हेटौँडा नगरको मध्य भागमा अवस्थित भुटनदेवी मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ । त्यस्तै हिन्दुहरूका आराध्य देव पशुपतिको मन्दिरसमेत हेटौँडाको मध्यभाग वडा नं. ४ मा प्रतिस्थापित छ । भैरव डाँडामा पाथीभरा देवीको मन्दिर, हेटौँडा–वीरगञ्ज मार्गको बीचमा पर्ने चुरे शृङ्खलामा राणाकालमा निर्मित नेपालको पहिलो सुरुङमार्गको दक्षिणी मोहडामा हिन्दुहरूको प्रसिद्ध शक्तिपीठ चुरियामाईको मन्दिर रहेको छ । मकवानपुर जिल्लाका विभिन्न गाविसमा बौद्ध गुम्बा, स्तुपाहरु थुप्रै छन् । हेनपा–११ नवलपुरको पुण्यक्षेत्रमा शयनमुद्राको नारायणको आकर्षक शिला रहेको छ । पालुङ, दामन, नामटार, कालिकाटार, डाँडाखर्क, सिस्नेरी, ठिङ्गन आदि गाविसहरूमा चर्चित मठ मन्दिरहरू छन् ।