजारा चलाउन सक्ला तर एकाध अपवाद बाहेक पत्रकारले पत्रकारिता मात्र गरेर गुजारा चलाउने स्थिति नेपालमा बनेको छैन ।

पत्रकार अर्थात सञ्चारकर्मीहरुको कुरा गर्दैगर्दा सञ्चारगृहको कुरा पनि संगै जोड्नु पर्ने हुन्छ । खास गरेर मोफसलमा सञ्चारगृहहरु कसरी चलेका होलान् ? यस्तो जिज्ञासा उत्पन्न हुन्छ । छापातिर पत्रिकाको तोकिएको मुल्य अनुसार छापिएका सबै पत्रिका बिक्री हुँदा पनि कागज र छपाईको रकम उठ्ने अवस्था देखिन्न । पत्रिका बिक्री नै नहुने, बिक्री भएका वा ग्राहक बनेका भनिएका रकम पनि सबै नउठ्ने समस्या छँदै छ । छापा वा विद्युतीय सञ्चारको आम्दानीको प्रमुख स्रोत भनेको बिज्ञापन नै हो । सोझो औंलाले खोजेको बिज्ञापनले सञ्चारगृहको खर्च धान्ने अवस्था छैन । बाङ्गो औंलाले खोजेको बिज्ञापन, बिज्ञापनको मापदण्डमा वा मर्यादामा पर्छ वा पर्दैन, सोंचनीय छ ।

सञ्चार माध्यम वा सञ्चारगृहको बिज्ञापनको बजार भनेको कतिपय लाभको उद्येश्य भएका कार्यालय वा प्रतिष्ठान, सरकारी सूचना, ब्यावसायिक प्रतिष्ठान तथा ब्यापारिक प्रतिष्ठान हुन् । उनीहरुको बिज्ञापनलाई भनेर दिने बजेट कति होला ? तोकिएको बजेटबाट सबै सञ्चारगृहहरुलाई दामासाहीले वा आलोपालो गरेर बिज्ञापन दिनु एउटा तरिका हो, यस्तो गरेको पाइन्छ । त्यसमा पनि कसैका आ–आफ्नो सम्बन्ध वा पहुँच भएका सञ्चारगृहरु तथा कर्मचारीहरु पनि हुन्छन् । त्यसो हुनाले सबै सञ्चारगृहले बजारका सबै बिज्ञापनमा दामासाहीले नै पनि पाउँने आधार छैन । कहिले त फलानो सञ्चारलाई बिज्ञापन दिन हुने हामीलाई किन नदिने ? यस्तो प्रश्न उठ्ने गरेको पाइन्छ । अर्को समस्या छापा पत्रिका, एफएमहरु, टेलिभिजनहरु र अहिले अनलाइन पत्रिकासमेत दिनानुदिन बढेको अवस्था छ । यता बिज्ञापनदाताको संख्या बढेपनि कमाउने स्रोत बढेको होला भन्ने लाग्दैन । यसो पनि भनुँ, एक नम्बरको धन्दा वा कारोबार गर्ने ब्यवसायीहरुको आम्दानीले सञ्चारगृहहरुलाई पाल्न सक्ने अवस्था देखिन्न । यहाँ किन यसो भन्नु परेको होभने कति कतिपय ब्यवसायीहरु जसले पुरै बिक्रीको भ्याट तिर्दैनन् । भ्याट तिर्न नपर्ने गरेर सामान ल्याउन सफल भएका हुन्छन् । आयातित मालमा पुरै मुल्यको भन्सार तिर्दैनन्, तिर्न नपर्ने चाँजोपाँजो मिलाएका हुन्छन् । यसो पनि भनुँ, ब्यवसायका स्वरुप दुई ,तीन देखि अरु धेरै नम्बरसम्मका हुन्छन् । हामीले विधिको कुरा गर्दा, न त ती कर छल्ने ब्यवसायीको कुरालाई आधार मान्न सक्छौं न त दुई नम्बरी पत्रकारितालाई आधार मान्न सक्छौं । सोझो कुरा गर्दा अझ अहिले देशमा भएको नाकाबन्दी आदिको असहज अवस्थाको कारणले झनै सकस पारेको देखिन्छ ।

मोफसलको राजधानी भनेर मानिएको रुपन्देही, त्यसमा पनि बुटवललाई आधार मानेर हेर्दा सञ्चारगृहको संख्या त यसै बढी छ । त्यसमाथि खर्च बढ्दो अवस्थामा छ । समस्या यहाँनेर छ । यस्तो समस्याका बीचबाट पत्रकारहरुले आम्दानीको आधारमा दामासाहीले र त्यो पनि उधारो तलवखाने अवस्था देखिन्छ । यस्तो पनि अवस्था छ, न्युनतम् वेतन दिएका छौं वा खाएका छौं भन्ने एउटा कागज र यथार्थ अर्कै हुन्छ । भनेपछि पत्रकारहरुको दैनिकी कसरी चलेको होला ?

मैले माथि पनि उल्लेख गरेको छु कि पत्रकारहरु एउटै सञ्चारगृहको मुख ताकेर बसेका हुन्नन् । एकैछिनलाई यो कुरा पनि मानौं । अन्यत्र काम गरेरै ज्यान पाल्नु परेपछि त्यो “अन्यत्र” पत्रकारिताको परिभाषाभित्र त पर्दैन । यस्तो अवस्था जान्दाजान्दै सञ्चारगृहहरु किन बढेका हुन्छन् ? अथवा सञ्चारकर्मीहरु किन पत्रकारितामा आकर्षित हुन्छन् ? यी दुईटै कुरामा आकर्षण के छ ? वा बाध्यता के छ ? यो कुरा रहस्यको गर्भमा छ ।

आकर्षण पनि अचम्मको छ । एउटा सञ्चार उद्यमी उद्यममा असफल हुन्छ तर हार खान्न । अर्को उद्यम खोल्छ । त्यसमा फेल खान्छ । फेरि पनि खोल्छ । त्यहाँ भित्र यस्तो जादू गर्छ, थुप्रै इष्टमित्रलाई बटुल्छ र त्यसैको अगुवाई गर्छ । उ यसलाई कथंकदाचित छोड्दैन । पत्रकारहरुमा पनि त्यस्तै छ । पत्रकारिताबाट फलिफाप भएन, अन्य पेसामा लाग्छु भन्ने हिम्मत हुन्न, बानी बिग्रेको हुन्छ । दुबै पक्षको पत्रकारितामा बानी परेको अवस्था हुन्छ । यस्तो पनि अवस्था थियो पहिले, आज पनि त्यो समस्या हराएको छैन भन्ने लाग्छ – पत्रकारहरु अन्यत्र कार्यालयमा जागिर खान जान मन नपराउने र अन्य संस्था वा कार्यालयले पनि, “अरु भए त ठिकै हुन्थ्यो, पत्रकारलाई त नराखौं भो !” सबैले सुने–भोगेको कुरा हो यो । अन्यत्र कार्यालयका कर्मचारी हुँदा हुँदै पत्रकार भएकाहरु धेरै छन् तर लगभग अवैतनिक छन् । पत्रकार भएपछि अन्यत्र काम पाएकाहरु अत्यन्त थोरै छन् । उनीहरुले भन्ने गर्छन्, पत्रकारहरुलाई वा पत्रकारिता गरेकाहरुका कुरा धान्न गाह्रो हुन्छ । यस्तो किन हुन्छभने, पत्रकारिता गर्दा देखेका बिसंगतिका कुरामा समाचार बनाउने अलिकति नैतिक चरित्र हुन्छ । कुनै कार्यालयमा त्यस कार्यालयको अनुशासनमा बाँधिनु पर्ने हुन्छ । त्यसो भए यो पत्रकारिता पेसा खत्तम हो त ? सञ्चारगृह चलाउनु भनेको अरु खेलो नपाएर हो त ? अवश्य होइन । सञ्चारमा सञ्चारकर्मीको आफ्नै महत्व छ । यसो पनि भनुँ, आजको युग सञ्चारको युग हो र यसलाई राज्यले चौथो अंग भनेर मानेको छ । बिज्ञापनको सवालमा पनि सञ्चार क्षेत्रको बजारमा बिज्ञापन प्रयाप्त पाइन्छ । कुरो एउटै मात्र हो, पत्रकारले सर्वमान्य पत्रकारिता गर्नु प¥यो र सञ्चारगृहले पनि ब्ब्यावसायिक पत्रकारिताका लागि सञ्चारगृह चलाउनु प¥यो । पत्रकारिता एउटै बिषय वा रचनाको खेलो होइन । यसका हाँगाबिँगा धेरै छन् । यसलाई सुन्ने, हेर्ने र पढ्ने रुचिका क्षेत्र धेरै छन्, ज्ञानका क्षेत्र धेरै छन् । मान्छेको उमेर, वर्ग, लिङ्ग तथा भुगोलका क्षेत्र पनि फरक फरक छन् । पत्रकारिता बहुबिधा भएको क्षेत्र हो । हामीमा राजनीतिक लेख, नेताका भाषण तथा दुर्घटनाका समाचार मात्र पत्रकारिता हो भन्ने कुण्ठित मान्यता छ । यस्तो संकुचन पत्रकार र पत्रकारिताले नै गरेको पाइन्छ । कतातिरको पत्रकार हो ? कुन पक्षको पत्रिका हो ? कुन दलको रेडियो वा टेलिभिजन हो ? यस्तो कुरा पत्रकारिताले नै पिलाएको छ । यसो पनि भन्न उपयुक्त होला, नेपालको पत्रकारिता कुन कुन दलहरुको पकडमा छ ? यो कुरा छर्लङ्गै छ । हामी यी र यस्ता कुराबाट मुक्त हुन सक्छौं वा सक्दैनौ ? सकेनौभने हालत त त्यस्तै हो !

पत्रकारिता सेवामुलक पेसा हो । पीडा चपाएर पनि, पीडा निलेर पनि आफ्नो धर्ममा अडिनु पर्छ पत्रकारहरु । यसो हुँदा हुँदै पनि पत्रकारिता जश नपाउने पेसा हो । बिकृतिको बिरुद्धका कलम चलाउँदा अलिकति नकारात्मक कुराबाट प्रस्तुत हुने बानी परेको हुन्छ । फेरि पनि एउटा कुशल पत्रकार देशको कुशल नागरिक हो । सञ्चारगृहलाई कस्तो बनाउने ? कति लोकप्रिय बनाउने ? कति तटस्थ रहने ? सबै कुरा पत्रकारको हातमा हुन्छ, यो उनीहरुको नैतिकतामा भर पर्छ । हामी अलिकति पनि यो नैतिकताबाट बिचलित हुँदा, धर्मराउँदा, आफू त तल परिन्छ नै, सञ्चारगृह समेत तल पर्छन् । सञ्चारगृह तल परेकै कारणले हामीले यस्ता कुरा गरेका हौं ।

पत्रकारले देश हल्लाउन सक्छन्, परिवर्तन ल्याउनमा टेवा पु¥याउन सक्छन् । एउटा समाचारले मान्छे मर्ने र बाँच्ने सम्मको सवाल उत्पन्न हुन्छ । देश बन्ने र बिग्रनेको सवाल उत्पन्न हुन्छ । अलिकति गम खाएर पनि पत्रकार पत्रकार नै रहनु पर्दछ । चौथो अंग त्यसै भनिएको होइन । यस्तो अवस्था आयोभने पत्रकारहरु वा समग्र पत्रकारिता आर्थिक समस्याले मर्दैन । सञ्चारगृहहरु बिज्ञापनको निमित्त तल पर्नु पर्दैन । हण्डी खाने भन्ने थियो पहिले, अब कुनै दलको छातामुनि बसेर हण्डी खानु पनि पर्दैन । 

प्रस्तुत आलेख ४ फागुन २०७२मा पत्रकार महासंघ रूपन्देही शाखाको बार्षिक मुखपत्र मोफसल २०७२ मा प्रकाशित ( पत्रिका बिमोचन ) को साभार अंश हो । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पत्रकारितामा अर्थको अर्थ - 2017-07-07

आषाढ २३ शुक्रवार, हेटौंडा । नेपाली पत्रकारिताको आयतन अहिले निकै बढेको छ । बहुआयामिक भएको छ । गुणस्तरमा अपेक्षित स्तर कायम हुन त सकेको छैन तर समय सापेक्षरुपमा पत्रकारिताको स्पिरिटलाई कुनै न कुनै रुपमा पक्रेको छ । प्रशस्त बिकृति छन् । राजनीतिक पार्टीको लाचार छायाँ नै छ । तर, माया बैगुनी नभइ नहुने भनेर्झै यसको उपादेयतालाई इन्कार गर्न सकिन्न ।

बहसः हेटौडाको विकासमा कोरियाली मोडेल अपनाउन निर्वाचित मेयरलाइ सुझाब - 2017-06-10

जेष्ठ २९ सोमबार, हेटौंडा ।नेपालसँग कुनैबेला समान आयस्तर भएको दक्षिण कोरिया अहिले एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र हरु भित्र पर्दछ । नेपालीको प्रतिव्यक्ति आयभन्दा कोरियाली जनताको आय कैयौं गुणा बढी छ ।

राजनीतिमा मधेशी महिलाको अवस्था - 2017-06-07

जेष्ठ २४ बुधवार, हेटौंडा । विश्वभरि नै राजनीतिमा महिलाको उपस्थिति/सकृयता न्यून रहने गरेको छ । विश्वको सबैभन्दा विकसित भनिने र लैङ्गिक समानताको वकालत गर्ने संयुक्त राज्य अमेरिकामा समेत महिलाहरू राजनीतिमा कम मात्र अगाडि आउने गरेका छन् ।

आरक्षणकोटा अपाङ्गमैत्री बनेन - 2017-05-25

लब्लीप्रसाद शर्माशारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई राज्यका विभिन्न निकायमा समावेश गराउन सरकारले आरक्षणको व्यवस्था गरेको छ । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई थोरै मात्रामा भए पनि जीवन जिउन केही सहज भएको छ । यो एकदमै राम्रो व्यवस्था हो ।

मैले माओबादी केन्द्रलाइ किन चुन्ने - 2017-05-13

हरि प्रसाद खनाल यो संविधानले स्थानिय निकायलाई सिहदरबारमा सिमित रहेका थुप्रै अधिकारहरु जनतालाईनै सुम्पिदैछ तब मात्र जनताले गणतन्त्र को मिठो आभाष पाउनेछन् ।

सन्दर्भ:अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपाली नर्स - 2017-05-12

हेटौंडा अनलाईन आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, नर्सिङ काउन्सिलमा दर्ता भए अनुसार नेपालमा करीब ६० हजार नर्स छन् । तर विदेशिने र भोलेन्टिएरको रुपमा काम गर्ने नर्सको भने रेर्कड नै छैन ।

सन्दर्भ २५६१ औ बुद्ध जन्म जयन्तिको - 2017-05-10

हेटौंडा अनलाईनअसत्यलाई हजार बार सत्य भनिए पनि असत्य,असत्य नै हुन्छ । सत्यलाई हजार बार असत्य भनिए पनि सत्य,सत्य नै हुन्छ ।

बिकाश र निकाशको निम्ति स्थानीय चुनाव - 2017-05-04

हेटौंडा अनलाईनयोग्य व्यक्तिहरूले नै गाउँ सहर देश बनाउने हो । त्यसैले स्थानीय चुनावमा आफ्नो पार्टी, आफ्नो मान्छे मात्र हेर्ने होइन । राम्रो मान्छेलाई आफ्नो भनौ, योग्य, सक्षम राष्ट्र प्रेमी स्वच्छ छवि भएको व्यक्तिलाई आफ्नो मत दिएर विजय गराऔ ।

एकदिन फोटोको तल 'आइ लभ माइ मम' राख्नेहरु - 2017-04-26

हेटौंडा अनलाईन संवाददाताबि.स‌ं. २०४३ सालमा क्यान्सरको कारणले आमा बित्दा म सानै थिए, त्यसैले कहिले पनि यो दिनमा आमालाई भनेर केहि उपहार दिन पाइन र त्यस्तो केहि दिनुपर्छ भन्ने न त् समझ थियो न त् हातमा पैसा ।

अपाङ्गताको आरक्षणमा समस्या - 2017-04-26

हेटौंडा अनलाईन संवाददाताशारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई राज्यका विभिन्न निकायमा समावेश गराउन सरकारले आरक्षणको व्यवस्था गरेको छ । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई थोरै मात्रामा भए पनि जीवन जिउन केही सहज भएको छ ।

1 2 NEXT

लोकप्रिय



12811699 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top