नेपालको पहिलो सुरुङको ऐतिहासिकता परीक्षण

रोशन पराजुली, नेपाल समाचारपत्र – जतिबेला संसार प्रथम विश्वयुद्ध लडिरहेको थियो, त्यतिबेला (सन् १९१७) मा नेपालका प्रथम ग्राजुएट इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा टोली अमलेखगञ्ज(भीमफेदी सडक निर्माणका क्रममा हेटौंडाको चुरिया पहाडमा दक्षिण एसियाको प्रथम मानवनिर्मित सुरुङ निर्माणमा व्यस्त थियो ।

सन् १९१८ मा निर्माण सम्पन्न भएको हेटौंडा र ३ नम्बर प्रदेशको गौरव चुरिया सुरुङलाई राष्ट्रिय सम्पदा घोषणा गर्न÷गराउन २ वर्षदेखिको खोज, अनुसन्धान र मेहनतको परिणामस्वरुप पुरात्व विभागबाट पुरातत्वविद् सुशील गौतमले शनिबार चुरिया सुरुङ क्षेत्रको स्थलगत अवलोकन, नापजाँच, निर्मित वस्तुहरुको ऐतिहासिकता परीक्षण गर्नुभएको छ ।

‘निकट भविष्यमा हाम्रा पुर्खाको नासो राष्ट्रिय सम्पदा घोषणा भएर यससँग सम्बन्धित सूचना सामग्रीसहित खुला हुने विश्वास छ,’ यस कार्यमा निरन्तर खटिनुभएका हेटौंडा उपमहानगर योजना महाशाखाका पूर्व प्रमुख बीके महर्जनले भन्नुभयो ।

उहाँका अनुसार उपमहानगरपालिकाले विभाग र अन्य सम्बन्धित निकायलाई पत्राचार गरेपछि पहिलो सुरुङको इतिहास जोगाउने तयारी भएको हो । उहाँले परीक्षणका क्रममा त्यहाँ सिमेन्ट प्रयोग नगरी चुनासुर्की प्रयोग भएको पाइएको स्पष्ट पार्नुभयो ।

राजमार्गमा देखिने कंक्रिट ब्लकनजिकको भागबाट अब उत्खनन् कार्य थालिनेछ । जसका लागि गौतमले विभागमा आग्रह गरेपछि प्राविधिक टोली यहाँ आउनेछन् । सुरुङभित्र सरसफाइ गरेर बत्ती राखिने र तत्कालीन अवस्थामा प्रयोग भएका सामान र चित्र÷फोटोले सुरुङलाई सजाएर मुखमा शीलापत्र राखिनेछ ।

नेपालको पहिलो सुरुङमार्गको अस्तित्व मेटिने अवस्थामा पुगेपछि जोगाउने तयारी सुरु भएको हो । महेन्द्र राजमार्गको हेटौंडा(पथलैया सडकखण्डमा रहेको चुरे पर्वतशृंखलामा निर्मित पहिलो सुरुमार्ग संरक्षणको अभावमा इतिहास मेटिने खतरा देखिएपछि नगरपालिका र विभाग तातिएका हुन् ।

१९८३ देखि अमलेखगञ्ज(भीमफेदी सडक सञ्चालनमा आएपछि सुरुङमार्ग हुँदै सवारीसाधन आवतजावत गराइएको बुढापाका बताउँछन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले निर्माण गरेको सुरुङमार्ग चुरे पहाड खोपेर बनाइएको थियो । पूर्वपश्चिम राजमार्ग निर्माणका क्रममा सुरुङको आधाभाग विस्फोट गराएर सडक निर्माण गरिएपछि सुरुङ ओझेलमा परेको हो ।

ऐतिहासिक सुरुङमार्ग हाल गुफामा परिणत भएको छ । करिब एक सय मिटर लम्बाईको सुरुङमार्ग केही वर्षसम्म सञ्चालनमा आएको थियो । सुरुङको दुवैतर्फ पाले घर निर्माण गरी गाडी आएको समयमा झण्डा हल्लाएर जनाउ दिने गरिएको तत्कालीन पाले वीरबहादुर भोलनका नाति रामकुमारले बताउनुभयो ।

सुरुङ संरक्षण गर्नसके पर्यटक आकर्षण गर्न र इतिहास अध्ययन गर्नेका लागि सुरुङ पनि गन्तब्य बन्नसक्ने स्थानीय केदारप्रसाद न्यौपाने बताउनुहुन्छ । न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघको पर्यटन विकास समिति सदस्य हुनुहुन्छ ।

हेटौंडा बजारबाट करिब १३ किलोमिटर दक्षिण चुरे पहाडमा अवस्थित सुरुङमार्ग तत्कालीन अवस्थामा उपत्यका प्रवेश गर्ने अन्य मार्ग निर्माण नभएकाले बढी चर्चामा थियो । राणाले अमलेखगञ्जसम्म रेलबाट ल्याएका सामान सुरुङमार्ग हुँदै लरी र साना सवारीसाधनबाट भीमफेदी पु¥याउने गरेका थिए ।

चुरियाको सुरुङमार्ग भएर हेटौंडा प्रवेश गर्ने कतिपय मानिस पूर्वपश्चिम राजमार्ग बनेपछि सुरुङ हेर्न पनि गएका छैनन् । तीनतिर अग्ला पहाडको ढिस्कोले दबिएर रहेको गुफाको प्रवेशमार्ग सडकबाट करिब ६०÷७० मिटर उचाईंमा छ ।

नेपाललाई राम्ररी चिनेका र सबै जिल्लामा हिँडेर पुगेका स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा सुरुङमार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here