हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ सुरुङ र आसपासका क्षेत्रमा स्थानीय सरकारले हरेक वर्षजसो लगानी गरेर काम गरेको छ । बिशेषगरी हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रको विकास मध्य यस क्षेत्रलाई पनि प्राथमिकता दिएर काम गर्दै आएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महत बताउनुहुन्छ ।
यहाँको धार्मिक, पर्यटकिय र ऐतिहासिक क्षेत्रको विकास गर्नेक्रममा हरेक वर्ष लगानी गरेर काम गर्दै आएको मेयर महत बताउनुहुन्छ । यहाँ भित्र पर्ने अर्को धार्मिक र आकर्षणको केन्द्र हो चुरियामाई मन्दिर र यहाँको सुरुङलाई मानिदै आएको छ । यस क्षेत्रमा खानेपानी, सरसफाइ गर्ने काम संगै सुरुङका परिकपनाकारको शालिक समेत राखिएको मेयर महत बताउनुहुन्छ ।
यो मन्दिर र सुरुङ बागमती प्रदेश र मधेष प्रदेशको सिमानामा छ । तत्कालिक राणा प्रधानमन्त्री चन्द्र समसेरको पालामा कुनै अप्रिय घट्ना नहोस भनि चुरिय सुरुङको मुखैमा चुरियामाई मन्दिरको स्थापना गरिएको थियो । इन्जिनियर ब्रिगेडियर कर्नेल डिल्लीजंग थापाले सुरुङमार्गको डिजाईन गरी चुरिया डाडाँमा सरुङ निर्माण गर्न लाग्दा सुरुङको मुखमा आफ्नो थान रहेको भनि सपनीमा आलौकिक आदेश भयो ।
फल स्वरुप देवीको मुर्ति उत्खन्न गरी सुरुङकै प्रवेशद्वारबाट पुर्व चुरियामाई देवीको स्थापना गरि सुरुङमार्ग खन्ने काम बि.स. १९७५ मा सुरु गरिएको ईतिहाँस छ । चुरे पहाडकै फेदीमा सुरुङ खन्ने क्रममा उक्त मुर्ति उत्पत्ती भएकोले चुरियामाई देवी भनि नामाकरण गरिएको थियो । त्यस अघि त्यही चुरे डाँडामा देउराली रहेको र आउने जानेहरुले फुलपाती चडाउने गरेको चुरियामाई मन्दिरका पुजारी राजु नगरकोटीको भनाई छ ।
यहाँको मन्दिर र चुरीयामाइ सुरुङको छुट्टा छुट्टै बिशेषता रहेको छ । १०२ वर्ष पहिले नै नेपालमा गाडी गुडाउने गरी नै सुरुङमार्ग बनाइएको थियो । मकवानपुरको चुरियामाईमा रहेको यो सुरुङमार्गको भग्नावषेश अझैसम्म देख्न सकिन्छ । राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाएर बाटो बनाउनुको साटो सीधा सुरुङमार्ग खनियो र गाडी चलाइयो । सुरुङमार्ग खन्ने क्रममा चन्द्रशमसेरको सपनामा देवीले मेरो मार्गमा सुरुङ नखन्न भनेपछि क्षमा स्वरूप मन्दिर स्थापना गरेर सुरूङ खनिएको भन्ने किवंदन्ती छ ।
हेटौंडा बजारबाट करिब ९ किलोमिटर दक्षिणमा चुरियामाई मन्दिर छ । त्यहाँको सडक अहिले पनि केही उकालो छ । त्यसैले सडक पीच नगरी कंक्रिटमात्र छ । त्यसकै समीपमा सय वर्षअघिको ऐतिहासिक सुरुङ मार्गको भग्नावशेष देख्न सकिन्छ । तत्कालीन समयमा त्यस्तो उकालो पहाडमा बाटो बनाउन गाह्रो भएकाले विकल्पमा सुरुङमार्ग खनिएको बताउँछन् स्थानीय जानकार बिके महर्जन । काठमाडौं उपत्यका बाहिर सबैभन्दा पहिले विकास गरिएको यो सडकखण्डमा तत्कालीन राणा सरकारले सुरुङ मार्ग खनाएको थियो । र, त्यही सुरुङ मार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले त्यहाँबाट भरिया लगाएर काठमाडौंसम्म समान पु¥याइन्थ्यो । काठमाडौंमा चल्ने राणाका गाडी पनि भीमफेदीसम्म यही सुरुङ मार्ग छिचोल्दै पुग्थे ।
प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसै क्रममा यो सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो । सडक छेउमा देखिएका सुरुङका मुखहरु थुनिए । तर, मन्दिर नजिकैको सुरुङमार्गको मुख्य भाग भने अझै सग्लो अवस्थामै छ । सडकपारिको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ । सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङमार्ग डिजाइन गरेका थिए ।
यो सुरुङमार्ग ९ फिट चौडा र १० फिट अग्लो छ । चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा पनि यो सुरुङ मार्गबारे चर्चा गरेका छन् । उहाँले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ बताउनु भएको छ । उहाँले भारतमा पनि त्यस्तो सुरुङ नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङमार्ग देख्दा आफू अचम्भित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गर्नु भएको छ । जीर्ण अवस्थामा रहेको यो सुरुङ मार्ग हाल प्रयोगमा छैन । यसलाई थप मर्मत गरेर प्रयोगमा ल्याउनका लागि बागमती प्रदेश सरकारले काम गरिरहेको छ । भूकम्पपछि यो सुरुङमार्ग थप जीर्ण बन्न पुगेको छ । अहिले हेटौंडा उपमहागरले यसको संरक्षणका लागि पहल थालेको छ ।
पहाड नै खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् । मन्दिरका पुजारीका अनुुसार चन्द्रशम्शेरको पालामा बनेको यो सुरुङमार्गको डिजाइन गर्ने इन्जिनियर थापाका पनाति÷पनातिनाहरु यसको अवलोकनमा बेलाबखत पुग्छन् । उपमहानगरपालिकाले यहाँँ थापाको शालिक स्थापना गरेको छ । चुरीयामाइ सुरुङ मर्मत गरेर व्यवस्थिथत गर्दै फेरि अवलोकनका लागि खुला गर्ने योजना बनेको छ ।
पूर्खाको नासो भएकाले यसलाई राष्ट्रिय सम्पदा घोषणा गर्नुपर्ने माग स्थानीयबासीको छ । सुरुङभित्र सरसफाई गरेर बत्तीसहित तत्कालीन अवस्थामा प्रयोग भएका सामान र चित्र र फोटोहरु सजाएर यसलाई खुला गर्नुपर्ने उनीहरु बताउँछन् । चुरे पर्वतको काखमा रहेको यो सुरुङमार्ग नेपालीहरुको श्रम, सीप, मिहिनेत र कला कौशलको प्रतिविम्ब भएको बताउँछन् चुरियामाईका स्थानीय श्यामकुमार बम्जन । गुफामा परिणत भएपछि यो सुरुङमार्ग खासै चर्चामा पनि आउन सकेको छैन ।
तत्कालीन समयमा यो सुरुङमार्गको पस्ने र निस्कने विन्दुमा पाले घरहरु थिए । तत्कालीन पाले वीरबहादुर ब्लोनका नाति रामका अनुसार पालेघरहरुले गाडी अएपछि झण्डा हल्लाएर जनाउ दिने गरेको हजुरबावाट सुनेको बताउँछन् । यो सुरुङमार्ग बनेको करिब सय वर्षपछि बल्ल नेपालले सडकमा सुरुङमार्गको आवश्यकता महसुस गरेको छ ।
चुरियामाई मन्दिरमा स्वदेश तथा छिमेकी देश भारतबाट देवीको दर्शनको लागि भक्तजनहरु आउने गर्दछन । कुनै पनि काम आँट्दा देवीको पुजा आराधना गर्नाले बिध्न बाधा हट्ने धार्मिक मान्यता छ । चुरियामाई मन्दिरमा प्रत्येक शनिबार र मंगलबार भक्तजनहरुको बाक्लो उपस्थिती हुन्छ । बिशेषगरि दशैको घटस्थापना देखि दशमीसम्म भक्तजनहरुको घुँईचो हुन्छ ।
मन्दिरमा नरिवलदेखि पशुपन्छको वली भोग देवीलाई चढाईन्छ । चुरियामाई देवीको सवारी साधानबाट पनि दर्शन गर्न सकियोस भनेर प्रबेशद्वारा नजिकै देवीको मुर्तिमा प्राण प्रतिष्ठागरि पुजा आजा गरिँदै आएको छ । गाडीबाट आर्लिएर पुजा गर्न समय नभ्याउने भक्तजनहरुले गुडिरहेको सवारी साधनबाट सिक्का पैसा चढाएर देवीमा आफ्नो आस्था प्रकट गर्ने चलन चलि आएको छ । त्यति मात्र होईन कुनैपनि नयाँ साना देखि ठुला सवारी साधन खरिद गर्ने क्रममा चुरियामाइ देवीलाई पुजेमा देवीले धनजनको रक्षागर्ने बिस्वास रहँदै आएको चुरियामाई मन्दिरका पुजारी राजु नगरकोटीको भनाई छ ।
स्रोत : जनपत्र, १० बैशाख २०७९