ऐतिहासिक मकवानपुर गढी

तस्बिर: शैलेस मानन्धर

आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको मकवापुरगढी हेटौँडा नगरबाट १२ कि.मि. उत्तर–पूर्व गढी गाविसमा पर्दछ । परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महŒव तथा सुरक्षात्मक दूरदर्शिता झल्काइरहेको देखिन्छ । अझ यहाँ स्थापना गरिएको सिंगमरमरको सिक्रीले बाँंधेको वंशीगोपालको मूर्ति पनि उत्तिकै दर्शनीय छ । गढी क्षेत्रमा होमस्टेको व्यवस्था पनि छ ।

सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ। ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको यो गढी आजको मकवानुपर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा पर्छ। कम्तीमा यसको ऐतिहासिक पक्षबारे चर्चा हुनुपर्ने हो, तर त्यो पनि भएको पाइँदैन।

नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले मकवानपुरमा हमला गरेका थिए। काठमाडौंका मल्ल राजाहरूलाई कमजोर पार्ने रणनीतिअनुसार उनको रोजाइमा मकवानपुर परेको थियो। नेपाल एकीकरणमा मकवानपुर गढीको महत्व यसले देखाउँछ।९ भदौ १८१९ मा पृथ्वीनारायण शाहको फौज विजय भएपछि मकवानपुरका राजा दिगबन्धन सेन मन्त्री कनकसिंह बानियाँसहित भागेर बंगाल पुगेका थिए, नवाव मिरकासिमसँग सहयोग माग्न।

दिगबन्धन सेनले मिरकासिमको सहयोगमा दुईहजार लडाका र एकहजार बन्दोबस्तीसहित ३००० फौज लिएर गोर्खाको नियन्त्रणमा रहेको मकवानपुर गढीमा १० माघ १८१९ मा आक्रमण गरे। गढीमा उक्लिने क्रममा सिकरकटेरीमा राति १० घण्टासम्म भएको लडाइँमा नवावको फौज पराजित भयो। त्यो लडाइँमा सानो संख्यामा रहेको गोर्खाली फौजको नेतृत्व रामकृष्ण कुँवरले गरेका थिए। गोर्खाली फौजलाई स्थानीयले घरेलु हतियारसहित सघाएका थिए। इतिहासकारहरूका अनुसार उक्त लडाइँमा मिरकासिमका तर्फबाट लड्न आएका १७०० सैनिक मारिए भने बाँकी भागेर गए। नवावको पराजित फौजबाट थुप्रै गोलीगठ्ठा र ११ थान तोप गोर्खाली सेनाको हात पर्‍यो।

दिगबन्धन सेनले तीन कारणले मकवानपुर गढीमा पुनः प्रत्याक्रमण गरेका थिए। पहिलो त उनी आफ्नो गुमेको राज्य फिर्ता लिन चाहन्थे। दोस्रो, मकवानपुर गढीमा अंग्रेजको पनि चासो जोडिएको थियो। भारतस्थित अंग्रेजहरूले गोर्खाली सैन्य अभियानलाई रोक्न चाहिरहेको बखत पृथ्वीनारायण शाहको मकवानपुर विजयले उपत्यकाका मल्ल राजाहरूसँगको अंग्रेजको सम्बन्ध टुटाइदिएको थियो। तेस्रो, उपत्यकाका मल्ल राजाहरू पनि मकवानपुरबाट गोर्खालीहरू धपाइएको हेर्न चाहन्थे। त्यसरी मकवानपुर प्रत्याक्रमणका लागि दिगबन्धन सेनलाई अंग्रेज र मल्ल राजाहरूको पनि सहयोग थियो।

यस्तो ऐतिहासिक गढीको संरक्षणले नयाँ पुस्तालाई विगत जान्ने अवसर दिनुको साथै पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्छ। चीन, भारतलगायतका मुलुकले यस्ता ऐतिहासिक स्थलहरूको संरक्षण गरेर पर्यटनमा राम्रो सफलता हासिल गरेका उदाहरण काफी छन्। दुःखको कुरा आज मकवानपुर गढीलाई ओझेलमा पार्ने काम नेपाल सरकारबाटै भएको छ। गोर्खालीले बंगाली फौजबाट लिएका गोली गठ्ठा र तोप २०३६ सालसम्म गढीमै थिए। २०३६ सालमा गढीबाट उठाएर हेटौंडास्थित तत्कालीन शाही सेनाको सुपारेटार व्यारेकमा ल्याइएका ती गोलीगठ्ठा र तोप आज कहाँ छन्? सुनिएअनुसार ती ऐतिहासिक सामग्री अमेरिका पुर्‍याइएको छ। ती चिजलाई मकवानपुर गढीमै संरक्षण गरेर देशको इतिहास जोगाउनुपर्ने दायित्व बोकेको सरकार नै गायब गराउन लागेपछि कसको के लाग्छ!

नेपालमा ठूला–साना गरी करीब दुईसय गढी छन्। ती सबैका आ–आफ्नै महत्व छन्। त्यस हिसाबले पनि मकवानपुर गढीको महत्व फरक छ। मकवानपुर गढीमा प्रयोग गरिएका शिलाहरू कति परिश्रमले, कसरी त्यहाँ पुर्‍याइए होलान्, अहिले हेर्दा आश्चर्य लाग्छ। गढीमा प्रयोग गरिएका ढुंगा, इँटालगायतका वस्तुहरूले चीनको ‘ग्रेटवाल’ को झ्ल्को दिन्छ।

यस्तो महत्वपूर्ण गढी संरक्षणका लागि स्थानीय तहबाट केही प्रयास भएका छन्। सात वर्षअघि स्थानीय नागरिक समाजको अग्रसरतामा गठित ‘मकवानपुर गढी पर्यटन विकास समन्वय समिति’ ले वर्षेनि मकवानपुर गढी र शिखरकटेरीमा कार्यक्रम आयोजना गर्दै आएको छ। समितिकै सक्रियतामा शिखरकटेरीमा उद्यान निर्माण भएको छ। यद्यपि, स्थानीय तहबाट गढी संरक्षणका लागि भएका प्रयास सांकेतिक मात्र हुन्। यसको संरक्षणमा सरकार नै लाग्नुपर्छ। यसको लागि सरकारमाथि धान्नै नसक्ने व्ययभार पर्ने पनि होइन। त्यसमाथि, यो लगानीको नभई देशको गौरवको विषय हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here