Hetauda Online - स्थानीय तहको निर्वाचन र नेपाली मतदाताको मनोविज्ञान
The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

स्थानीय तहको निर्वाचन र नेपाली मतदाताको मनोविज्ञान


विचार/दृष्टिकोण 34 पटक पढिएको डा. घनश्याम न्यौपाने परिश्रमी २०७४ श्रावन २४ मंगलवार


स्थानीय तहको निर्वाचन र नेपाली मतदाताको मनोविज्ञान
श्रावन २४ मंगलवार, हेटौंडा । आजको विश्व राजनीतिमा लोकतन्त्रको निकै महत्वपूर्ण स्थान छ । लोकतान्त्रिक शैलीको शासन व्यवस्थामा जनताको मतको भूमिका सर्वोपरि हुन्छ । त्यसैले जनता शक्तिशाली मानिन्छन् । वास्तवमा निर्वाचन लोकतन्त्रको सर्वोत्तम सौन्दर्य हो ।

यसबाट नै जनताले शासनका लागि प्रतिनिधि छनोट गर्ने प्रत्यक्ष अवसर पाएका हुन्छन् । यसरी लोकतन्त्रमा जनमतको उचित कदर गरिन्छ । हाम्रो मुलुक पनि अब संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । दुई शताब्दीभन्दा पनि बढी लामो समयसम्म सत्ताको बागडोर आफ्नो हातमा लिँदै आएको राजतन्त्रको अन्त्य भएको एक दशकभन्दा बढी समय व्यतीत भएको छ । तर मुलुकमा लोकतान्त्रिक गणतन्त्र अहिल्यै परिपक्व भइसकेको अवस्था भने छैन । नयाँ संविधान जारी भइसकेको भए पनि सफल कार्यान्वयनमा अझै पनि  कतिपय जाति, वर्ग, क्षेत्र र समुदायका असन्तुष्टि, विरोध र अवरोधहरू छन् ।

मुलुकमा स्थानीय तह जनप्रतिनिधिरहित अवस्थामा रहेको झन्डै दुई दशक व्यतीत भइसकेको थियो । यस्तो अवस्थामा गाउँ, नगर र जिल्लाको शासन र प्रशासन दुवै कर्मचारीको हातमा गएको थियो । वास्तवमा जनप्रतिनिधिको अभावमा एकातिर स्थानीय तहमा जनताका काम सहज रूपमा हुन सक्दैनथे, कतिपय कामकुरामा उनीहरूले सास्ती खेप्नुपर्दथ्यो भने अर्कातिर विकासको गति पनि सुस्त भएको थियो । अब भने पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण, धाँधलीरहित रूपमा सफलतापूर्वक सम्पन्न भइसकेको छ र निर्वाचित जनप्रतिनिधिहरूले स्थानीय सरकार चलाउन सुरु गरिसकेका छन् भने दुई नम्बर प्रदेशमा बाँकी रहेको आसन्न निर्वाचन आगामी असौज दुई गते हुने कुराको घोषणा भइसकेको छ र निर्वाचन आयोगले त्यसको तयारी पनि गरिसकेको छ । यहाँसम्म कि, अब आगामी माघ महिनाभित्रै प्रदेश र केन्द्रको निर्वाचन समेत सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान छ । यी सबै तहका निर्वाचन सम्पन्न हुनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन हुनु र मुलुकले राजनीतिक रूपमा एक प्रकारको स्थिरता र गति पाउनु हो । यस दिशामा अब मुलुक अगाडि बढिसकेको अवस्था देखिँदै छ ।  नेपाली भूमिमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुनु भनेको अवश्य पनि मुलुकको हित र जनताको कल्याण हुनु हो । वैशाख र जेठमा सम्पन्न भएका दुवै चरणका स्थानीय तहको निर्वाचनमा नेपाली मतदाताहरूको सहभागिता निकै उत्साहजनक रहेको देखियो । यसले राजनीतिक चेतनाका दृष्टिले नेपाली जनता धेरै अगाडि छन् भन्ने कुराको पुष्टि गरेको छ । आशा गरौँ, अब हुने तेस्रो चरणको निर्वाचन पनि निर्बाध रूपमा सम्पन्न हुनेछ ।

भरखरै सम्पन्न भएका स्थानीय तहको निर्वाचनहरूको परिणामबाट के स्पष्ट हुन्छ भने मुलुकमा राजनीतिक रूपले व्यापक परिवर्तन आइसकेको भए पनि मतदाताहरूको सोच र वैचारिक आस्थामा खासै परिवर्तन आएको देखिँदैन । आजभन्दा बीस वर्ष पहिले भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अग्र स्थान प्राप्त गरेको थियो भने यो पटक पनि त्यो गौरवलाई यथावत् रूपमा कायम राख्न सफल भएको छ । यसरी नै सबैभन्दा पुरानो दलका रूपमा प्रतिष्ठित नेपाली काङ्ग्रेस अहिले प्रतिनिधि सभामा पहिलो दलका रूपमा छ तापनि स्थानीय तहको निर्वाचन परिणामले यसलाई दोस्रो ठुलो दलको अवस्थामा पुर्याएको छ । दशवर्षे जनयुद्धपछि बृहत् शान्तिसम्झौताका माध्यमबाट मुलुकमा व्यापक राजनीतिक परिवर्तनको सपना बोकेर जनता माझ आएको तत्कालीन नेकपा माओवादी, –अहिलेको नेकपा माओवादी(केन्द्र)ले भने अपेक्षा गरे अनुरूपको परिणाम हासिल गर्न सकेन । तेस्रो स्थान प्राप्त गरेको भए पनि यो सन्तोषजनक देखिँदैन । यस दलले  पहिलो संविधान सभाको निर्वाचनमा प्रथम स्थान हासिल गरेको भए पनि पछि आफ्नो साखलाई बचाएर राख्न नसक्नुको प्रमुख कारण पार्टीभित्रको गुट उपगुट तथा चार पाँच टुक्रामा भएको फुट नै हो । वस्तुतः मुलुकले आज राजनीतिक रूपमा मात्रै भए पनि जुन आमूल परिवर्तनको काँचुली फेरेको छ त्यसको मूल आधार नेकपा माओवादी हो र नेपाली काङ्ग्रेस र नेकपा एमाले सहयोगी हुन् भन्न हिच्किचाउनु पर्दैन । तर माओवादी केन्द्रले आफ्ना एजेन्डाहरूका बारेमा जनतालाई बुझाउन नसकेको र जनाधार बनाउन नजानेको हुनाले नै जनविश्वास प्राप्त गर्न सकेन, फलतः अपेक्षाअनुसारको जनमत पाउन नसकेको हो । यस दलप्रति जनता धेरै आशावादी थिए र परिवर्तनको संवाहकका रूपमा हेरेका पनि थिए । तर  पार्टीका अधिकांश नेता मात्र होइन, कार्यकर्ताहरू समेत स्वार्थी र पदलोलुप भएकै कारण यस पार्टीप्रति विश्वास गर्ने जनताको आस्थाको पर्खाल चर्किएको छ र कतिपय ठाउँमा भत्किएको पनि छ । । अब एजेन्डाले मात्रै जनताको मन जित्न सकिँदैन, उनीहरूका सुखदुःखमा सहभागी र सहयोगी हुन सक्नु र सिक्नुपर्दछ । यसो गर्न नसकेको खण्डमा जनमत पाउन सकिँदैन भन्ने कुरा नेकपा माओवादी केन्द्रले बुझ्नु जरुरी भइसकेको छ ।

वास्तवमा नेकपा एमालेले ग्रासरुटमा आफ्नो जनाधार अत्यन्त बलियो बनाएको छ । एमालेभित्रको पार्टी अनुशासन अत्यन्त सुन्दर छ, अनुकरणीय छ । पार्टीले निर्देशन गरेपछि कालोलाई सेतो र बाङ्गोलाई सोझो भन्न  परे पनि पटक्कै हिच्किचाउँदैनन् यसका नेता कार्यकर्ताहरू । यस दलका नेता र कार्यकर्ताहरू आफ्नो पार्टीप्रति अत्यन्त आस्थावान् र समर्पित छन् । आन्तरिक असन्तुष्टि जेजस्तो भए पनि भित्रै रुने कराउने तर पार्टीमाथि आघात पर्ने काम नगर्ने भएकाले नै एमाले पार्टीभित्रको अनुशासनमा शक्ति छ । सुरुमा एकपटक फुटेपछि त्यसको नमिठो अनुभव सँगालेको एमालेमा त्यसपछि भने फुट्ने रोगको अन्त्यको उपचार राम्रोसँग भइरहेको छ । नेपाली काङ्ग्रेसले पनि त्यो पीडा भोगेको हो  र फेरि त्यसलाई दोहोरिन दिएको छैन । तर मुलुकमा गणतन्त्र ल्याउन अहम् भूमिका निर्वाह गरेको  नेकपा माओवादी भने जन्मेर राम्रोसँग हुर्कँन नपाउँदै पटकपटक फुटेर टुक्रा टुक्रा भएकोले नै संस्थापन पक्ष कमजोर अवस्थामा छ  भने टुक्रिएका अरू माओवादीहरू साँच्चिकै रुग्ण  अवस्थामा पुगेका छन् । हिजो फुटेका नेपाली काङ्ग्रेस र नेकपा एमाले पुन जुटेपछि मात्रै बलियो बनेका हुन् भन्ने कुरा माओवादीहरूले  अब बुझ्नैपर्छ र एकताको सकारात्मक पहल गर्नुपर्दछ । यदि नबुझ्ने हो भने भोलि यसको चिनारी इतिहासका पानामा मात्र पाउनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन ।

मुलुकमा गणतन्त्र स्थापना भइसकेपछि मूलतः पूर्व पञ्चहरू तथा राजतन्त्रवादीहरूको सक्रियतामा खोलिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजावादी र हिन्दूवादीहरूको मन जित्ने जुन प्रयास गरेको थियो त्यसले पनि सार्थक गोरेटो पहिचान नगरेको आभास हुन्छ । मुलुक गणतन्त्रमा गइसकेको र नयाँ संविधानले धर्मनिरपेक्षतालाई अवलम्बन गरिसकेको अवस्थामा राजतन्त्र र हिन्दूराज्यको पक्षमा उभिएको  यस दलप्रति राजावादी र हिन्दूधर्मीहरू सुरुसुरुमा निकै आकर्षित देखिएका थिए । यहाँसम्म कि, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका दलभित्रका हिन्दूवादीहरू समेत यस दलका अभियानहरूमा सहभागी भएका उदाहरण भेटिन्छन् । तर स्थानीय तहको निर्वाचनमा यस दलले पनि अपेक्षा गरेअनुरूपको जनमत प्राप्त गर्न सकेन । मधेसवादी दलहरूको अवस्थामा पनि कुनै प्रगति देखिएको छैन । दुई नम्बर प्रदेशको परिणाम कस्तो आउने हो ? त्यो भने हेर्न बाँकी नै छ । उपेन्द्र यादव र डा.बाबुराम भट्टराईका दलहरूको साँठगाँठमा पनि खासै प्रभाव देखिएन । नारायणमान बिजुक्छेको पार्टीले आफ्नो जिल्लाको नगरमा मात्रै इज्जत जोगाएको छ । अरू सानातिना दलहरूको अस्तित्व त झनै धरापमा नै परेको छ ।

समग्रमा हेर्दा यसपटकको स्थानीय तहको निर्वाचनमा मतदाताहरूले मूलतः नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रलाई क्रमशः पहिलो, दोस्रोे र तेस्रो स्थानमा स्थापित गरेका छन् । त्यसमा पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसप्रति जनमतको प्रचुरता छ । कतै कतै केही पदमा जितेका भए पनि अन्य दलहरूको अवस्था अत्यन्त कमजोर देखिन्छ । यथार्थमा मतदाताहरूमा पुरानै मनोविज्ञान प्रभावित देखिन्छ । अपवादलाई छाडेर नेकपा एमाले र नेपाली काङ्ग्रेसलाई जुन किसिमले मत प्राप्त भएको छ त्यो परिवर्तनको लागि भन्दा पनि आस्थाजन्य यथास्थितिलाई प्रदान गरिएको मत हो । अझ यसो भनूँ, अधिकतम पार्टीप्रति प्रतिबद्ध मत हो । यसबाट के स्पष्ट हुन्छ भने मुलुकमा जेजस्तो राजनीतिक परिवर्तन भएको भए पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसले आफ्ना मतदाताहरूलाई प्रायः सुरक्षित नै राखेका रहेछन् ।





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697580 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top