The first website dedicated to the people of clean and green city Hetauda.
logo
विचार/दृष्टिकोण

एकदिन फोटोको तल 'आइ लभ माइ मम' राख्नेहरु



विचार/दृष्टिकोण   255 पटक पढिएको   नवीन रायमाझी    २०७४ बैशाख १३ बुधवार  

हेटौंडा अनलाईन संवाददाता बि.स‌ं. २०४३ सालमा क्यान्सरको कारणले आमा बित्दा म सानै थिए, त्यसैले कहिले पनि यो दिनमा आमालाई भनेर केहि उपहार दिन पाइन र त्यस्तो केहि दिनुपर्छ भन्ने न त् समझ थियो न त् हातमा पैसा ।
एकदिन फोटोको तल 'आइ लभ माइ मम' राख्नेहरु

सत्य कुरा बोल्ने होभने आजको जस्तो कुनै चलन पनि थिएन त्यसबेला । आज देख्छु सामाजिक सञ्जालमा आमालाई अँगालो मारेर खिचेको फोटोको तल "आइ लभ माइ मम" लेखेर पोष्ट गरेका हुन्छ र त्यो दिन त्यस्ता फोटोहरुको बाढी नै लाग्छ । आफुले त्यस्तो गर्न नपाएको डाहा हो कि नाटक जस्तो लागेर हो मलाई यो कुरा अलि हास्यास्पद लाग्छ । अमेरिका बस्ने एएजनाले हरेक बर्ष त्यस्तै फोटोहरु राखेको र आमालाई नेपालमा कसरी एक्लै छोड्ने भनेर आफुसंगै अमेरिका लिएर आउँदा सबैले ती आमाको भाग्यको इर्श्या गरेका थिए । कोहि मायाले त कोहि डाहाले सबै उनको कुरा गर्थे, "छोरो हुनु त फलानीको जस्तो" शैलीमा । अहिले यहाँ आएर थाहा भयो नेपालबाट बढो भाग्यमानी भएर अमेरिका आएकी ती बुढी आमाको अवस्था केही बर्ष पहिले प्रदर्शन भएको हिन्दी चलचित्र "आ अब लौट चले" को कथाको जस्तै रहेछ । घरायसी काम गर्ने सहयोगी राख्नु गैरकानुनी भएको र काम गर्ने मान्छे राख्नु हैसियत भन्दा बाहिर हुने कारण निशुल्क काम गर्ने मान्छे पाउनु नागमणि पाउनु जतिकै हो । अंग्रेजी बोल्न र बुझ्न नसक्ने कारणले त्यी बुढीआमा आफ्नो कथा व्यथा कसैलाई सुनाउन असमर्थ छिन् । यहाँका नेपालीहरुको फलानो समाज र ढिस्कानो मञ्च नाम गरेका च्याउ उम्रे सरी का सँघ सँघठन हरुले उनको समस्या बोलिदिए हुन्थ्यो तर सधै कम परिरहने छोरा बुहारी लाइ सत्रु बनाएर केही हैसियत नभएकी एउटी बृद्ध नारीको पक्षमा कसले बोलि दिने?

जहाँसम्म मेरी आमाको कुरा छ, उहाँले सम्भवत स्कुलको अनुहारसम्म पनि देख्न पाउनुभएन । सुदुर पश्चिमको डडेल्धुरामा चार दाजुभाइ र आठ दिदीबहिनी बीच जन्मे हुर्केकी मेरी आमाले त्यो समयमा स्कुल जान पाउनु भनेको असम्भव कुरा थियो, फेरी छोरी भनेको त मान्छे नै होइन जस्तो गर्ने उक्त समाज र परिवारले छोरीलाई पढ्न जान दिने कुरा पनि भएन । हामी मामाघर जाँदा पनि नाति नातिना बीच छोराको र छोरीको सन्तान बीच ब्यापक भेदभाव हुन्थ्यो, तर मावलीहरुको काम पर्न सक्ने र आर्थिक रुपमा सम्पन्न छोरी पट्टिका नाती नातिनाहरुलाई भने त्यो नियम लागु हुन्थेन । घरैमा साउँ अक्षरसम्म चिनेको र बढो मुश्किलले आफ्नो नामसम्म लेख्न सक्ने भए पनि उहाँमा शिक्षाप्रतिको चेत गजब कै थियो । आफ्नो बच्चाले होमवर्क गर्यो कि गरेन वा पढ्यो कि पढेन भन्ने कुरा हाम्रो अशिक्षित आमालाई कसरी थाहा हुन्थ्यो त्यो मैले आजसम्म बुझ्न सकेको छैन । आज लाखौं रुपियाँ खर्च लाग्ने स्कुलमा भर्ना गर्दा पनि शिक्षित बाबुआमाका छोराछोरीहरुले पढ्न नसकेको वा नपढेको देख्दा मलाई मेरी आमा कुनै बिश्व विद्यालयबाट विधाबारिधी प्राप्त शिक्षित व्यक्ति हो जस्तो लाग्छ । यदी पढ्न पाएको भए कति ज्ञान हासिल गर्न सक्नु हुन्थ्यो होला भन्ने लाग्छ । हामी कहिलेकाही पाठ्यपुस्तक भित्र कमिक्स राखेर हेर्ने गर्थौं । तर, मेरी आमाले निकै टाढाबाट नै यो किताब पढेको होइन भन्ने थाहा पाइहाल्थिन् । अहिले मलाई लाग्छ बाहिरी पुस्तक पढ्दा जुन आनन्द आउथ्यो त्यो अनुहारको भाव हेरेर नै थाहा पाइन्थ्यो होला ।

मेरी आमालाई मैले पढ्न नसकेर जीवनमा धेरै दुख पाउने भए भन्ने निकै ठुलो पीर थियो । कम्तिमा पनि एसएलसी पास गर्न सके छोरोले पिउनको जागिर खाएर भएपनि आफ्नो गुजारा गर्थ्यो भन्ने धोको थियो । यद्यपी म आमाले भनेको जस्तो पिउनसम्म पनि हुन् सकिन, यहाँ पिउनको अर्थ सरकारी जागिर भन्ने हो । यस्तै कुनै ठुलो महत्वकांक्ष नभएकी मेरी आमाको २०४३ सालमा क्यान्सरको रोगले अलि अलि कष्ट पाएर मृत्यु भयो । म लगायत हामी दुई दाजुभाई र एक दिदी टुहुरा भयौं । सबैलाई आफ्नो आमा महान लाग्छ र त्यसमा म पनि कुनै अपवाद छैन । तर, मैले थाहा पाएसम्म मेरी आमाले लाउने खाने जस्तो कुनै किसिमको इच्छा व्यक्त गरेको देखेको थिइन ।

मेरो बिचारमा मातातिर्थ औंशी भने पनि र मदर डे भनेपनि यो एउटा "सिम्बोलिक" कुरा मात्र हो, आमालाई बर्षैभरि खान दिन र इज्जत दिन सक्नु पर्छ । एकदिन मात्र कुहिएको मिठाई खान दिएर बुढीआमाको स्वास्थ बिगार्नु र आमालाई अँगालो हालेर खिचेको फोटो सामाजिक सञ्जालमा अपलोड गरेर अंग्रजीमा "आइ लभ माइ मम" लेख्नुभन्दा ह्रदयदेखि नै इज्जत र माया गर्न सके त्यो ठुलो कुरा हुन्थ्यो भने अरु सबै कुरा गौण हुन्थ्यो । तर, यो सामाजिक स`ञ्जालमा फोटो अपलोड गर्ने एपिसोड पुरै गलत हो भने अर्थ नलागोस । स्रोत: कान्तिपुर






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217293   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top