Hetauda Online - जीतपुरसिमराः समृद्ध महानगरका आधारहरु
The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

जीतपुरसिमराः समृद्ध महानगरका आधारहरु


विचार/दृष्टिकोण 21 पटक पढिएको डा. कृष्ण पौडेल २०७४ श्रावन २३ सोमबार


जीतपुरसिमराः समृद्ध महानगरका आधारहरु
श्रावन २३ सोमबार, हेटौंडा । मुलुकका एघार उपमहानगरपालिकाहरुमध्ये जीतपुरसिमरा अवसर र सम्भावनाका हिसावले सर्वाधिक महत्वको उपमहानगर हो । संयोग र सम्भावनाले उपमहानगर बनेको जीतपुरसिमरा उपलव्धि र प्रतिकुलतालाई व्यवस्थापन गर्नसके यहांका अवसर र सम्भावनाहरुले आगामी केही वर्षभित्रै समृद्ध महानगरको आधारशिला खडा गर्न सकिनेछ ।

साविक सिमरा, जीतपुर, डुमरवाना, अमलेखगञ्ज, छातापिप्रा, फत्तेपुर, इनर्वासिरा गाविस सम्पूर्ण रुपले र मनहर्वा, हरैया र रामपुरटोकनीको आंशिक हिस्सा मिलेर यो उपमहानगर बनेको छ । यहांका १ लाख १४ हजार जनता र भावी पुस्ताको भविष्यका लागि सांच्चै एक समुन्नत महानगर बनाउनका लागि करीव ५६ हजारको संख्यामा रहेका मतदाता, शुभेच्छुकहरु र सरोकारवालाहरुले गम्भिरतापूर्वक सोच्नुपर्ने समय आएको छ । यो समृद्ध महानगरको जग हाल्ने समय हो । वीरगञ्ज महानगर, हेटौडा उपमहानगर, कलैया उपमहानगर, निजगढ र कोल्हवी नगरपालिका एवम् परवानीपुरलगायत सम्भावना बोकेका गांउपालिकाको केन्द्रबिन्दु अर्थात हवको रुपमा रहेको उपमहानगर अहिले पनि उनीहरुसंग प्रत्यक्ष अप्रत्यक्ष सम्वन्ध बनाएर समृद्धियात्राका प्रशस्त आधारहरु छन । यो अहिले पनि मध्यतराईको सर्वाधिक महत्वको गन्तव्य हो । दोस्रो अन्तरराष्ट्रिय बिमानस्थलले यसलाई दक्षिण एशियाकै ट्रान्जिट बनाउदैछ भने काठमाण्डौं जोडने द्रुतमार्गले मुलुकको राजधानीसंग तराईको एक रणनीतिक बिन्दु बन्नेछ । वीरगञ्ज पथलैया औद्योगिक करिडोरले यसलाई औद्योगिक क्षेत्रको रुपमा अघि बढाएको छ । विशेष आर्थिक क्षेत्र, पूर्वपश्चिम रेलवे, रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आदि पूर्वाधारले यसको बहुआयामिक विकासको ढोका खोलिरहेको छ ।

दीर्घकालीन रुपमा भन्ने हो भने दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल, द्रुतमार्ग र विशेष आर्थिक क्षेत्रलगायतले यसलाई महानगरको आधार प्रदान गर्नेछ । सीमावर्ती कोल्हवी र निजगढ नगरपालिका र गांउपालिकाका भूगोल र जनसंख्या महानगरका आधार बन्न सक्नेछन । वीरगञ्ज महानगरपालिका बनिसकेको छ, हेटौडासंग पनि महानगर बन्ने आधारहरु विकास हुदैछ । यस्तो अवस्थामा छिमेकी महानगरहरुसंग यसले प्रतिस्पर्धा र सहकार्य गर्ने आधार बन्नेछ । तीनै राष्ट्रिय महत्वका पूर्वाधारहरुबाट सिर्जित स्रोत र पहुंचको कारण वीरगञ्ज र हेटौडा महानगरहरुभन्दा आफुलाई अग्रपंक्तिमा उभ्याउन सक्नेछ । सम्वैधानिक रुपले नै स्थानीय तह बलिया र स्वायत्त संरचनाको रुपमा अघि बढने भएकोले हामीले राष्ट्रिय, अन्तरराष्ट्रिय र विश्वव्यापी रुपमै कनेक्टिभिटी स्थापित गर्न सक्छौं । सूचना, प्रविधि, भाषा र पहुंचको माध्यमबाट हामी संसारका कुनै पनि महानगरसंग सहकार्य गर्न सक्नेछौं । सफल महानगरहरुको उत्तम अभ्यासको अनुशरण र सहकार्यका आधारमा पनि भौतिक र मानव विकास गर्न सक्ने प्रशस्त आधारहरु निर्माण हुनेछन । विकास र समृद्धिलाई तीव्र बनाउन सकिए मध्यतराईमा मेघासिटी बन्ने र त्यसको केन्द्र हुनेछ । 

जीतपुरसिमरा उपमहानगर आफुमात्र होइन, यो मुलुकभरका नवोदित उपमहानगर र नगरहरुको एक बहुआयामिक विकासको सम्भावनाको हिसावले प्रतिनिधि पात्र पनि हो । यहां तराई पनि छ, पहाड पनि छ । पहाडी र मधेशीको मिश्रित सहिष्णु सम्वन्ध र बसोबास छ । मुलुकका विभिन्न भूभागका नागरिकहरुको जमघट छ । छिमेकी मुलुक भारतका नागरिकहरु पनि व्यवसाय र रोजगारीमा संलग्न छन । यसको विशेषता, बुझाई र अनुभव अरुका लागि पनि उदाहरण बन्न सक्छ । राजधानी काठमाण्डौंसंग अत्यन्त नजिक रहेकोले वैकल्पिक राजधानी मात्रै होइन, विकासको सम्भावनालाई यथार्थमा रुपान्तरण गर्नसके अन्तरराष्ट्रिय र क्षेत्रीय तहमै एक रणनीतिक महत्वको स्थान बन्नेछ । सचेत नागरिक छन, गौरवपूर्ण विरासत छ, स्रोतहरु छन, स्थानीयदेखि अन्तरराष्ट्रिय तहमा नै विकासको साझेदारी जोडन सकिनेछ । संकल्प र अठोटसाथ अघि बढदा अनि रणनीतिक योजना र कुशल नेतृत्वकर्ता हुदा बहुआयामिक समृद्धियात्रा उत्साहजनक रुपमा अघि बढनेछ । नेपाल मात्रै होइन, हामी हाम्रै पालामा यसलाई सुव्यवस्थित महानगर बनाउन र भावी पुस्तालाई हस्तान्तरण गर्न सक्नेछौ ।

समृद्ध महानगरका लागि फराकिला चिल्ला बाटोहरु, पुलपुलेसा, ढललगायत पूर्वाधारहरु सिर्जना अनिवार्य शर्त हो । बजारका सहायक बाटाहरु सांघुरा छन । बाटोहरु छिटपुट पिच र स्ल्याब ढलान हुन थालेका छन । त्यसमा पनि गुणस्तरीयता र एकरुपता छैन । सिंगो उपमहानगरलाई दुई घेरामा फराकिलो चक्रपथ बनाउनुपर्दछ । प्रत्येक वडास्तरमा एकरुप र गुणस्तरका पक्कीसडकको व्यवस्था गर्नुपर्दछ । औद्योगिक क्षेत्र र बस्तीको व्यवस्थापन छैन । शहरको वीचमा भएका उद्योगधन्दाहरु जसले प्रदुषण र विभिन्न प्रतिकुलताहरु उत्पादन गरिरहेका छन । प्रदुषण र फोहोर अनि अस्तव्यस्तताको कारण सिमरा बस्नलायक छैन । अव्यवस्थित प्लटिङले उर्वर जमिन क्षय भइरहेको छ भने जग्गाको मूल्य अकाशिएको छ । हामीसंग डुमरवाना, फत्तेपुर, छातापिप्रा, इनर्वासिरामा उर्वर खेतीका फांटहरु छन । अव्यवस्थित प्लटिङ रोक्नुपर्दछ, उद्योगधन्दाहरुलाई बस्तीभन्दा टाढा राखिनुपर्दछ । बस्तीहरुलाई आवश्यक पर्ने सबै सुविधाहरुको स्थानीयकरण गर्नुपर्दछ । जमिनहरु बढदैनन, तिनको व्यवस्थापनमा ध्यान दिनुपर्दछ । सबै अव्यवस्थित जग्गाहरुलाई व्यवस्थित गरी स्थानीयवासीलाई जग्गाधनी पुर्जा दिने, सार्वजनिक जमिनहरुको संरक्षण गर्ने र आवश्यक पूर्वाधारहरुको विकासमा ध्यान केन्द्रीत गर्नुपर्दछ । अन्तरराष्ट्रिय बिमानस्थल व्यवस्थापनको क्रममा उठने टांगियाबस्तीको यथोचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । सार्वजनिक जग्गा, नदीनाला र वनको जग्गा अतिक्रमणमा परेका छन । भूमाफियाहरुको चलखेल पूर्णतः नियन्त्रण गर्ने उपायहरु अवलम्वन गर्नुपर्दछ । 

शिक्षा, स्वास्थ्य, रोजगारी अव नागरिकको सम्वैधानिक मौलिक हक हो र यसको सम्पूर्ण व्यवस्थापन स्थानीय तहको कार्यक्षेत्र हो । सबै बालबालिकालाई निःशुल्क र गुणस्तरीय शिक्षा र युवाहरुलाई रोजगारमूलक र व्यवसायिक शिक्षाका लागि आवश्यक संरचना, पद्धति र प्रणाली अघि बढाउनुपर्दछ । कृषि, पशुपालन, स्वास्थ्य, औद्योगिक, निर्माणलगायतको प्राविधिक जनशक्तिको एकातर्फ खडेरी छ भने अर्कोतर्फ हातमा सीप नभएका शिक्षित र अर्धशिक्षित जनशक्तिको चाप छ । खासगरी सामुदायिक, निजी र सहकारीको अवधारणामा प्राविधिक शिक्षालयहरु स्थापना गरेर स्थानीय रुपमा धेरै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ । सार्वजनिक शिक्षाको गुणस्तरीयता वृद्धि र प्रोत्साहन, निजी शिक्षालाई सामुदायिकरण, युवालाई सर्टिफिकेट धितो राखेर स्वरोजगार कर्जा, रोजगारीको प्रत्याभूति र व्यवसायको प्रवद्र्धनमा ध्यान दिनुपर्दछ । विद्युत, खानेपानी, बिमा, वित्तिय कारोवार र सूचनाप्रविधिको घरघरमा सहज पहुंच स्थापित गर्नुपर्दछ । वडास्तरमा प्रँथमिक सेवा, प्रसुतीसेवा, सर्पदंश उपचार व्यवस्थासहित एक न्युनतम पांच शैय्याको स्वास्थ्यकेन्द्र, उपमहानगरस्तरमा न्युनतम पचास शैय्याको सरकारी अस्पतालको व्यवस्था गर्नुपर्दछ ।  प्रत्येक घरमा स्वच्छ खानेपानी, अनिवार्य शौचालय र गार्डेनको व्यवस्था गर्नुपर्दछ । खेलकुदको सन्दर्भमा हरेक वडामा क्लवहरु, सामुदायिक भवनहरु, खेलमैदान, व्यायामशाला अनि उपमहानगरस्तरमा रंगशाला र विभिन्न खेलका लागि आवश्यक हल र सामाग्रीहरुको व्यवस्थापन गर्नुपर्दछ । सिमरामा फुलवल गोल्डकपको निरन्तरता, रंगशालाको पूर्णता र एकाडेमी सञ्चालन अतिआवश्यक बनेको छ । 

हाम्रो सामाजिक एकता र समृद्धिको एक महत्वपूर्ण क्षेत्र सहकारी हो । यो उपमहानगर सहकारीको उर्वर भूमि पनि हो । डुमरवाना, मनहर्वा, इनर्वासिरामा रहेका साना किसान कृषि सहकारी संस्थाहरु, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था, हातेमालो बचत तथा ऋण सहकारी संस्था, समाजसुधार कृषि सहकारी, सिमरा महिला साकोसलगायत सहकारीहरुमा अहिले यसभेगका करीव २० हजार नागरिकहरु, अर्वौको कारोवार, सयौंको रोजगारी र हजारौंको स्वरोजगारी सिर्जना गरिरहेका छन । ती सहकारीहरुले वित्तिय सशक्तिकरण, समावेशीकरण र आयआर्जनका क्रियाकलापहरु समुदायवीच चलाइरहेका छन । उपमहानगरले ती सहकारीहरुसंगको सहकार्यमा समुदायमा गरीवी न्युनीकरण, वित्तिय सशक्तीकरण, आयआर्जन र सानाठुला उद्यम व्यवसाय सञ्चालन गराएर जीवनस्तरमा परिवर्तन ल्याउन सक्छ । विशेषतः कृषिको क्षेत्रमा व्यापक काम सहकारीमार्फत हुन सक्छ । स्थानीय तहले सहकारीमार्फत उद्योग व्यवसाय सञ्चालन गर्न र उत्पादन तथा आर्थिक क्रियाकलापमा जोडन सक्छ । गैरसरकारी संस्थाहरुको माध्यमबाट सामाजिक कार्यमा सहकार्य र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई सामाजिक विकासमा जोडन सकिनेछ । हाम्रो समृद्धि, बहुआयामिक विकास र आयको एक महत्वपूर्ण आधार पर्यटन हो । राष्ट्रिय महत्वको पूर्वाधारहरुको विकाससंगै वीरगञ्ज, गढीमाई, सिम्रौनगढ, पर्सा वन्यजन्तु निकुञ्ज आदि पर्यटनसंग जोडिनेछन । आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याएर यहांका होटल र अन्य व्यवसायहरुको प्रवद्र्धन, रोजगारी सिर्जना गर्न सकिन्छ । 

विकासको परिभाषा पूर्वाधार र सेवाहरु मात्रै होइन, चेतना र सभ्यताको उन्नयन पनि हो । अत्यन्त सचेत र नैतिकतायुक्त समाज विकासवान मानव मानकहरु पनि हुन । उपमहानगरभित्रका सबै बालबालिकाहरुलाई उपयुक्त शैक्षिक वातावरण, युवाहरुलाई सारीरिक सुगठन, योग्यता क्षमता अनुसारको रोजगारी, उद्योग कलकारखानामा सुरक्षित रोजगारी, समाजमा रहेका महिला, दलित, अपांग, सीमान्तीकृत, अल्पसंख्यक र गरीवीको रेखामुनीका समुदायलाई स्थानीय सरकारको अनुभूति हुने गरी अवसरहरुको सिर्जना र त्यसको माध्यमबाट सशक्तीकरण र समावेशीकरणको वातावरण निर्माण गर्न सक्नुपर्दछ । महिलाहरु विशेषतः मधेशी, थारु, दलित, धांगड तथा सीमान्तीकृत समुदायका छोरी बुहारीहरुलाई समाजका हरक्षेत्रमा अग्रभागमा ल्याउनका अवसर र जिम्मेवारीको व्यवस्थापन गर्नुपर्नेछ । मातृशिशु स्याहारलाई थप प्र्रवद्र्धन गर्नुका साथै चेलिबेटी बेचबिखन, महिलाहिंसा, दाइजोलगायत सबै प्रकारका बेथितिहरुलाई शुन्य बनाउनेतर्फ ध्यान पुग्नुपर्दछ । 

आजको युग सूचना प्रविधिको युग हो र अव हामी डिजिटल प्रविधिको चरणमा छौं । वेवसाइट र सामाजिक सञ्जालको प्रवाह यति तीव्र भएको छ, निमेषभरमा सूचनाको प्रवाह र धारणा विकास हुन सक्छ । हातहातमा मोबाइल, घरघरमा वाइफाई र सञ्चारका अन्य माध्यमहरुको विकासले सूचना, विकास र समृद्धिको प्रवाहीकरण तीब्र बनेको छ । उपमहानगर र नागरिकवीच छोटो र जीवन्त सम्पर्क र सहकार्य स्थापित गर्न सकिन्छ । फ्रिवाइफाई, आइटी पार्क र अन्य माध्यमबाट प्रविधिको स्थानीयकरण गर्ने र त्यसमार्फत विकासलाई दीगो र प्रभावकारी बनाउन ध्यान दिन सकिनेछ । उपमहानगरमा प्रत्येक नागरिक परिवारको विवरण अनलाइन राख्ने र उनीहरुलाई विद्युतीय रुपमा जोेडने कार्य गर्न सक्दा काम र विश्वसनियता अभिवृद्धि गर्न सकिनेछ । उपमहानगरका लागि आधारभूत पूर्वाधारहरु बसपार्क, सार्वजनिक शौचालयहरु, ल्याण्डफिल्डसाइड, दमकल, पुस्तकालय, वाचनालय, व्यायामशाला, संग्रहालय, गार्डेनहरुको स्थापना र प्रवद्र्धनमा ध्यान पुग्नुपर्दछ । 

कुनै पनि राज्य र समाजको विकास र समृद्धि भनेको राज्यको मात्रै दायित्व होइन । नागरिक समुदायमा तीव्र विकासको जुन अपेक्षा छ, उनीहरुलाई नै विकासको प्रक्रियामा सामेल गर्न सकेनौं भने सन्तुष्टी, अपनत्व र दीगो हुन सक्दैन । यसमा नागरिकको सहभागिता र अपनत्व पनि अपेक्षित हुन्छ । नागरिक विकासमा सहभागी बन्न चाहन्छ । त्यसको सदुपयोगिता चाहिएको छ, सुशासन र भ्रष्टाचारमुक्त वातावरण निर्माण गर्न सक्ने हो भने विकासका लागि स्रोतको कमी हुदैन । विकास भनेको खर्चमात्रै होइन, लगानीमैत्री पनि हुनुपर्दछ । विकासले समुदायको जीवनस्तरमा कति परिवर्तन ल्याउन सक्छ र त्यसले स्रोतहरुको दीगो विकास गर्न सक्छ की सक्दैन भन्ने कुरामा पनि ध्यान पुग्नुपर्दछ । विकासका लागि आवधिक योजना, कार्यान्वयन, समिक्षा, सामाजिक परीक्षण र प्रभाव मूल्यांकन आदि कुराहरु पनि संगसंगै जोडिएर जानुपर्दछ । विकास, समृद्धि र न्यायका मुद्धाहरु कुनै दल, आस्था र समुदायविशेष भन्दा माथि उठनुपर्दछ । महानगर र मेघासिटी निर्माणका आधारहरुवारे बहश र रणनीतिक योजना अघि बढनुपर्दछ । 





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697604 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top