The first website dedicated to the people of clean and green city Hetauda.
logo
अन्तरवार्ता

‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’



अन्तरवार्ता   206 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७३ चैत्र २८ सोमबार  

हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

तपाईं कुन दलको नजिक हुनुहुन्छ? एकपटक कांग्रेसमा जाने कुरा पनि आएको थियो नि?


मेरो त सबैसित हेलो—हाइ हो। मेरो भाइ राकेश हमाल चाहिँ कांग्रेस पार्टीमा राजनीति गर्छ, सामाजिक काममा पनि सक्रिय छ। राजनीतिक व्यक्ति भए पनि नभए पनि समाजमा बसेपछि केही न केही राजनीतिक सिद्धान्तमा आस्था भई नै हाल्छ। म चाहिँ असाध्यै लोकतान्त्रिक व्यक्ति हो। मलाई संसारका कुनै पनि आइडियोलोजी सही शतप्रतिशत सही हुन्छन् जस्तो लाग्दैन, चाहे त्यो धार्मिक आइडियोलोजी होस् या राजनीतिक। आइडियोलोजीहरूको काम दिग्भ्रमित व्यक्तिहरूलाई एककिसिमको मार्गनिर्देशन दिने काम गर्ने मात्र हो। तर मार्गनिर्देशन खालि त्यही हो मात्रै पनि भन्न मिल्दैन। त्यस्तो भएको भए संसारमा यति धेरै सिद्धान्तै हुँदैनथे, एउटै सिद्धान्त हुन्थ्यो। मलाई लोकतान्त्रिक विचार मात्रै एकदमै परफेक्ट भन्ने पनि लाग्दैन। कुनै आइडियोलोजी पोजेटिभ–नेगेटिभ दुईटै पक्ष हेर्दा मलाई बढी व्यावहारिक चाहिँ अरुभन्दा डेमोक्रेटिक सिस्टम नै लाग्छ। तर पार्टीगत हिसाबमा म कुनैमा छैन।


बीचमा कांग्रेसमा जाने हल्ला चलेको के हो त?

दोस्रो संविधानभाको चुनावताका एकपटक मैले सुशील कोइरालाजीसँग व्यक्तिगत भेटेको हो। तर राजनीतिमा एकदमै रूचि चाहिँ छैन। एउटा सिद्धान्तलाई शिरोपर गरेर अगाडि बढ्ने स्थितिमा म छैन। म अलि खुला विचार राख्न चाहन्छु। खुला विचार राख्नको लागि व्यक्ति अराजनीतिक नै हुनुपर्दो रहेछ। मेरो आफ्नै विचार छ, यो अलि दार्शनिक पनि लाग्न सक्छ। राजनीतिक व्यक्तिले समाजमा कहिल्यै पनि न्याय गर्न सक्दैन। ऊ हमेसा ‘वायस्ड’ रहन्छ। ऊ एउटा स्वाथ्र्य र एउटा पक्षबाट निर्देशित हुन्छ, हुन्छ– आफूलाई जतिसुकै मानवअधिकारवादी, डेमेक्र्याटिक जेसुकै भनोस्। हामीलाई भ्रम छ, हरेक निकास राजनीतिले दिन्छ। तर राजनीतिले पूर्ण न्याय चाहिँ कहिले पनि गर्न सक्दैन। मान्छेहरूले ‘फोहोरी खेल’ त्यही कारण भनेको हुनुपर्छ। यो हल्का तरिकाले मात्र भनेको होइन। गहिराइमा जाने हो भने, राजनीतिक प्राक्टिसले कहिले पनि समाजमा पूर्ण न्याय हुन सक्दैन, कुनै पनि ठाउँमा।


समाज बदल्न राजनीतिबाहेक अर्को कुन विकल्प देख्नुहुन्छ त?

हेर्नुस्, चाहे अमेरिकाको कुरा गर्नुहोस् या रुसको, राजनीतिले सामाजिक न्याय दिन सकेको देखिन्नँ। लेनिनले त्यत्रो क्रान्ति गरेर रूसमा ल्याएको सबैभन्दा राम्रो सिस्टम पनि फेल भएर आज न घरको न घाटको भएको छ। पश्चिमा देशहरूले कहाँ उन्नति गरिसके, उनीहरू चाहिँ ७० वर्ष कम्युनिजममा परेर ब्रेक हुँदा पूर्वकम्युनिस्ट राष्ट्रहरू पश्चिमाभन्दा धेरै कमजोर भए। झन् त्यहाँ सामाजिक अन्यायहरू छन्। एकदमै लोकतान्त्रिक भनिने अमेरिकामा पनि १–२ प्रतिशतले ९८–९९ प्रतिशतलाई शासन गरिरहेका छन्। त्यसकारण राजनीतिबाट सामाजिक न्याय पाइँदैन, तर यसले हद–से–हद गर्‍यो भने लिपपोत गर्न सक्छ। कस्मेटिक चेन्जेज मात्रै। यस्तो लिपपोतले वास्तविक अनुहार कहिल्यै फेरिन्नँ। आज अमेरिकाजस्तो देखिएको छ, लालीपाउडर, लिपिस्टिक लगाएर चेन्ज गरेजस्तो मात्रै हो। तपाईंले अमेरिकाको भित्री गहिराइमा हेर्नुभयो भने त्यहाँजस्तो भेदभाव र वर्गीकरण कहीँ पाउनुहुन्न संसारमा। यस्तो विभाजित दुनियाँमा पूर्ण लोकतन्त्र नै अलोकतान्त्रिक हुन्छ। किनकि पूर्ण लोकतन्त्र भनेको बहुमतको चल्ने हो, अल्पमत त जहिल्यै मर्कामा परिरहेको हुन्छ। अमेरिकामा प्रत्यक्ष निर्वाचित प्रणाली छ भनेर हामीकहाँ पनि प्रत्यक्ष राष्ट्रपति चाहियो भन्छन्। तर त्यो व्यवस्था असाध्यै अलोकतान्त्रिक हुन्छ। नेपालमा त्यसरी नै ५१ प्रतिशतले चुनेको भरमा राष्ट्रपति हुने हो भने भोलि चुनावमा लड्ने उम्मेदवार हिमाल–पहाडतिर नगए हुन्छ, ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या तराईमा छन्। त्यहीँको लोकप्रियता हासिल गरेर राष्ट्रपति हुन मिल्छ।


मैले एकदम पक्ष–विपक्ष लिन नसकेको दुईटा कुरा छ– राजनीति र धर्म। व्यक्तिगत रुपमा म हिन्दू हुँ तर धर्मबारे पनि ममा धेरै प्रश्न छन्। धार्मिक मान्छे पनि यहाँ सबैलाई अन्धाधुन्ध र बिना प्रश्न मान्छ। राजनीति पनि त्यस्तै हो। त्यो दुईटै पक्ष एकदमै ठोस रूपमा प्रमाणित हुन सक्दैनन्, त्यसैले जहिले पनि ममा प्रश्नचिह्न भइरहन्छ।


मान्छेले राजेश हमाल राजनीतिमा आउनुपर्‍यो किन भन्छन् होला?

कलाक्षेत्र मात्रै होइन, अन्य–अन्य क्षेत्रमा पनि यदि आफूलाई लागेको व्यक्ति असल र इमान्दार व्यक्ति राजनीतिमा आइदिए हुन्थ्यो भन्ने चाहना राखेको देखिन्छ। आफूले राम्रो सोचेको व्यक्ति राजनीतिमा आइदिए देश सप्रेला कि भन्ने आशा हुन सक्छ। तर त्यस्तो हुँदैन। किनभने मैले जीवनको पहिलो खुट्किला कलाकार बन्छु भनेर सुरु गरेँ। यसैमा ३०÷४० वर्ष बिताएँ। राजनीतिज्ञहरू पहिलो खुट्किलोमै राजनीति गर्छु भनेर ३०औँ वर्ष भूमिगत जीवन, जेलनेल, विद्रोह पार गरेर आउनु भएको छ। त्यत्रो पृष्ठभूमिमा फरक हुन्छ। त्यसकारण राजनीति राजनीतिज्ञले भन्दा राम्रो अरू कसैले गर्न सक्दैन। किनकि उहाँहरूको विधा त्यही हो। तर, नेपालको विडम्वना के छ भने अहिले राजनीतिबाट खासै मूर्त रूपमा समाज सुधार भइरहेको छैन। सबैतिर अन्यौल छ। यस्तो बेलामा राजनीतिको भूमिका कम र आममान्छेको भूमिका बढी हुन्छ। राजनीतिक परिवर्तनै ल्याउन पनि आममान्छेको बढी भूमिका हुन्छ, राजनीतिज्ञको भन्दा पनि।


राजनीतिमा अहिले धेरै पुराना पार्टीहरू नै छन्। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी पनि आएको छ। अरु पनि नयाँ आइरहेका छन्। तपाईं नयाँ पार्टी आवश्यक देख्नुहुन्छ कि पुरानैले काम गर्छन् भन्ने लाग्छ?

सोचाइ नयाँ हुनुपर्‍यो, चरित्र नयाँ हुनुपर्‍यो, काम गर्ने शैली नयाँ हुनुपर्‍यो, नामले मात्रै नयाँ हुने त होइन। नयाँनयाँ बोटलमा उही पुरानै रक्सी राखेर वा कफीको कप मात्रै फेरेर स्वाद त फेरिँदैन। नेपाली राजनीतिमा बाहिरी आवरणमा फरक आइडियोलोजी भए पनि भित्री गुदी त्यति फरकजस्तो लाग्दैन। यो सबै चाउचाउ नै हो– वाईवाई, रारा, मामा जे भने पनि। बाहिरी खोल फालेर प्लेटमा राखेपछि एउटै।


प्रायः अन्तर्वार्ताहरूमा तपाईं राजनीतिमा आउने कुरा किन सुनिन्छ? 

राजनीतिमा आउन धेरै तपस्या, धेरै योजना, संगठन चाहिन्छ। म एकजना व्यक्ति चुनावमा गएर लड्छु, जित्छु र परिवर्तन गर्छु भनेर सम्भव नि छैन। राजनीतिमा परिवर्तन ल्याउने व्यक्तिले होइन, आन्दोलनले हो। हामीकहाँ सबैभन्दा तरूनो पार्टी माओवादी जुन छ, त्यो पनि ओभरनाइट आएको होइन। ऊ पनि त एउटा मुभमेन्टबाट आएको हो। कुनै पनि ठाउँको ठूलो परिवर्तन अचानक एउटा व्यक्ति आएर चमत्कार गरेको हुँदैन, त्यसको पछाडि धेरै पृष्ठभूमि हुन्छ। हरेक ठूला–ठूला सिद्धान्त बोकेका राजनीतिज्ञ जस्तोः गान्धी, मल्डेला आदिकै पनि लामो पृष्ठभूमि हुन्छ। कतै अड्केको गाडीलाई सबै व्यक्तिले धकेलेर फँसेको ठाउँबाट निकालौँ भनेर लागिरहेको ठाउँमा अर्को एउटा व्यक्ति आएर कन्ट्रिब्युसन गर्न सक्छ। तर सबैले विपरित दिशाबाट धकेलिरहेको गाडीलाई ‘म अर्को दिशातिर लान्छु’ भनेर एउटाले अन्त धकेलेर कहीँ पनि पुग्दैन। तर अरू सबैले एउटै दिशामा धकेलिरहेका छन् भने, राम्रो विचार भएको, सहयोगी विचार भएको अर्को मान्छे आएर त्यहाँ सहयोग पुर्‍याउन सक्छ। त्यसकारण हामीजस्तो व्यक्ति राजनीतिमा गएर केही गरोस् भन्ने धेरैको अपेक्षा हुनु स्वाभाविक हो। तर त्यो सजिलो छैन। स्रोत : नेपालखबर 







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217249   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top